close

वन यूआई ६.१ अपडेट ल्याउँदै सामसङ, यी फोनले ‘ग्यालेक्सी एआई’ फिचर पाउने

टेकपाना टेकपाना

फागुन १३, २०८० १५:१

वन यूआई ६.१ अपडेट ल्याउँदै सामसङ, यी फोनले ‘ग्यालेक्सी एआई’ फिचर पाउने

काठमाडौं । सामसङले आफ्ना मोबाइलमा स्तरीय एआई फिचरहरू उपलब्ध गराउन गत महिना सार्वजनिक गरेको ‘ग्यालेक्सी एआई’ अन्य विभिन्न मोडेलमा पनि उपलब्ध हुने भएको छ ।

सुरुमा ग्यालेक्सी एस२४ सिरिजका लागि उपलब्ध गराइएको ग्यालेक्सी एआई फिचर अन्य मोडेलहरूले पनि पाउने भएका हुन् । यसका लागि कम्पनीले नयाँ वन यूआई ६.१ अपडेट हुन लागेको हो ।

यसअन्तर्गत ग्यालेक्सी एस२३ सिरिज, एस२३ एफई, जेड फोल्ड फाइभ र जेड फ्लिप फाइभ सिरिजहरूमा  मार्चको अन्त्यदेखि ग्यालेक्सी एआई उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२४ भित्र १० करोडभन्दा बढी ग्यालेक्सी प्रयोगकर्ताहरुलाई यसको अनुभव दिलाउने तथा मोबाइल एआईको असीमित सम्भावनाहरुको उपयोगको लागि नवीन उपायहरुको खोजी जारी राख्ने उल्लेख गरेको छ । 

ग्यालेक्सी एआई भनेको सामसङको नयाँ एआई सिस्टम हो । यसले यसअघि उपलब्ध फिचरहरूलाई स्यतरीय बनाउनका साथै प्रयोगकर्ताका लागि केही नयाँ एआई टुल उपलब्ध गराउने बताइएको छ । 

 के छन् नयाँ फिचरहरू ?

सामसङले ग्यालेक्सी एआई अन्तर्गत विभिन्न फिचरहरू ल्याएको छ । त्यसमा के के फिचर छन् भन्ने विषयमा तल चर्चा गरिएको छ:

-फोटोग्राफी र भिडिओ

कम्पनीका अनुसार ग्यालेक्सी एआईले फोनबाट खिचेको  फोटो र भिडिओलाई थप स्तरीय बनाउनेछ । विशेषगरी फोनमा समावेध गरिएको प्रो भिज्युअल इन्जिनले एआईसँग सहकार्य गरेर फोटो खिच्दा वा खिचिकेका फोटो एडिटिङ गर्दा क्वालिटी बढाउन सहयोग गर्नेछ । 

ग्यालेक्सी एआईले नै लो लाइटमा खिचेका भिडिओ र फोटोलाई पनि उपयुक्त लाइट राखेर आकर्षक बनाइदिन्छ । डिजिटल जुम गर्दा फोटोमा न्वाइज बढी आउन सक्छ । त्यसमा पनि एआईले न्वाइज घटाइदिने कम्पनीको दाबी छ । ५० मेगापिक्सलको सेन्सरले पाँच गुणासम्मको अप्टिकल जुम क्षमता प्रदान गर्दछ ।

त्यस्तै फोनमा खिचेको सामान्य भिडिओलाई पनि एआईको सहायताले स्लो मोसन क्लिप बनाउन सकिनेछ । एआईले स्लो मोसन बनाउनका लागि भिडिओमा आवश्यक फ्रेम आफैं थपिदिनेछ । अर्थात् तपाईंले १२० फ्रेम प्रति सेकेन्ड खिचेको भिडिओलाई पनि एआईले २४०, ४८० वा ९६० फ्रेम प्रति सेकेन्डको बनाउन सक्छ । यसले गर्दा स्लो मोसन भिडिओ थप स्तरीय देखिन्छ । 

कम्पनीका अनुसार ग्यालरी एपले स्वतः जेनेरेटिभ एडिट प्रयोग गरी वाटरमार्क राखिदिनेछ । 

- ल्याङ्ग्वेज, भ्वाइस र अन्य फिचरहरू 

ग्यालेक्सी एआईमा भाषामा आधारित थुप्रै फिचरहरू दिइएको छ । त्यसमध्ये विशेष फिचरहरूको चर्चा लत गरिएको छ ।

-लाइभ ट्रान्सलेट 

सामसङको बिल्टइन्ट डायलर एपले वास्तविक समयमै फोन कललाई प्रयोगकर्ताले चाहेको भाषामा अनुवाद गरिदिन्छ । यो फिचरले एआईको प्रयोग गरी आवाजलाई टेक्स्टमा उतारेर त्यसलाई पढेर सुनाउँछ ।

- इन्टरप्रेटर

हुन त अहिले इन्टरप्रेटरको सुविधा दिने केही एप बजारमा आइसकेका छन् । इन्टरप्रेटर भनेको अर्को व्यक्तिले बोलेको कुरा तपाईंले बुझ्ने भाषामा बुझाइदिने र तपाईंले बोलेको भाषा अर्को व्यक्तिलाई बुझाइदिने भन्ने बुझिन्छ । एआईद्वारा सञ्चालित इन्टरप्रेटेरले प्रयोगकर्तालाई भाषा अनुवादकको काम गरिदिनेछ । यसका लागि भने नेटवर्क नभए पनि हुने भनिएको छ । यद्यपि अफलाइन मोडमा कुन भाषा प्रयोग गर्न सकिन्छ भन्नेमा पूरा जानकारी आइसकेको छैन । 

-च्याट असिस्ट

ग्यालेक्सी एआई समावेश भएको सामसङको कीबोर्डले च्याट असिस्टको काम गर्नेछ । यसले वास्तविक समयमा टेक्स्ट अनुवाद गरिदिनुका साथै प्रयोगकर्ताको कुरा गर्ने शैलीलाई विश्लेषण गरेर त्यही अनुसारको जवाफ सुझाव दिन्छ । तपाईंले यो फिचर प्रयोग गरी व्यवसायिक, क्याजुअल, नम्र वा रोमाञ्चक शैलीले कुरा गर्न सक्नुहुन्छ । 

-नोट असिस्ट 

ग्यालेक्सी एआईले वेबसाइट र डकुमेन्टको सारांश दिनेछ । नोट असिस्ट फिचरले प्रयोगकर्ताले नोटमा राखेका कुरालाई आकर्षक डिजाइमनमा मिलाउन सघाउँछ । 

-ट्रान्सक्रिप्ट असिस्ट 

ग्यालेक्सी एआई सहायताले सामसङ रेकर्डर एपमा ट्रान्सक्रिप्ट असिस्ट फिचर समावेश गरिएको छ । यसको सहायताले एपमा रेकर्ड गरिएका कुरालाई टेक्स्टमा उतार्न सकिन्छ । त्यति मात्र नभइ वास्तविक समयमा कुन व्यक्तिले के कुरा गरेको छ, र मिटिङमा के निष्कर्ष निस्कियो भन्ने कुराको जानकारी दिनेछ । 

- एन्ड्रोइड अटो

ग्यालेक्सी एआईको प्रयोग भएको अर्को फिचर हो एन्ड्रोइड अटो । यसको सहायताले कारमा फोन कनेक्ट गरेको अवस्थामा ग्रुप मेसेजको सारांश इन्फोटेन्मेन्ट डिस्प्लेमा देखिनेछ । त्यस्तै यसमा अटो मेसेज रिप्लाई, अटो नेभिगेसन जस्ता सुविधा पनि दिइएको छ । 

- सर्कल टु सर्च

ग्यालेक्सी एआईमा उपलब्ध भएको अर्को फिचर हो सर्कल टु सर्च । यसका लागि सामसङले गुगलसँग सहकार्य गरेको छ । यससँगै सामसङ प्रयोगकर्ताले फोटोमा गोलो घेरा लगाएमा त्यही गुगल लेन्स खुल्छ र सम्पूर्ण जानकारी फिडमा देखिन्छ ।

पछिल्लो अध्यावधिक: फागुन १३, २०८० १५:१