काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले २०७९ फागुनमा हाइड्रोजन इन्धनबाट चल्ने गाडी चढ्ने उद्घोष गरे । उनकाे चाहना अहिले साकार हुने अवस्थामा पुगेको छ । यसको उपज काठमाडौं विश्वविद्यालयलाई जान्छ । विश्वविद्यालयले आइतवार हाइड्रोजन रिफिलिङ स्टेसनको परीक्षण सफलता पूर्वक सम्पन्न गरेको छ । यस रिफिलिङ स्टेसनबाट तयार हुने हाइड्रोजन इन्धनका रूपमा गाडीमा प्रयोग हुने बताइएको छ ।
यसअघि नै काठमाडौं विश्वविद्यालयले दक्षिण कोरियाबाट हाइड्रोजन कार ल्याइसकेको छ । सो कारका लागि आवश्यक पर्ने इन्धन उक्त रिफिलिङ स्टेसनमा तयार पारिने छ । यी सबै काम विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याब अन्तर्गत भइरहेको छ । यसो हुँदा एउटा जिज्ञासा आउनु स्वाभाविक छ, के अब प्रम प्रचण्डले हाइड्रोजन कार चढ्लान् त ?
सबै प्राविधिक परीक्षण सकेपछि औपचारिक कार्यक्रम गरेर यसको सुरुवात गर्ने विश्वविद्यालयकाे योजना छ । विश्वविद्यालयलाई अनुसन्धानात्मक कार्य गर्न नेपाल आयल निगमले पाँच करोड रुपैयाँ उपलब्ध गराएको थियो । त्यसमध्ये करिब ४४ लाखमा हाइड्रोजन कार खरिद गरिएको हो ।
साथै निगमकै रकम मध्येबाट एक करोड ३० लाख रुपैयाँमा रिफिलिङ सेन्टर स्थापना गरिएको हो । हाइड्रोजन उत्पादनमा सफलता प्राप्त गरेपनि चुनौती धेरै छन् ।
रिफिलिङ स्टेसन
विश्वविद्यालयले पाँच महिनाअघि नै रिफिलिङ स्टेसन सञ्चालन गर्ने याेजना ल्याएकाे थियाे । कोरियामा एसेम्बल गरेर स्टेसनको सामान ल्याउँदा ढुवानीका क्रममा बिग्रिएकाले ढिलाइ हुन गएको विश्वविद्यालयका उपप्राध्यापक डा. विराज सिंह थापा बताउँछन् । उनी यस परियोजनाका प्रमुख पनि हुन् ।
थापाका अनुसार बाटोको समस्याका कारण रिफिलिङ स्टेसनका धेरै पुर्जाहरूमा क्षति पुग्याे । “बिग्रेका भागहरू बनाउँदा फेरि नयाँ बनाए जस्तै भयो । बाटो राम्रो भएर सामानहरू नबिग्रेको भए दुई/तीन महिना अघि नै स्टेसन सञ्चालनमा आउने थियो,” उनी भन्छन् ।
रिफिलिङ स्टेसनको डिजाइन विश्वविद्यालय आफैंले गरेको हो । डिजाइनको अन्तिम रूप दिन दक्षिण कोरियाका प्राविधिकसँग सहकार्य गरिएको थियो । त्यस्तै विश्वविद्यालय स्वयंले केही जनशक्तिलाई दक्षिण कोरिया पठाएको थियो । जहाँ उनीहरूले रिफिलिङ स्टेसन एसेम्बल गर्ने र सञ्चालन गर्ने तरिका सिकेका थिए ।
त्यसरी गएका ग्रीन हाइड्रोजन ल्याबका प्रोजेक्ट इन्जिनियर नितेश कुमार यादव अरु हाइड्रोजन रिफिलिङ स्टेसनभन्दा यो अलि भिन्न भएको बताउछन् । उनका अनुसार यसमा वाटर फिल्टरेसन, हाइड्रोजन प्रोडक्सन, प्युरिफिकेसन, कम्प्रेसन, डिस्पेन्सिक लगायतका सबै प्रक्रिया एकै पटक हुन्छन् ।
यसमा ५ किलोवाटको एउटा इलोक्ट्रोलाइजर राखिएको छ, जसले दैनिक २ किलोग्राम हाइड्रोजन तयार पार्न सक्छ ।
सामान्य रुपमा गाडीमा हाइड्रोजन रिफिल गर्न व्यावसायिक स्टेसनमा पाँचदेखि सात मिनेट लाग्छ । यस गाडीमा भने ६ किलोग्राम हाइड्रोजन छिर्न सक्छ ।
यदि कुनै प्राविधिक चुनौती आएनन् भने केही दिनमै गाडी गुडाउन सकिने डा. थापा सुनाउँछन् ।
हाइड्रोजनको व्यावसायिक प्रयोग
हाल विश्वविद्यालयले तयार पारेको यही प्रणालीमा कम्प्रेसर र हाइप्रेसरको क्षमता बढाउने हो भने व्यावसायिक स्टेसन विकास गर्न सकिने छ । अहिलेका लागि भने हाइड्रोजन कार र रिफिल स्टेसनको उद्देश्य केवल अनुसन्धान हो ।
अब हाइड्रोजनको व्यावसायिक प्रयोग गर्न लगानी र कानूनी पाटो बाँकी रहेको डा. थापा बताउँछन् । विश्वविद्यालयको हाताबाट कार र रिफिल स्टेसनलाई बाहिर निकाल्न सबैभन्दा ठूलो समस्या कानूनी जटिलता रहेको उनको भनाइ छ ।
“हाइड्रोजन कारलाई कुन कार्यविधिबाट नम्बर प्लेट दिने, कुन कार्यविधिबाट ब्लुबुक दिने, कुन कार्यविधिबाट हाइड्रोजन इन्धनलाई वर्गीकृत गर्ने, कुन कार्यविधिबाट रिफिलिङ स्टेसनलाई इजाजत दिने, कुन निकायबाट यसको नियमन गर्ने जस्ता अन्यौलताका विषय छन्” उनी भन्छन् ।
नेपालमा हाइड्रोजनको व्यावसायिक प्रयोग बढाउन यी विषय नीति/कार्यविधि मार्फत तत्काल समाधान गर्नुपर्ने उनको भनाइ छ । यी विषय समाधान नभएसम्म हाइड्रोजनको व्यावसायिक प्रयोग हुन नसक्ने र लगानी नभित्रिने उनको ठम्याइ छ ।
नेपालमा भित्रिरहेको अर्बौं रुपैयाँको पेट्रोल/डिजेलको विकल्पमा हाइड्रोजनलाई हेरिएको छ । किनकी यसलाई तयार पार्न विद्युत र पानी मात्र आवश्यक पर्छ । ती दुवै स्रोत नेपालमा पर्याप्त छन् ।
यदि यो कुरा प्रमाणित गर्न सके र हाइड्रोजन बजारका लागि नेपाल लगानीमैत्री भएको कुरा पुष्टि गर्न सके लगानीको समस्या नहुने डा. थापा तर्क गर्छन् । अब हाइड्रोजनको विस्तार गर्न सरकारले प्रमुख भूमिका निभाउनु पर्ने उनको धारणा छ ।
यसका लागि सरकारलाई दबाब दिन र सम्भावित लगानीकर्ता आकर्षण गर्न यस कारलाई आउँदो वैशाखमा हुन लागेको हाइड्रोजन एक्स्पो, लगानी सम्मेलन सहित विभिन्न प्रदर्शनीमा लैजाने विश्वविद्यालयकाे याेजना छ ।
त्यस्तै हाइड्रोजनकै व्यावसायिक प्रयोग बढाउन विश्वविद्यालयले अहिले प्रत्येक दिन ३०-३५ गाडी रिफिल गर्नसक्ने व्यावसायिक रिफिलिङ स्टेशनको डिजाइन गरिरहेको छ । समग्रमा जीवाष्म इन्धनको विकल्पको रूपमा हाइड्रोजनलाई लैजान नीतिगत सुधार गरे नेपाली सडकमा हाइड्रोजन इन्धनबाट आधारित गाडी चल्ने बाटो तय हुनेछ ।