close

पुरानो एन्ड्रोइड फोनको ब्याट्री जोगाउने तरिका

टेकपाना टेकपाना

जेठ ७, २०८२ १६:३१

पुरानो एन्ड्रोइड फोनको ब्याट्री जोगाउने तरिका

काठमाडौँ । फोन पुरानो हुने बित्तिकै नयाँ किन्ने विकल्प सबैको नहुन सक्छ । यदि तपाईं एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ र तपाईंको फोन केही वर्ष पुरानो भइसकेको छ भने पक्कै पनि यसका फिचर वा क्यामेरा सेटिङहरू तपाईंलाई चित्त नबुझेको हुन सक्छ । एन्ड्रोइड फोनहरूमा लामो समयसम्मका लागि सफ्टवेयर अपडेट आइरहने हुँदा पनि एन्ड्रोइड पुरानो भयो भन्दैमा पछुताउनु पर्ने स्थिति छैन ।

तर पुरानो फोन हो पक्कै पनि केही न केही समस्या भने आइरहन्छन् । यदि तपाईंको एन्ड्रोइड फोन पुरानो भएको छ र ब्याट्रीले समस्या दिइरहेको छ भने केही यस्ता सेटिङहरू छन्, जसलाई तपाईंले परिवर्तन गरेर आफ्नो फोनलाई स्मुथ रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

तर ध्यान दिनुपर्ने कुरा भनेको एन्ड्रोइड ओएस नै भए पनि फरक-फरक फोनमा सेटिङका अप्सनहरू फरक-फरक हुन सक्छन् । यहाँ सामान्य सबैलाई प्रयोग हुने खालको सेटिङ उपलब्ध गराइएको छ । तपाईंले आफ्नो फोनमा भएको प्लेसमेन्ट अनुसार सेटिङ परिवर्तन गर्न सक्नुहुन्छ ।

१. अटो स्क्रिन ब्राइटनेस वा एडाप्टिभ ब्राइटनेस

अटो स्क्रिन ब्राइटनेस (Auto Brightness) वा एडाप्टिभ ब्राइटनेस (Adaptive Brightness) बन्द गर्नुहोस् र ब्राइटनेस स्लाइडर ५० प्रतिशतभन्दा तल राख्नुहोस् । स्क्रिन जति उज्यालो हुन्छ, ब्याट्री खपत पनि त्यति नै धेरै हुन्छ । यो फिचर इनेबल गर्नको लागि स्क्रिनको माथिबाट सर्टकट मेनु तलतिर स्वाइप गरेर तान्नुहोस् ।

त्यहाँ भएको ब्राइटनेसको आइकनमा भएको स्लाइडरलाई तल/माथि गरेर ब्राइटनेस कम गर्ने वा बढाउने गर्न सकिन्छ । केही फोनमा अटो ब्राइटनेसको टगल त्यही मेनुमा हुन्छ । यदि तपाईंको फोनमा छैन भने मोबाइलको सेटिङ्स एपमा गई ब्राइटनेस अप्सनमा ट्याप गरेर अटो ब्राइटनेस इनेबल गर्न सक्नुहुन्छ ।

२. अडाप्टिभ ब्याट्री र ब्याट्री अप्टिमाइजेसन

अडाप्टिभ ब्याट्री (Adaptive Battery) र ब्याट्री अप्टिमाइजेसन (Battery Optimization) प्रयोग गर्नुहोस् । यी फिचरहरूले तपाईंको फोन प्रयोग गर्ने बानीलाई आधार बनाएर, कुन एप कहिले प्रयोग हुन्छ भन्ने विश्लेषण गर्छ र ती एपहरूको ब्याट्री खपत कम गराउने काम गर्छ । केही एन्ड्रोइड फोनहरूमा 'Battery' भनेर सेटिङमा छुट्टै सेक्सन हुन्छ, तर सामसङ लगायत केही फोनहरूमा यी सेटिङहरू खोज्न अलिक समय लाग्छ ।

त्यसैले तपाईंले 'battery' भनेर सेटिङ्समा सर्च गर्नु नै उचित हुन सक्छ । तपाईंको फोनमा “adaptive charging” भन्ने फिचर पनि हुन सक्छ, जसले रातभर चार्ज गर्दा ब्याट्रीको दीर्घकालीन स्वास्थ्य जोगाउने काम गर्छ । यो नभएको खण्डमा भने 'Battery' अप्सनमा गएर अडाप्टिभ ब्याट्री र ब्याट्री अप्टिमाइजेसनलाई इनेबल गर्न सक्नुहुन्छ ।

३. डार्क मोड

फोनको ब्याट्री जोगाउने अर्को उपाय हो, डार्क मोड । ब्याट्री लाइफ साथै आँखाको स्वास्थ्यका लागि पनि डार्क मोड प्रयोग गर्नु उचित हुन्छ । तपाईंले एन्ड्रोइडमा उपलब्ध डेडिकेटेड डार्क मोड प्रयोग गर्न सक्नुहुन्छ । एन्ड्रोइड १० वा सोभन्दा माथिको अपडेट भएको सबै फोनमा यो फिचर उपलब्ध छ । गुगलका अनुसार, डार्क मोडले फोनको स्क्रिनले आँखामा पार्ने तनाव कम गर्छ, र ओलेड (OLED) डिस्प्ले भएका (धेरैजसो फ्ल्यागशिप फोनहरूमा प्रयोग हुने) फोनमा डार्क पृष्ठभूमि देखाउन सेतोभन्दा कम ऊर्जा खपत हुन्छ, जसले ब्याट्री बचत गर्न सहयोग गर्छ ।

डार्क मोड तपाईंको एन्ड्रोइड भर्सन अनुसार र फोन निर्माता कम्पनी अनुसार पनि फरक पर्न सक्छ । सामान्यतया डार्क मोड इनेबल गर्न सेटिङमा गएर डार्क मोड, डार्क थिम वा नाइट मोड भन्ने अप्सनलाई इनेबल गरे पुग्छ । केही फोनमा डार्क मोड टाइमरमा राख्ने अप्सन पनि हुन्छ । आफ्नो अनुकूलता अनुसार यो फिचर पनि प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ ७, २०८२ १७:८