close

कनेक्ट आईपीएस मार्फत राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले चोरे ग्राहकको १ करोड ३७ लाख रुपैयाँ

टेकपाना टेकपाना

फागुन १३, २०८० १३:४९

कनेक्ट आईपीएस मार्फत राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले चोरे ग्राहकको १ करोड ३७ लाख रुपैयाँ

काठमाडौं । कनेक्ट आईपीएसमार्फत राष्ट्रिय वाणिज्य बैंकका ग्राहकको खाताबाट एक करोड ३७ लाख रुपैयाँ बढी चोरी गरेको आरोपमा बैंकका एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा राष्ट्रिय वाणिज्य बैंक वीरगन्ज, पोखरिया शाखामा कनिष्ठ सहायक भूमिकामा कार्यरत रोहितकुमार ओझा रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी हाेविन्द्र बोगटीले ओझालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जानकारी दिए । “लामो समयसम्म ग्राहकको खाताबाट कारोबार नभएको देखेपछि ओझाले त्यसबाट रकम निकाल्ने योजना बनाएका रहेछन्,” एसपी बोगटीले टेकपानासँग  भने, “उनले २१ पटक गरी ती ग्राहकको अकाउन्टबाट एक करोड ३७ लाख रुपैयाँ ट्रान्सफर गरेको देखिएको छ ।”

रोजगारीका लागि दक्षिण कोरिया गएका ती युवा (बैंकका ग्राहक)ले आफूले कमाएको रकम राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्दै आएका थिए । पीडित युवाकी भाउजू बैंकमा रकम के कति छ भन्ने बुझ्न आउँदा रकम सोचेको भन्दा निकै कम देखेपछि यो घटना सतहमा आएको बोगटीले सुनाए ।

एसपी बोगटीका अनुसार ती कर्मचारीले करिब पाँच महिनाअघि नगद मौज्दात हेर्ने क्रममा ती ग्राहकको खातामा दुई करोडभन्दा बढी रकम भएको देखेका थिए । त्यसपछि त्यहीबाट रकम निकाल्ने योजना बनाएका ओझाले बैंकमा रहेकाे ग्राहकको नागरिकताको फोटोकपी निकाले । त्यसैको आधारमा वीरगञ्ज पोखरियामा रहेको टेलिकमको शाखामा सिम हराएको भन्दै निवेदन दिएर ती ग्राहकको नाममा भएको सिमको नक्कली सिम निकाले ।

“त्यही सिमबाट कनेक्ट आईपीएसको अकाउन्ट बनाएका रहेछन्,” उनले भने, “त्यसरी नम्बर नै पाएपछि कनेक्ट आईपीएस र बैंक अकाउन्टको सिमबाटै रिसेट गर्न मिल्यो । पहुँच पाएपछि ठूलो सङ्ख्यामा रकम निकालेको देखियो ।”

उनीमाथि बैंकिङ कसूर मुद्दामा कारवाही अगाडि बढाइएको छ । यसरी फोटोकपीको भरमा अरूको नाममा भएको सिम निकाल्न मिल्ने भएपछि यस्ता किसिमका घटना बढेको उनको भनाइ छ ।

“राम्रोसँग ग्राहक पहिचान नगर्ने, स्टोर, हल र पान पसलबाटै सिम दिने कामले गर्दा वित्तीय क्षेत्रसँग सम्बन्धित अपराधलाई प्रश्रय दिइरहेको छ,” एसपी बोगटीले भने, “यसले गर्दा अनुसन्धान प्रक्रियामा पनि प्रहरीलाई असहज भएको छ ।” यस्ता घटनामा वास्तविक व्यक्तिको उपस्थिति पहिचान नगरी सिम वितरण गर्दा ठगी तथा चोरीका घटना बढेको उनको भनाइ छ ।

यता नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले भने टेलिकमले पछिल्लो समय वास्तविक व्यक्तिको उपस्थितिबिना सिम उपलब्ध नगराउने गरेको बताउँछन् । “ग्राहक सिम परिवर्तन गर्न आउनुभयो भने हामी परिवर्तन गरिदिन्छौं,” ढकालले भने, “ग्राहक आफैं आएर आवश्यक सबै प्रक्रिया र कागजात भेरिफाई गरेपछि सिम उपलब्ध गराउँछौं ।”

यो घटनामा टेलिकमका कर्मचारीबाट कमजोरी भएको देखिए कारवाही गर्ने उनले सुनाए । “कर्मचारीले भेरिफाई नगरी दिएको हुनसक्छन् । त्यसमा बुझेर मात्र भन्न सकिन्छ,” उनले थपे । यसरी अरूको नाममा नक्कली सिम निकाल्ने घटना बढेपछि टेलिकम पेपरलेस प्रक्रियामा गएको उनले सुनाए ।

उनले भने, “हाम्रो डीएमएस भन्ने नयाँ सिस्टम छ । ग्राहक आफैं उपस्थित भएपछि उसको लाइभ फोटो खिचेर, अनि सक्कली नागरिकताको अगाडि पछाडिको फोटो राखेर सिम उपलब्ध गराउँछौं । पहिलेको जस्तो फोटोकपी दिएर सिम लिने भन्ने हुँदैन अहिले ।”

पछिल्लो अध्यावधिक: फागुन १४, २०८० ८:२३