close

चार लाख इम्बोस्ड नम्बर प्लेट तयार, तर जडान ७५ हजार मात्रै

हिक्मत आचार्य हिक्मत आचार्य

माघ १८, २०८० १७:१८

चार लाख इम्बोस्ड नम्बर प्लेट तयार, तर जडान ७५ हजार मात्रै

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी साधनको सङ्ख्या न्यून रहेको पाइएको छ । यातायात व्यवस्था विभागका अनुसार ०८० माघसम्म चार लाख थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएपनि हालसम्म ७८ हजार सवारी साधनमा मात्र जडान गरिएको छ ।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयले नमागेकाले प्लेट उत्पादन भएपनि वितरण गर्न नसकिएको बताए ।

“प्रदेश कार्यालयलाई पनि इम्बोस्ड नम्बर प्लेट लिएपछि तत्कालै जडान गर्न मिल्छ वा मिल्दैन, मिलेन भने कहाँ राख्ने भन्ने अन्योलता छ,” रिजालले टेकपानासँग भने, “त्यस्तै उनीहरूले लाइसेन्स पनि वितरण गरिरहेका छन् । त्यसमा भीडभाड पनि बढी हुन्छ । जसले गर्दा जनशक्तिले धान्न सक्दैन भन्ने पनि छ ।”

राजनीतिक रूपमा पनि इम्बोस्ड नम्बर प्लेटको विषय विवादित भएकाले प्रभावकारी रूपमा जडानको काम अगाडि बढ्न नसकेको उनको तर्क छ ।

इम्बोस्ड नम्बर प्लेट जडानका लागि विभागले प्रदेश सरकारसँग समन्वय गरिरहेको रिजालको भनाइ छ । उनले अगाडि भने “हामीले इम्बोस्ड नम्बर प्लेट जडानमा सहजीकरण गर्ने भनेर सहमति पनि गरेका छौं । त्यसमा हामी जनशक्ति उपलब्ध गराउँछौं । त्यसपछि यसको स्टक क्लियर हुन्छ ।” 

चालू आर्थिक वर्षको सुरुवातमा चार स्थानबाट इम्बोस्ड नम्बर प्लेट जडान तथा वितरण हुँदै आएकोमा अहिले पोखरा र बुटवलबाट समेत इम्बोस्ड नम्बर प्लेट जडान तथा वितरणको कार्य सुरु गरिएको उनले बताए ।

“इम्बोस्ड नम्बर प्लेट जडान गर्ने परियोजना १० वर्ष पुरानो हो । २५ लाख ओटा नम्बर प्लेट छापेर तत्काल जडान गर्ने भनेर सुरु गरिएको थियो । तर, विभिन्न कारणले ढिलाइ भयो,” रिजालले भने, “खासगरी हामीसँग पूर्वाधारको कमी छ । केन्द्रमा बनाउनुपर्ने, अनि लगेर यातायात कार्यालयमा  जोड्नुपर्ने भएकाले झन्झटिलो छ ।”

प्रक्रिया झन्झटिलो भएकाले स्थानीय निकाय वा जिल्ला स्तरबाटै सेवा दिन नसकेको रिजालको भनाइ छ । उनले अगाडि भने, “बीचमा भाषाको विवाद पनि भयो । अलि अन्योलता पनि भयो । त्यसैले ढिलो भएको हो ।” 

इम्बोस्ड नम्बर प्लेटका लागि सम्झौता गर्दा सरकारले अङ्ग्रेजी भाषामा छाप्ने सहमति गरेको थियो । जसले गर्दा उक्त विषयको चर्को आलोचना समेत भयो । पछि नेपाली र अङ्ग्रेजी दुवै भाषामा राख्ने भनेपछि यो विषय शान्त भएको थियो ।

“भाषा विवादको सन्दर्भमा अहिले दुई ओटै भाषामा राख्न सकिन्छ भन्ने कानून छ,” उनले भने, “तर, सम्झौता हुँदा त्यतिबेला अङ्ग्रेजीमा मात्रै राख्ने सम्झौता गरियो । सम्झौताको सर्त अनुसार २५ लाख थान इम्बोस्ड नम्बर प्लेटका लागि अङ्ग्रेजी राख्नुपर्ने भयो ।

त्यसपछिका नम्बर प्लेटमा भाषा परिवर्तन गरेर नेपाली राख्ने उनको भनाइ छ । यद्यपि सरकारले २५ लाख इम्बोस्ड नम्बर प्लेटमध्ये छाप्न बाँकीमा नेपाली भाषा राख्न सक्ने उनले सुनाए । 

इम्बोस्ड नम्बर प्लेटका फाइदाहरूः 

इम्बोस्ड नम्बर प्लेट सरकार र सवारीधनी दुवैका लागि उपयोगी र फाइदाजनक हुने महानिर्देशक रिजाल बताउँछन् । “यो सवारी साधनको वैज्ञानिक व्यवस्थापन हो । हिजोका नम्बर प्लेटको सन्दर्भमा त्यसको विवरण खोज्नुपर्‍यो भने यातायात कार्यालयमै गएर ढड्डा पल्टाउनुपर्छ । अब इम्बोस्ड नम्बर प्लेट राखेको सवारी साधनको विवरण ठाउँको ठाउँ हेर्न सकिन्छ । आरएफआईडी डिभाइस र आरएफआईडी गेटको सहायताले एकैछिनमा सवारी साधनको सम्पूर्ण विवरण पाउन सकिन्छ,” उनले भने । 

अहिलेको प्रविधिको युगमा यो प्रविधि अत्यावश्यक भएको उनको तर्क छ । सवारीधनीलाई सुरक्षाका दृष्टिकोणले ऊ कहाँकहाँ गएको थियो भन्ने कुराको जानकारी आवश्यक पर्ने र त्यसमा इम्बोस्ड नम्बर प्लेटले महत्त्वपूर्ण भूमिका खेल्ने उनले सुनाए । रिजालले अगाडि भने, “विशेषगरी गाडी चोरी भयो भने यस्तो जानकारीले गाडी फेला पार्न मद्दत गर्छ । सवारी धनीले कर तिर्न बिर्सिएको हुनसक्छ । त्यस्तोमा यो प्रविधिले कर तिर्ने समयमा सम्झाइदिन्छ । व्यवस्थापनमा सहजता ल्याउँछ ।” 

साधारण नम्बर प्लेटभन्दा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने प्रक्रिया झन्झटिलो छ । यस सन्दर्भमा रिजालले भने, “प्रविधिमा केही जटिलता त आउँछन् । यो डिभाइसमा जुन सिस्टम राखेका छौं त्यो जहाँ पायो त्यही साधारण नम्बर प्लेटको जसरी राख्न सकिंदैन । साधारण नम्बर प्लेट बजारमा जसले पनि बनाइदिन्छन् । तर, इम्बोस्ड नम्बर प्लेटको सन्दर्भमा त्यस्तो व्यवस्था गर्न सकिंदैन । यसैलाई अलि लचिलोपन बनाएर वर्कशप स्तरमा सूचिकृत गरेर पालिका वा जिल्लामा पुर्‍याउन सक्छौं । त्यसैका लागि हामी काम गरिरहेका छौं ।” 

सम्बन्धित समाचारः

इम्बोस्ड नम्बर प्लेट रिड गर्ने आरएफआईडी मसिन के हो ?

पछिल्लो अध्यावधिक: माघ १८, २०८० १७:१८