close

इम्बोस्ड नम्बर प्लेटसँगै नक्कली लाइसेन्स जाँच्ने डिभाइस, कसरी गर्छ काम ?

टेकपाना टेकपाना

माघ १७, २०८० १६:२८

इम्बोस्ड नम्बर प्लेटसँगै नक्कली लाइसेन्स जाँच्ने डिभाइस, कसरी गर्छ काम ?

काठमाडौं । सरकारले सवारीकाे इम्बोस्ड नम्बर प्लेट ट्र्याक गर्न रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस (आरएफआईडी) प्रयोग गर्ने भएको छ । पहिलाे चरणमा बिहीवारदेखि इम्बोस्ड पहिचान गर्ने रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस (आरएफआईडी) प्रयोग गर्न लागेकाे यातायात व्यवस्था विभागले जनाएकाे छ ।

मंगलवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपाल प्रहरीलाई पाँच थान आरएफआईडी हस्तान्तरण गरेका थिए । यसअघि इम्बोस्ड नम्बर प्लेट वितरणको काम अगाडि बढेपनि त्यसमा भएको विवरण रिड गर्ने मसिन थिएन ।

२०७२ मा सरकारले २५ लाख इम्बोस्ड नम्बर प्लेटका लागि टाइगर डेकाटुरसँग सम्झौता गरेको थियो । उक्त सम्झौतामा १० ओटा आरएफआईडी गेट निर्माण गर्ने र १०० ओटा आरएफआईडी मसिन उपलब्ध गराउनुपर्ने उल्लेख थियो । त्यही सम्झौता बमोजिम प्राप्त भएका आरएफआईडी डिभासइमध्ये पाँच थान डिभाइस हस्तान्तरण गरिएको हो ।

देशभर १० ओटा आरएफआईडी गेट निर्माण गर्ने सम्झौता भएपनि सुरुवाती चरणमा काठमाडौंमा तीन ओटा गेट निर्माण भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार नागढुङ्गा, मुड्खुभन्ज्याङ जाने बाटो र एकान्तकुनामा गेट निर्माणको काम भइरहेको छ ।

“अहिले काठमाडौंका तीन ठाउँमा आरएफआईडी गेट निर्माणका चरणमा छन्,” रिजालले टेकपानासँग भने, “सबै ठाउँमा गेट बनाउन सम्भव हुँदैन किनभने यो खर्चिलो पनि छ । त्यसैले ह्यान्डल भयो भने सजिलो हुन्छ भनेर १०० ओटा आरएफआईडी मसिनका लागि सम्झौता भएको थियो । पहिलो चरणमा पाँच ओटा डिभाइस नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।”

आरएफआईडी गेट निर्माण भइसकेपछि उक्त गेटबाट प्रवेश गरेका इम्बोस्ड नम्बर प्लेट जडित सबै सवारी साधनको जानकारी ट्राफिक प्रहरीको कन्ट्रोल रुम, विभागको डेटा सेन्टर र अन्य निकायमा पुग्छ । यसबाट विशेषगरी सवारी साधनको कर तिरको छ वा छैन, नम्बर प्लेट फरक गाडी फरक हो वा होइन, सवारीको कर तिरेको छ वा छैन, सवारी हाँक्ने व्यक्ति सवारीधनी हो वा होइन भन्ने कुरा पहिचान गर्न सकिने उनले सुनाए ।

के हो आरएफआईडी मसिन, अनि कसरी काम गर्छ ? 

आरएफआईडी रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइसको छोटो रूप हो । यस डिभाइसमा एकापट्टि मोबाइल डिस्प्ले हुन्छ भने अर्कोपट्टि आरएफआईडी ट्याग रिड गर्ने सेन्सर राखिएको छ । उक्त सेन्सरले १० मिटर टाढासम्मको सवारी साधनको विवरण उपलब्ध गराउने विभागको दाबी छ । 

दुई पाङ्ग्रे सवारी साधनको हकमा आरएफआईडी ट्याग इम्बोस्ड नम्बर प्लेटमा टासिएको हुन्छ । जसलाई हार्ड ट्याग भनिएको छ । त्यस्तै चार पाङ्ग्रे सवारी साधनको हकमा भने आरएफआईडी ट्याग गाडीको सिसामा टाँसिएको हुन्छ । त्यही सवारी साधनमा भएको ट्यागलाई नै आरएफआईडी गेट वा मसिनले रिड गरेर जानकारी सम्बन्धित निकायलाई उपलब्ध गराउँछ । 

आरएफआइडी मसिन ट्राफिक प्रहरीले बोकेका हुन्छन् । उनीहरूलाई विभागले कति जानकारी दिने त्यही सेट गरेर अकाउन्ट बनाइदिएको हुन्छ । डिभाइस सञ्चालन गर्नका लागि सबैभन्दा पहिले उक्त डिभाइस अन गर्नुपर्ने हुन्छ । त्यसपछि पूर्ण रूपमा अन हुन दिन तीन मिनेट राख्नुपर्ने हुन्छ । अनि डिभाइसमा इन्टरनेट कनेक्सन जोडिएको सुनिश्चित गर्नुपर्छ ।

त्यसका लागि यसमा अहिले साधारण सिम राखिएको छ । पछि मसिन-टु-मसिन सिम राख्ने विभागको योजना छ । डिभाइस इन्टरनेटमा कनेक्ट भएको सुनिश्चित भइसकेपछि भीपीएन एप्लिकेसन खोकेर भीपीएन कनेक्ट गर्नुपर्छ । अनि, इभरेस्ट नामको एप्लिकेसन खोलेर युजरनेम तथा पासवर्ड राखी लगइन गर्नुपर्छ ।

लगइन गरिसकेपछि इम्बोस्ड नम्बर प्लेट जडान भएको सवारी साधन नजिक लगेपछि उक्त डिभाइसले सवारी साधन पहिचान गर्छ र त्यसको विवरण उपलब्ध गराउँछ । कुनै पनि अकाउन्टले त्यहाँबाट के-कस्ता जानकारी पाउने भन्ने सफ्टवेयरबाट कस्टमाइज गर्न सकिने विभागको भनाइ छ । 

आरएफआईडी मसिन र गेटका विशेषता

  • बाटोमा गुडिरहेका सवारी साधनमा भएको आरएफआईडी ट्याग ट्रयाक गर्ने ।

  • सवारी साधनको चाल निगरानी गर्ने ।

  • तत्कालै सवारी साधनको पुराना नयाँ विवरण चेकजाँच गर्ने ।

  • विभिन्न निकायले एक्सेस कन्ट्रोल गर्नुका साथै निगरानी गर्न सक्ने ।

  • शंकास्पद सवारी साधनलाई वाचलिस्टमा राखेको छ भने आरएफआईडी डिभाइसले तत्कालै नोटिफिकेसन पठाउने ।

पछिल्लो अध्यावधिक: माघ १७, २०८० १७:२०