close

गुगलको मेसेजिङ एपबाटै बार्ड प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

माघ ८, २०८० १६:२२

गुगलको मेसेजिङ एपबाटै बार्ड प्रयोग गर्न सकिने

 

काठमाडौं । पछिल्ला वर्षहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा एकदमै बढेको छ । त्यही दौडमा अघि बढेको गुगलले पनि आफ्ना विभिन्न प्लेटफर्ममा एआई इन्टिग्रेट (समाविष्ट) गर्दै आएको छ । 

जसले गर्दा अहिले डक्स, जिमेल, ड्राइभ र शिट लगायतका विभिन्न प्लेटफर्ममा एआईकै सहायताले काम गर्न सकिने भएको छ । अब भने गुगलले आफ्नो मेसेजिङ एप गुगल मेसेजेजमा पनि गुगल बार्ड इन्टिग्रेट गरेर विभिन्न एआई फिचरहरू समावेश गर्न थालेको हो ।

त्यसो त एन्ड्रोइडको डिफल्ट मेसेजिङ एप समेत रहको उक्त एपलाई कम्पनीले परिष्कृत बनाउँदै आइरहेको छ । अहिले भने कम्पनीले आफ्नो बहुचर्चित मेसेजिङ एपमा आफ्नो च्याटबट बार्ड समावेश गर्न लागेको हो । 

नाइन टु फाइभ गुगलले हालै एक रिपोर्ट प्रकाशित गर्दै गुगलले मेसेजिङ एपमा एआई समावेश गर्न लागेको उल्लेख गरेको छ । उक्त रिपोर्टका अनुसार मेसेजमा उपलब्ध हुने बार्डको सहायताले प्रयोगकर्ताले अब मेसेज लेख्न, लेखेको मेसेज वा आएको मेसेज अनुवाद गर्न, तस्विरमा भएको जानकारी पत्ता लगाउन र त्यसैका आधारमा आफ्ना चाहनाहरू अन्वेषण गर्न सक्नेछन् । 

एआई इन्टिग्रेट गरिएको गुगल मेसेजिङ एपको बेटा भर्सन सार्वजनिक भइसकेको छ । नाइन टु फाइभ गुगलले सार्वजनिक गरेको स्क्रिनशटमा मेसेज एपमा बार्ड कसरी प्रयोग गर्न सकिन्छ भन्ने समेत देखाइएको छ । 

उक्त रिपोर्ट अनुसार मेसेजिङ एपको ‘न्यु कन्भर्सेसन’ भन्ने अप्सन तल ‘बार्ड’को अप्सन देखिनेछ । त्यसमा क्लिक गरिसकेपछि कुनै अर्को व्यक्तिसँग मेसेजमा कुरा गरेजस्तै बार्डसँग कुरा गर्न लागेको इन्टरफेस देखिन्छ । 

त्यहींबाट प्रयोगकर्ताले बार्ड प्रयोग गर्न सक्नेछन् । गुगलका अनुसार प्रयोगकर्ताले बार्डसँग गरेको कुराकानी गोप्य हुनेछ । 

तर, त्यसले दिएका जानकारी भने शत प्रतिशत सही नहुन सक्छन् । त्यसका लागि जानकारी जाँच गर्न सुझाइएको छ । 

बार्डसँग मेसेजमा कुरा गर्दा इन्टरनेट आवश्यक पर्छ । अर्थात् आरसीएस मेसेजमा मात्र बार्डसँग मेसेज एपबाटै कुराकानी गर्न सकिन्छ । 

जसरी अन्य व्यक्तिसँग मेसेज एपबाट गरिएको कुराकानी च्याट हेडसहित मेसेजको होमपेजमा देखिन्छ, त्यसरी नै बार्डको आइकन पनि होम पेजमा देखिनेछ । ‍

प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुरूप त्यहींबाट बार्डसँग बारम्बार कुरा गर्न सक्नेछन् । यो फिचर सबै प्रयोगकर्ताले प्रयोग गर्न सक्नेगरी कहिले सार्वजनिक हुन्छ भन्नेबारे गुगलले भने कुनै जानकारी दिएको छैन ।

 

पछिल्लो अध्यावधिक: माघ ८, २०८० १६:२४