close

गुगल सर्चमा नयाँ युगको सुरुवात, सार्वजनिक भयो बहुप्रतिक्षित ‘एआई मोड’

टेकपाना टेकपाना

जेठ ७, २०८२ १४:५२

गुगल सर्चमा नयाँ युगको सुरुवात, सार्वजनिक भयो बहुप्रतिक्षित ‘एआई मोड’

काठमाडौँ । इन्टरनेटको दुनियाँमा सर्च इन्जिनका कारण गुगल धेरैको रोजाइमा पर्दै आएको छ । यसले दुई दशकदेखि हरेक पेजमा हामीले सर्च गरेका जानकारी १० ओटा नीलो लिङ्कमा देखाइरहेको छ । तर, अब करिब २५ वर्षपछि यो सबै तरिका नै परिवर्तन हुने भएको छ ।

मङ्गलबार कम्पनीले आफ्नो सर्च इन्जिनमा ‘एआई मोड’ नामक नयाँ फिचर उपलब्ध गराएको छ । यसअघि परीक्षणकै क्रममा रहेको ‘ओभरभ्यु’ फिचरलाई परिमार्जन गर्दै कम्पनीले एआई मोड फिचर ल्याएको हो ।

गुगलका अनुसार यस फिचरले च्याटबट जसरी काम गर्न सक्छ । यसको अर्थ प्रयोगकर्ताले कुनै प्रश्न सोध्न, त्यससँग सम्बन्धित थप प्रश्न गर्न र एआई सिस्टममार्फत विस्तृत र समग्र जवाफ पाउन सक्नेछन् । जवाफ आइसकेपछि त्यसको छेउ वा तलपट्टि आधिकारिक स्रोतको लिङ्क देखिन्छ ।

गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले यसलाई ‘सर्चको पूर्णतया नयाँ परिकल्पना’ भनेका छन् । कम्पनीको वार्षिक सफ्टवेयर डेभलपर सम्मेलनअघि आयोजित पत्रकार सम्मेलनमा उनले भने, “परीक्षणका क्रममा मानिसले सर्चसँग अन्तरक्रिया गर्ने तरिकामा ठूलो परिवर्तन ल्याएका छन् ।”

गुगलले सर्च बारमै ‘एआई मोड’ उपलब्ध गराएको छ । एआईको जवाफ आवश्यक पर्ने प्रयोगकर्ताले उक्त एआई मोड छानेर आफ्नो प्रश्न सोध्न सक्छन् । त्यसबाहेक पहिले जसरी गुगलमा सर्च रिजल्ट देखिन्थ्यो, त्यस्तै रिजल्ट हेर्नका लागि एआई मोडको छेउमा भएको ‘अल’को अप्सन छान्न सकिनेछ । साथै फोटो, भिडिओ, समाचार आदिका लागि क्रमशः दायाँपट्टिका ट्याब प्रयोग गर्न सकिनेछ । मुख्य प्राथमिकता भने यसमा एआई मोडले पाउने बताइएको छ ।

यो नयाँ ‘एआई मोड’ सँगै गुगलले अन्य धेरै एआई फिचर पनि घोषणा गरेको छ । त्यसमध्ये एउटा हो- ईमेलका लागि एआईले थप व्यक्तिगत र स्वचालित जवाफ तयार पारिदिने । त्यस्तै ‍कुनै लुगा सेलमा आएपछि स्वतः  एआईले नै खरिद गरिदिने शपिङ टुल पनि गुगलले घोषणा गरेको छ । 

‘एआई मोड’ को सुरुवातसँगै गुगलले आफ्ना प्रतिस्पर्धी एआई कम्पनीले बाधा पुर्‍याउनुअघि नै आफ्नो परम्परागत सर्च व्यवसायलाई आफैंले परिवर्तन गर्न खोजिरहेको देखिन्छ । दुई वर्षअघि ओपनएआईको च्याटजीपीटी आएपछि गुगलले ‘कोड रेड’ घोषणा गरेको थियो । च्याटजीपीटीले गुगलको सर्च व्यवसायमा पार्न सक्ने प्रभावलाई लिएर कम्पनी चिन्तित थियो । 

च्याटजीपीटीको उदयले डराइरहे पनि गुगल एआईलाई पूर्ण रूपमा अपनाउन हिचकिचाउँदै आएको थियो । किनभने यसमा उसले धेरै गुमाउन सक्ने जोखिम थियो । गत वर्ष कम्पनीको सर्च व्यवसायले करिब २०० अर्ब डलर आम्दानी गरेको थियो । यो भनेको गुगलले गर्ने आम्दानीको आधाभन्दा बढी हो । र, यो व्यवसायको आधार नै मानिसलाई प्रश्नको भरपर्दो र उत्कृष्ट जवाफ दिनु रहेको छ ।

एआई प्रणाली प्राविधिक रूपमा अब्बल भएपनि यसमा एउटा ठुलो कमजोरी छ । त्यो हो- एआईले दिन सक्ने ‘गलत जवाफ’ । गत वर्ष गुगलकै एउटा एआई सिस्टमले मानिसलाई ढुङ्गा खान सिफारिस गरेको घटनाले यसलाई पुष्टि गरेको छ । त्यसैले एआई त्यति भरपर्दो नहुने भन्दै कम्पनीले प्रत्यक्ष रूपमा सर्चमा एआई ल्याइहाल्ने रणनीति बनाएको थिएन । 

मङ्गलबारदेखि अमेरिकामा ‘एआई मोड’ फिचर देखिन थालेको छ । तर, यसमा तत्कालका लागि विज्ञापन भने देखाइने छैन । गुगलले बुधबार विज्ञापनदाताका लागि आयोजना गर्ने कार्यक्रममा यस विषयमा थप जानकारी दिने बताइएको छ । 

पछिल्लो समय गुगल आफ्नो व्यवसायमा एकाधिकार जमाएको भन्दै विभिन्न कानुनी दबाबको सामना गरिरहेको छ । यस्तो बेला कम्पनीले एआईतर्फको यात्रा पनि अगाडि बढाइरहेको छ । 

गुगलका नयाँ एआई फिचरले गुगल र वेबसाइट प्रकाशकबिचको तनावलाई अझ बढाउन सक्ने देखिन्छ । च्याटबटले प्रायः वेबसाइटबाट जानकारी लिएर सिधै प्रयोगकर्तालाई जवाफ दिन्छ । यसले गर्दा परम्परागत सर्च मोडलमा असर परिरहेको भन्दै वेबसाइटमा ट्राफिक घट्न सक्ने चिन्ता प्रकाशकको छ । तर, पिचाईले एआई ओभरभ्यु जस्ता फिचरले मानिसले गर्ने सर्चको सङ्ख्या बढाएको बताएका छन् । त्यसका लागि एआई ओभरभ्युमा एआईले सुझाव दिने वेबसाइटको ट्राफिक र प्रयोगकर्ताले त्यहाँ बिताउने समय उल्लेख्य रूपमा वृद्धि भइरहेको उनको दाबी छ । 

कम्पनीले ‘जेमिनाई २.५ प्रो’ मोडेल पनि सार्वजनिक गरेको छ । यसले पहिलेको भन्दा बढी ‘तर्क’ गरेर अझ सटीक परिणाम दिनसक्ने कम्पनीको भनाइ छ । यो जेमिनाई सिस्टम जिमेलमा स्मार्ट जवाफ दिन, क्रोम ब्राउजरमा वेबसाइटको जानकारीबारे प्रश्नोत्तर गर्न र शपिङमा ग्राहकलाई सहयोग गर्न प्रयोग हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ७, २०८२ १५:५३