close

यसरी चलाउनुहोस् स्कुल, कलेजदेखि लोक सेवासम्म पढाउने एम्बिसन गुरुको मोबाइल एप

अर्पना आले मगर अर्पना आले मगर

फागुन २९, २०८० १२:११

यसरी चलाउनुहोस् स्कुल, कलेजदेखि लोक सेवासम्म पढाउने एम्बिसन गुरुको मोबाइल एप

काठमाडौं । प्रविधिले हाम्रो दैनिकी परिवर्तन हुँदै गएकोमा कुनै सन्देह छैन । परिवर्तित दैनिकीसँगै हामीले पढ्ने तरिका पनि फेरिएको छ । आज पढ्नको लागि स्कुल वा कलेज नै जानुपर्ने बाध्यता छैन ।

डिजिटल लर्निङ प्लेटफर्ममार्फत हामी जहाँ छौं, त्यहीँ बसेर पढ्न सक्छौं । यसरी पढ्न सघाउने थुप्रै डिजिटल लर्निङ प्लेटफर्म छन् । तीमध्ये एक हो, एम्बिसन गुरु । 

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युक्त ई-लर्निङ प्लेटफर्मको रूपमा रहेको एम्बिसन गुरुमा लोकसेवा आयोगका सङ्घीय र प्रदेशका सबै तह, शिक्षक सेवा आयोग, माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी कक्षा लिन सकिन्छ । यसका साथै व्यवस्थापन, बैंक तथा संस्थान, विज्ञानका सबै विषय, सुरक्षा निकाय र भाषा लगायत अन्य विभिन्न कोर्सहरूको समेत तयारी कक्षा लिन सकिन्छ । 

ती कक्षाका लागि एम्बिसन गुरुको मोबाइल एप र वेबसाइट दुवै रहेको छ । यस लेखमा एम्बिसन गुरुको मोबाइल एप कसरी प्रयोग गर्ने र यसमा केके उपलब्ध छन् भन्ने विषयमा चर्चा गर्ने छौं:  

कसरी एपमा रजिस्टर हुने ?

एम्बिसन गुरुको मोबाइल एप एन्ड्रोइडआईओएस दुवैमा डाउनलोड गर्न सकिन्छ । एप डाउनलोड गरेर खोल्नासाथ स्टुडेन्ट, एजी स्टोर, प्यारेन्ट र गुरु गरी चार ओटा विकल्प देखिन्छन् । 

यदि तपाईं विद्यार्थी हुनुहुन्छ भने स्टुडेन्ट, एम्बिसन गुरुको एजेन्टका रूपमा हुनुहुन्छ भने एजी स्टोरमा, आफ्नो भाइबहिनी अथवा छोराछोरीको लागि एप प्रयोग गर्दै हुनुहुन्छ भने प्यारेन्टमा र यदि तपाईं एम्बिसन गुरुको गुरु हुनुहुन्छ भने गुरुमा ट्याप गर्नुहाेस् । यस लेखमा भने विद्यार्थीका रूपमा एप चलाउन सिकाइएको छ ।

अब आउने नयाँ पेजमा तपाईंले आफ्नो मोबाइल नम्बर रजिस्टर गर्नुपर्ने हुन्छ । मोबाइल नम्बरपछि आफ्नो नाम राख्नुहोस् । त्यसपछि तपाईंले दिएको नम्बरमा एउटा ओटीपी कोड आउँछ । उक्त कोड राखेर ‘कन्फर्म नाउ’मा ट्याप गर्नुहोस् । 

पढ्न चाहेको विषय कसरी चयन गर्ने ?

त्यसपछि तपाईंले पढ्न चाहेको कोर्समा ट्याप गर्न सक्नुहुन्छ । त्यसका लागि मेडिकल/पारामेडिकल, म्यानेजमेन्ट, ल्याङ्ग्वेज, कोरियन, लोकसेवा, शिक्षक सेवा लगायतका कोर्सहरू पाउन सकिन्छ । अहिले एसईईको परीक्षा नजिकिरहेको छ । त्यही भएर लेखमा एसईई छानेर सिकाइने छ ।

एसईई (ग्रेड १०) मा ट्याप गरेपछि भाषाको पनि विकल्प आउँछ । अर्थात् नेपाली वा अंग्रेजी माध्यम कुनमा पढ्ने त्यो छान्नु पर्छ । त्यसपछि तपाईंले आफ्नो कोर्सको विवरण देख्न सक्नुहुन्छ । यहाँ उल्लेख गरौं, एसईईको तयारी कक्षाका लागि २ हजार ४९९ रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । आफ्नो कोर्स चयन गरिसकेपछि स्क्रिनमा पढाइ हुने विषय र गुरुहरू देखिन्छ । यसका साथै कक्षाको तालिका पनि हेर्न सक्नुहुन्छ ।

अब स्क्रिनको तल दायाँतिर रहेको ‘इन्‍रोल नाउ’मा ट्याप गर्नुहोस् । यहाँ ट्याप गरिसकेपछि तपाईंले ट्रायल पिरियड अर्थात् शुल्क नतिरी  कक्षा लिन पाउने सुविधा पाउन सक्नुहुन्छ । ट्रायल पिरियड अन्तर्गत तपाईंले लाइभ कक्षामा जोडिन, नोट हेर्न, भिडिओ हेर्न पाउनुहुन्छ । 

आफ्नो ट्रायल पिरियड सुरु गर्न 'लेट्स गेट स्टार्टेड’ मा ट्याप गर्नुहोस् । अब यदि तपाईं कोर्स खरिद गर्न चाहनुहुन्छ भने 'बाइ नाउ’ मा ट्याप गर्नुहोस् । यसपछि तपाईंले आफ्नो कोर्स खरिद गर्ने विकल्प देख्न सक्नुहुन्छ । 

अरूका लागि कोर्स कसरी किन्ने ?

'गिफ्ट फर अदर्स’ भन्ने अर्को विकल्प पनि छ । अर्थात् तपाईंले अरू कसैको लागि समेत कोर्स खरिद गरिदिन सक्नुहुन्छ । यो विकल्पमा ट्याप गरेपछि विद्यार्थीको फोन नम्बर राख्नुहोस् । यदि सो विद्यार्थी पहिले नै एम्बिसन गुरुमा रजिस्टर छ भने विद्यार्थीको विवरण स्क्रिनमा आउनेछ । 

त्यसपछि ‘कन्टिन्यू’मा ट्याप गर्नुहोस् । यहाँ तपाईंले पेमेन्टका विभिन्न विकल्प देख्न सक्नुहुन्छ । हाल तपाईंले एम्बिसन गुरुमा फोनपे, ईसेवा, खल्ती र बैंकमार्फत शुल्क भुक्तानी गर्न सक्नुहुन्छ । आफ्नो भुक्तानीको विकल्प छनोट गरेर ट्याप गर्नुहोस् । यदि तपाईं फोनपे प्रयोग गर्नुहुन्छ भने फोनपेमा ट्याप गर्नुहोस् । त्यसपछि एउटा क्यूआर आउँछ । त्यसलाई स्क्यान गरेर आफ्नो भुक्तानी गर्न सक्नुहुन्छ । 

यदि तपाईं इसेवा वा खल्ती प्रयोग गर्नुहुन्छ भने आफ्नो डिजिटल वालेटमा ट्याप गरेर लगइन विवरण भरेर भुक्तानी गर्न सक्नुहुन्छ । बैंक डिपोजिटमा जानु भयो भने बैंकको विवरण देखिन्छ, त्यसमा जुनसुकै माध्यमबाट भुक्तानी गर्न सक्नुहुन्छ । यसरी भुक्तानी गरिसकेपछि भौचरको तस्बिर तपाईंले एम्बिसन गुरुको कुनै पनि फेसबुक पेज मार्फत पठाउन सक्नुहुन्छ । 

यति गरेपछि तपाईंले चाहेको कोर्समा रजिस्टर हुन्छ । भुक्तानीको समयमा कुनै समस्या आएमा तपाईंले स्क्रिनको अन्तिममा रहेको नम्बरमा फोन गर्न सक्नुहुन्छ । 

कोर्समा भर्ना भइसकेपछि कक्षा कसरी लिने ? 

स्क्रिनको सबैभन्दा तल पाँचओटा विकल्प देखिन्छ । ‘होम’मा ट्याप गर्नुभयो भने तपाईंले आफ्नो कोर्सको लाइभ क्लास, हालै अपलोड गरिएका भिडिओ, निशुल्क भिडिओ, कोर्ससँग सम्बन्धित समाचार, अन्य उपलब्ध कोर्स विभिन्न सञ्चारमाध्यममा उपलब्ध समाचार लगायतका विवरणहरू पाउन सकिन्छ ।

होमसँगै रहेको ‘स्टडी' विकल्पमा ट्याप गर्नुभयो भने तपाईंले आफ्नो कोर्सको पाठ्यक्रम हेर्न सक्नुहुन्छ । साथै स्क्रिनको माथिपट्टि नै रहेको लाइभ क्लासमा ट्याप गरेर कुन विषयको लाइभ क्लास कति बेला हुँदैछ भन्ने जानकारी पनि पाउन सक्नुहुन्छ । 

यदि कुनै क्लास भइरहेको छ भने ‘जोइन नाउ’मा ट्याप गरेर जोडिन सक्नुहुन्छ । 'लाइभ क्लास लाइब्रेरी’ मा ट्याप गरेर अगाडि भएका लाइभ क्लासहरुको रेकर्डेड भिडिओ हेर्न सकिन्छ । यसमा तपाईंले सबै पुराना भिडिओ भेट्न सक्नुहुन्छ । लाइभ क्लासको विषयमा भने तपाईंलाई सूचना पनि आउँछ । तर यसका लागि तपाईंले आफ्नो नोटिफिकेसन फिचर ‘अन’ गरेको हुनुपर्छ ।

यति भएपछि कक्षा सुरु हुनुभन्दा केही समय अगाडि तपाईंलाई कक्षाको नोटिफिकेसन आउने छ । जसले गर्दा तपाईंको लाइभ क्लास छुट्न पाउँदैन । साथै लाइभ क्लासमा गुरुसँगै अन्तर्क्रिया गर्दै पनि पढ्न सकिन्छ ।   

लाइभ क्लाससँगै रहेको भिडिओ अप्सनमा ट्याप गर्नुभयो भने पनि तपाईंले लाइभ क्लासको रेकर्डेड भिडिओ हेर्न सक्नुहुन्छ । सो भिडि‌ओलाई तपाईंले डाउनलोड गरेर इन्टरनेट नभएका बेला पनि हेर्न सक्नुहुन्छ । ती भिडिओ तपाईं अनलाइन भएका बेला प्रोफाइलको ‘माइ कन्टेन्ट’ भित्र डाउनलोडेड कन्टेन्टसमा हुन्छन् । 

अफलाइन भएका बेला भने ‘गो टु डाउन डाउनलोड्स’मा हेर्न सक्नुहुन्छ ।  भिडिओ पछि ‘नोट’ भन्ने विकल्प छ । त्यसमा ट्याप गर्दा गुरुले उपलब्ध गराएका सबै विषयको नोटहरू पाउन सकिन्छ । नोट र भिडिओ भने अफलाइनमा हेर्न वा पढ्नका लागि सेभ गरेर राख्न सकिन्छ । यसरी तपाईंले सेभ गरेको भिडिओ र नोट भने ‘सेभ्ड कन्टेन्टस’ मा गएर बस्छन् । 

‘सेभ कन्टेन्ट’ भित्र तपाईंले ‘क्वेसन्स’ नामक अर्को विकल्प देख्नुहुनेछ । त्यसमा ट्याप गरेर  तपाईंले लाइभ क्लास हुँदा गुरुलाई सोधेका प्रश्न अथवा भिडिओमा देखिएका कमेन्ट देख्न सक्नुहुनेछ । 

एपमा 'टेस्ट' दिने तरिका

स्टडीपछि स्क्रिनको तलपट्टि रहेको ‘टेस्ट' मा ट्याप गरेर तपाईंले आफ्नो कोर्सका विभिन्न परीक्षा दिन सक्नुहुन्छ । ‘टेस्ट अप्सन’मा ट्याप गरेपछि त्यहाँ पाँचओटा अन्य विकल्प आउँछन् । यदि तपाईं आफ्नो पाठ्यक्रम अनुसार परीक्षा दिन चाहनुहुन्छ भने 'च्याप्टर वाइज टेस्ट’ मा ट्याप गर्नुहोस् । यदि तपाईं आफूले पहिले नै पढेको आधारमा वस्तुगत परीक्षा दिन चाहनुहुन्छ भने ‘क्विक प्राटिक्स’ ट्याप गरेर छोटा  प्रश्नका उत्तर दिएर पनि आफ्नो परीक्षण ‍गर्न सक्नुहुन्छ । 

यसरी नै अन्य ‘हार्ड क्वेसन’, ‘टप क्वेसन’मा ट्याप गरेर तपाईंलाई गाह्रो लाग्ने प्रश्न वा सबैभन्दा धेरै सोधिएका प्रश्नको जवाफ दिएर पनि परीक्षामा भाग लिन सक्नुहुन्छ । अन्त्यमा भएको 'इन्करेक्ट एटेम्प्टस्’ मा ट्याप गर्दा तपाईंले भाग लिएको परीक्षामा कुनकुन प्रश्नको गलत जवाफ दिनुभएको थियो ती प्रश्नको पुन: परीक्षा सक्नुहुन्छ । 

यहाँ तपाईंको सहजताका लागि प्रश्नका संख्या आफैंले छनोट गर्ने विकल्प पनि दिइएको छ । तपाईंले कति ओटा प्रश्नको जवाफ कति समयमा दिने भनेर आफैंले समय र प्रश्नको संख्या तय गरेर पनि परीक्षा दिन सक्नुहुन्छ । यसरी दिइएको परीक्षामा तपाईंले कति ओटा गलत वा सही जवाफ दिनुभयो? जवाफ गलत भएका प्रश्नको सही जवाफ सहितको समाधान तपाईंले पाउन सक्नुहुन्छ । 

यसको साथै तपाईंले ‘लाइभ मक टेस्ट' पनि दिन सक्नुहुन्छ । मक टेस्ट भनेको वास्तविक परीक्षाजस्तै गरी निर्धारित समयमा पहिलेका परीक्षामा आएका प्रश्नपत्रको आधारमा परीक्षाको तयारी गर्ने एउटा अभ्यास विधि हो । तपाईंले निर्धारित समयमा विभिन्न मक टेस्ट नि:शुल्क रूपमा दिन सक्नुहुन्छ । यसरी ‘टेस्ट फिचर’अन्तर्गत भने कोर्स अनुसार अन्य विभिन्न फिचर थपघट गरिएको हुन्छ ।  ​

कोर्स कसरी 'स्विच' गर्ने?

यदि तपाईं एक भन्दा बढी क्लासमा भर्ना हुनुभएको छ भने तपाईंले आफ्नो  कोर्स स्विच गर्नु पर्नेहुन्छ । कोर्स स्विच नगरेको खण्डमा तपाईंले अर्को कोर्सको सामग्रीमा पहुँच नपाउन सक्ने सम्भावना हुन्छ । कोर्स स्विच गर्न स्क्रिनको बायाँपट्टि सबैभन्दा माथि रहेको 'प्रोफाइल' आइकनमा ट्याप गर्नुहोस् । त्यहाँ गएर ‘माई कोर्स’मा ट्याप गरेर आफूले पढ्न चाहेको कोर्समा ट्याप गर्नुहोस् ।

त्यसपछि एउटा पप अप मेसेज आउँछ । जहाँ तपाईंलाई ‘स्विच प्याकेज’ भनेर प्रश्न गरिएको हुन्छ । त्यहाँ ‘कन्फर्म’​ मा ट्याप गर्नुहोस् । तपाईंले आफ्नो व्यक्तिगत विवरण परिवर्तन पनि प्रोफाइलबाटै  गर्न सक्नुहुन्छ ।

एपका अन्य फिचर

अब लागौं अर्को फिचरतर्फ । टेस्टसँगै तपाई|ले ‘अडिओ फिचर’ देख्नसक्नुहुन्छ । यहाँ ट्याप गरेपछि तपाईंले विभिन्न विषयका अडिओबुक सुन्न पनि सक्नुहुन्छ । विशेषगरी तपाईंको कोर्सलाई सहयोग हुनेगरी विभिन्न अडिओबुक राखिएका छन् ।

सबैभन्दा अन्तिममा छ ‘आस्क’ । यो फिचर विशेषगरी तपाईंले आफ्ना गुरुहरूसँग अन्तर्क्रिया या प्रश्न गर्नका लागि बनाइएको हो । यहाँ गएर तपाईंले आफ्नो विषयको गुरुसँग सल्लाह लिन र आफूले नबुझेका विषयबारे सोध्न सक्नुहुन्छ ।

आस्कमा ट्याप गरेपछि विषय र आफ्नो गुरु छनोट गरेर ट्याप गर्नुपर्ने हुन्छ । यसरी ट्याप गरेपछि एउटा च्याटबक्स खुल्छ । त्यहाँ गएर तपाईंले गुरुलाई नबुझेका विषय सोध्न, आफूले गरेको अभ्यासको फोटो अथवा पीडीएफ फाइल पठाउन वा भोइस रेकर्ड गरेर पनि गुरुसँग च्याटमा कुरा गर्न सक्नुहुन्छ । 

यति भइसकेपछि त अब पढ्नको लागि समय छैन, स्थान छैन भनेर कुनै बहाना नै बनाउनु परेन । तपाईं जहाँ बसेर जुनसुकै समयमा पनि पढ्न सक्नुहुन्छ । पढाइ कक्षाकोठाका पर्खालभित्र होइन, अब मोबाइलमा आइसकेको छ ।

पछिल्लो अध्यावधिक: फागुन २९, २०८० १२:५७