close

परियोजना धितो राख्ने उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकले ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण दिने

टेकपाना टेकपाना

माघ २४, २०८० १७:८

परियोजना धितो राख्ने उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकले ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले युवा उद्यम कर्जा दिने भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले तोकेको मापदण्ड अनुसार छनोट भएका उद्यमलाई बैंकले २५ लाखसम्म कर्जा दिने भएको हो ।

यस विषयमा बुधवार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

गत शुक्रवार एक सूचनामार्फत औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यमका मापदण्डहरू पूरा गरेर कर्जा लिन इच्छुक उद्यमीहरूलाई परियोजना प्रस्ताव पेश गर्न आह्वान गरिसकेकाे छ ।

नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यमीहरूले परियोजना प्रस्ताव पेश गर्न सक्नेछन् । चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत यो कार्यक्रमका लागि केन्द्रीय सरकारले २५ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

यस्ताे कर्जामा वार्षिक तीन प्रतिशत मात्र ब्याज लाग्नेछ । कर्जा प्राप्त गर्ने स्टार्टअपले उद्देश्य बमोजिम कर्जा रकम प्रयोग गर्नुपर्नेछ ।

साथै सम्झौतामा कर्जाको साँवा र ब्याज रकम चुक्ता गर्ने, नियामक निकाय वा बैंकबाट गरिने अनुगमनको क्रममा आवश्यक सूचना तथा तथ्याङ्क उपलब्ध गराउने जस्ता सर्त समेत ऋण प्राप्त गर्ने स्टार्टअपले पालना गर्नुपर्ने सर्त समेत रहने छ ।

पछिल्लो अध्यावधिक: माघ २४, २०८० १७:३२