close

फोन नै नलाग्ने एबीसीमा कसरी पुग्यो काठमाडौंकै जत्तिको स्पिडमा चल्ने फाइबर इन्टरनेट ?

गोपाल साउद गोपाल साउद

बैशाख ७, २०८१ १३:२४

फोन नै नलाग्ने एबीसीमा कसरी पुग्यो काठमाडौंकै जत्तिको स्पिडमा चल्ने फाइबर इन्टरनेट ?

काठमाडौं । आजभन्दा छ/सात वर्षको अघिको समय हो । वर्ल्डलिंकका संस्थापक तथा प्रबन्ध निर्देशक दीलिप अग्रवाल ट्रेकिङका लागि अन्नपूर्ण बेस क्याम्प (एबीसी) गएका थिए । अन्तर्राष्ट्रिय पर्यटकले भरिभराउ हुने नेपालकै प्रमुख उक्त ट्रेकिङ रुटमा अत्यावश्यकीय सञ्चार सुविधा उपलब्ध गराउने हिसाबले उनको कम्पनीले पहिले नै सामाजिक अभियन्ता महावीर पुनसँग मिलेर वायरलेस इन्टरनेट पुर्‍याएको थियो ।

तर दिलीप पुग्दा इन्टरनेट भने चलिरहेको थिएन । त्यो देखेपछि के समस्या आएको रहेछ भनेर उनले आफैं चेकजाँच गरे । वायरलेस इन्टनरेट सिग्नल स्विचहुँदै राउटरमा पठाउने तार गलत ठाउँमा जोडिएको रहेछ । त्यसलाई सही ठाउँमा जोडिदिएपछि एकछिनमै इन्टरनेट चल्न थाल्यो । 

विकट हिमाली भेगमा इन्टरनेट चलेपछि विदेशी तथा स्वदेशी पर्यटक र स्थानीय खुसीले दङ्ग परे, मोबाइलमा अडिओ-भिडिओ कल गर्न थाले । त्यो देखेर दिलीपले स्वदेशी र विदेशी पदयात्रीको ओइरो लागिरहने ट्रेकिङ रुटमा राम्रो गुणस्तरको इन्टरनेट पुर्‍याउन पाए हुन्थ्यो भन्ने योजना बुन्न थाले ।

“इन्टरनेट पुर्‍याउन सके त्यहाँ पुग्ने पर्यटकले सामाजिक सञ्जाल चलाउने थिए । त्यहाँका रमणीय स्थानका फोटो भिडिओ त्यहींबाटै राख्न पाउने थिए । यसरी देशविदेशमा प्रचार प्रसार भएर थप पर्यटक आउने र त्यहाँका होटेलहरूको व्यवसाय पनि बढ्छ भन्ने लाग्यो,” उनी सम्झिन्छन् । त्यसो त स्थानीय होटेल व्यवसायीहरूले समेत लामो समयदेखि सो स्थानमा मोबाइल तथा इन्टरनेट सञ्चारको माग गर्दै आइरहेका थिए ।

 

000

 

वर्षौं पहिले वायरलेस इन्टरनेट समेत नहुँदा पनि एबीसी पदयात्रीहरूको पहिलो रोजाईकै गन्तव्य हुने गर्थ्यो । सुरुवाती दिनहरूमा पदयात्रामा जाने पर्यटकको बुकिङका लागि खबर लिएर शेर्पा युवक दगुर्दै माथिका होटेलसम्म पुग्ने गर्थे । नेपाली र एफआईटी (पूर्णतः स्वतन्त्र पर्यटक) अर्थात् सहयोगी नलिई हिंड्ने पर्यटकले भने यसरी बुकिङ गराउँदैन थे र जथाभाबी हिन्ने भएकाले दुःख पाउँथे ।

छोम्रोङमा होटेल व्यवसाय गर्ने राजकुमारका अनुसार त्यसपछि पनि अगाडि पुग्ने समूह वा गाइडले पछिल्लो समूहको सूची लगेर पुर्‍याइदिन्थे, जसले गर्दा समूहमा हिंड्ने पर्यटकले भने खासै दुःख पाउँदैन थे । ट्रेकिङ रुटमा पर्ने झिनो, छोम्रोङ, सिनुवाहुँदै अपर सिनुवासम्म पातलो मानव बस्ती भए पनि त्यसभन्दा माथि भने पर्यटकलाई लक्षित गर्दै खोलिएका केही होटेलहरू मात्र छन् । 

 

000

 

मानव वस्ती थोरै पातलो भएको र होटेल व्यवसाय गर्नेहरू पनि सीमित सङ्ख्यामा रहेकाले इन्टरनेट तथा टेलिफोन सेवा पुर्‍याउन लगानी धेरै लाग्ने, तर सो अनुरूपको आम्दानी नहुने चुनौती नहुने कुरै थिएन । तथापि आफ्नो कम्पनीको व्यावसायिक नाफा घाटा नहेरी दिलीपले एबीसीसम्म नै आधुनिक प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा पुर्‍याउने निधो गरे ।

पाथिचौर, डिमुवासम्म कम्पनीको ट्रङ्कलिंक पुगेको थियो । एबीसीसम्म एफटीटीएच पुर्‍याउने योजना अनुरूप उक्त ट्रङ्कलिंकलाई फागुन २०७६ मा घान्द्रुकसम्म विस्तार गरियो । तर लगत्तै कोभिड महामारी सुरु भयो । लकडाउन लागु भएपछि केही समय इन्टरनेट विस्तारको परियोजना रोकियो । माघ २०७७ मा छोम्रोङसम्म पुगेको इन्टरनेट सेवा पावर व्यवस्थापन नहुँदा त्यसभन्दा माथि लैजान मुस्किल भयो । 

 

एबीसी ४,१०० मिटरको उचाईमा छ । त्यत्तिको हाई अल्टिच्युडमा अप्टिकल फाइबरका लागि पावर लैजान कठिन थियो । त्यतिको उचाईमा फाइबर इन्टरनेट पुर्‍याएको अनुभव नेपालमा मात्र नभएर भारत र चीनमा पनि कसैसँग थिएन ।

गण्डकीका लागि कम्पनीका प्रोजेक्ट म्यानेर विरेन्द्र थापाका अनुसार १० मंसिर २०७९ मा पावर व्यवस्थापन गरेर छोम्रोङमा अप्टिकल लाइन टर्मिनल (ओएलटी) स्थापना भयो । र, अन्ततः ३ चैत २०७९ मा एबीसीसम्मको पदमार्ग क्षेत्र एफटीटीएच इन्टरनेट सञ्जालमा जोडियो । 

 

000

 

एबीसी पदमार्ग अन्नपूर्ण संरक्षित क्षेत्रअन्तर्गत पर्छ । जसले इन्टरनेटको फाइबर केबुल लैजान आवश्यक पोलहरू खडा गर्दा प्राकृतिक सौन्दर्यता बिग्रिने जोखिम हुने र त्यसको अनुमति पनि नमिल्ने । त्यसमाथि हाई अल्टिच्युडका कारण अत्यन्त न्यूनतम तापक्रम अर्को चुनौती भइदियो ।

यस्तोमा प्रायः स्थानमा तारलाई जमिन मुनीबाट लगिएको छ । चट्टानी ठाउँहरूमा तार जमिन मुनी गाड्न पनि सम्भव नभएको थापाले सुनाए । कुनै उपाय नलागेको पदमार्ग अन्तर्गतको कूल २५ प्रतिशत जतिको दुरीमा रुखहरूमा टाँगेर र भुईंमा लतारेरै भए पनि फाइबर उच्च हिमाली क्षेत्रसम्म पुर्‍याइएको छ । 

अन्नपूर्ण संरक्षित क्षेत्रको नियम अनुसार रुखका जरा काटिने जोखिम भएकाले जमिन खन्न पनि पाइँदैन । जसले गर्दा सो क्षेत्रमा अस्थायी व्यवस्थापनको रूपमा तारलाई रुखमा टाँगेर लैजानु परेको थापाले सुनाए ।

यसरी वर्ल्डलिंकले आफ्नै लगानीमा एबीसीसम्म पुग्ने ट्रेकिङ रुट अन्तर्गतका सबै होटेलहरूमा काठमाडौं-पोखरामा चल्ने जत्तिकै गतिलो फाइबर इन्टरनेट पुर्‍याएको छ । जब कि अहिले पनि त्यहाँका अधिकांश स्थानमा मोबाइल फोनले समेत काम गर्दैन । 

एबीसीसँगै कम्पनीले टाडापानी, छोम्रोङ र घान्द्रुकमा फाइबर इन्टरनेट विस्तार गर्न करिब एक करोड २४ लाख रुपैयाँ लगानी गरेको छ । जसमध्ये घान्द्रुकको वडा कार्यालयसम्म नेपाल दूरसञ्चार प्राधिकरणको अनुदान परियोजनामा समेटिएको भए पनि त्यस बाहेकको इन्टरनेट पूर्वाधार कम्पनीले आफ्नै लगानीमा तयार पारेको थापाले बताए ।

“ब्यान्डविथको क्षमता नपुग्ने भएपछि हामीले वर्ल्डलिंकको आफ्नै लगानीमा डिमुवादेखिकै ट्रङ्क लिंक बनाएका हौं,” उनले भने, “पहिले छोम्रोङसम्म छ कोरको फाइबर रहेकोमा त्यसलाई पनि फेरेर १२ कोरको राखेका छौं ।”

एबीसीमा वर्ल्डलिंकले फाइबर इन्टरनेट पुर्‍याएको भर्खरै एक वर्ष पूरा भएको छ । बीचको समयमा एक पटक हिम पहिरोले तार थिचिँदा इन्टरनेट केही स्लो भए पनि अहिलेसम्म पूर्णतः सम्पर्क विच्छेद भने भएको छैन । 

स्थानीय क्षेत्रमा इन्टरनेटको समस्या आएको खण्डमा समाधान गर्नका लागि कम्पनीले छोम्रोङमा एक जना कर्मचारी राखेको छ । थापाका अनुसार अपर सिनुवा माथि बाम्बो, दोभान, देउराली, एमबीसी र एबीसीमा गरी कूल ३२ ओटा होटेल सञ्चालनमा छन् ।

उक्त क्षेत्रमा तिनै होटेल नै वर्ल्डलिंकका ग्राहक हुन् ।  ग्राहक आधार थोरै निकै थोरै छ । यसबाट इन्टरनेट पुर्‍याउँदा पूर्वाधार र मर्मत सम्भारमा लागेको लगानी उठ्ने तथा त्यसबाट मुनाफा हुने अवस्था भने छैन । त्यहाँका होटेल व्यवसायहरूलाई लगभग काठमाडौं-पोखरा सरहकै मूल्यमा आफूहरूले इन्टरनेट प्याकेज उपलब्ध गराइएको थापाले बताए । 

यसलाई व्यवसायको हिसाबले मात्र नहेरौं भनेर आफूहरूले ग्रामीण र दुर्गम क्षेत्रसहित देशव्यापी रूपमा उच्च गतिको इन्टरनेट विस्तार गर्ने लक्ष्य अनुरूप यो परियोजना अगाडि बढेको वर्ल्डलिंकका क्षेत्रीय प्रबन्धक युशफ श्रेष्ठ बताउँछन् ।


 

जब वायरलेस इन्टरनेट नचलेपछि विदेशी पर्यटकले पैसा फिर्ता मागेपछि

फाइबर इन्टरनेट पुग्नु अघि पदमार्ग आसपासका होटेलहरूमा वायरलेस इन्टरनेट जडान गरिएको थियो । पोखराबाट माथिको डाँडा-छोम्रोङ-देउराली-एमबीसी-एबीसीको लागि १५/१६ वर्ष अघि नै वायरलेस नेटवर्क विस्तार गरिएको थियो । जुन महावीर पुनको पहलमा सम्पन्न गरिएको परियोजना थियो ।

तर २५६ केबीपीएस गतिको उक्त इन्टरनेट नचल्दा पर्यटकीय क्षेत्रमा आफूहरूलाई गाह्रो भएको अनुभव छोम्रोङ गेस्ट हाउसका सञ्चालक राजकुमारले भोगेका छन् । “त्यतिखेर हामीले केही शुल्क लिएर पर्यटकलाई इन्टरनेट चलाउन दिने गर्थ्यौं,” उनी भन्छन्, “तर इन्टरनेट नचलेपछि पर्यटकले पैसा नै फिर्ता मागेका थिए । अहिले फाइबर इन्टरनेट आएपछि भने नचल्ने समस्या खासै आएको छैन ।” 

इन्टरनेट पुगेसँगै बढ्यो पर्यटकले गर्ने खर्च

छोम्रोङबाट चार पाँच घण्टाको पैदल दुरीमा छ, दोभान । फाइबर इन्टरनेट जडान भइसकेपछि अहिलेसम्म माथिल्लो भेगमा समेत खासै समस्या नदेखिएको दोभानमा होटेल व्यवसाय सञ्चालन गरिरहेका छुतमान गुरुङ्गको अनुभव छ । तर केही गरी उक्त क्षेत्रमा इन्टरनेटमा सानोतिना समस्या आए तत्कालै आफैंले समाधान गर्न सकिने आधारभूत तालिम पनि उनले लिएका छन् ।

“मैले भ्याउनेसम्मका स्थानमा आफैं गएर समस्या समाधान गरिरहेको हुन्छु,” उनी भन्छन्, “खासगरी माथिबाट हिउँसँगै खस्ने ढुङ्गाहरूले कहिले काहिं तार चुँडिने किसिमका समस्या आउँछन् । यसका लागि हामीले कम्पनीसँग अतिरिक्त तार मागेर राखेका छौं । दश मिनेटमा आफैं समाधान गर्न सकिने कामका लागि दश घण्टा किन कुर्ने भनेर त्यस्तो अवस्थामा हामी आफैं खटिने गरेका हौं ।”

दोभानमा कुनैकुनै बेला मुस्किलले नेपाल टेलिकमको नेटवर्क आउँछ, त्यसका लागि पनि मोबाइल झ्यालमा वा अलि अग्लो र खुला ठाउँमा राख्नु पर्ने हुन्छ । फोन नै नटिप्ने ठाउँमा वर्ल्डलिंकले सहर बजारको जस्तो फाइबर इन्टरनेट पुर्‍याइदिएको भन्दै छुतमान कम्पनी प्रति निकै आभारी सुनिन्छन् ।

“एबीसी र एमबीसीमा मात्र नभएर बिचबिचमा अन्य थुप्रै ठाउँमा फोन लाग्दैन, बाम्बोमै पनि राम्रोसँग फोन टिप्दैन,” उनी भन्छन्, “पहिले कुनै ठाउँमा अचानक अप्रिय घटना घट्यो भने कसैलाई थाहा नहुने अवस्था थियो । तर अहिले इन्टरनेट आएपछि भने त्यस्ता समस्यामा मात्र नभएर बुकिङ लिन पनि सजिलो भएको छ । खबर नपाउँदा पाहुनाहरूको व्यवस्थापन गर्न अप्ठेरो हुने गर्थ्यो । अहिले त सिनुवाबाटै बुकिङको लागि सोध्ने गर्नुहुन्छ ।”

इन्टरनेट सञ्जालले पदयात्री र स्थानीय व्यवसायीको सञ्चारमा मात्रै सहजता ल्याएको छैन, सँगसँगै त्यसबाट उक्त क्षेत्रमा व्यापार व्यवसाय समेत बढाउन भूमिका खेलेको छ । पहिले पहिले कुनै एक जना पर्यटकले खिचेर लगेको भिडिओ तथा फोटो देखेर अन्य पर्यटक आउने गर्थे । 

त्यसरी खिचेर लगेको भिडिओ-फोटो ठाउँसम्म पुग्ला नपुग्ला, बीचमै हराउला कि भन्ने सम्भावना पनि हुन्थ्यो । रिल भएका क्यामेराको क्षमता पनि थोरै मात्र हुन्थ्यो । तर अहिले पदमार्ग अन्तर्गत ठाउँठाउँमा उच्च गतिको इन्टरनेट सुविधाले गर्दा पर्यटकले जहाँको तहींबाट फोटो भिडिओ राख्न सम्भव भएको छ । 

हातहातमा मोबाइल हुने भएपछि एक जना पर्यटकका कारण पर्यटकीय क्षेत्रको सुन्दरता अन्य दश जनाले सजिलै थाहा पाउन सम्भव बनाएको गुरुङ्गको अनुभव छ । विदेशी पर्यटकबाट इन्टरनेटका लागि न्यूनतम शुल्क समेत उठाउने गरिएको छ ।

“यहाँ आएर इन्टरनेट चलाउन खोज्ने पर्यटकमा एसियाली बढी हुन्छन्, तर युरोपियन र अमेरिकीहरूले भने खासै चाँसो देखाउँदैनन्,” उनी भन्छन्, “सायद गोपनीयता र इन्टरनेट तथा सञ्चारबाट टाढा रहेर एकान्तको आनन्द लिन पनि उनीहरूले इन्टरनेट नखोजेका हुन सक्छन् ।”

इन्टरनेट सेवा पुगेसँगै अन्नपूर्ण पदयात्रा अन्तर्गत पर्ने सबैजसो होटेलमा क्यूआर कोड भुक्तानीदेखि कतिपयसँग कार्ड भुक्तानी (पस) को सुविधा पनि छ । यसले गर्दा नगदै बोक्नुपर्ने झन्झट छैन । पैसा सकिए वा बढी खर्च गर्न चाहे आफन्तसँग तत्काली सरसापट लिन वा आफ्नो बैंक खाताबाट सोझै भुक्तानी गर्ने विकल्प यसले दिएको छ ।

त्यसो त पद यात्रामा जाने बढीजसो पर्यटक सीमित बजेटमा हिंड्ने व्यवसायीहरूको अनुभव छ । तर डिजिटल भुक्तानीका विकल्पले पर्यटकलाई त्यस्तो बजेटको सीमिततामा खुम्चिनु पर्ने बाध्यता दूर गरिदिएको छ र उनीहरूले खर्च गर्ने रकम समेत बढेको छ । 

श्रेष्ठका अनुसार वर्ल्डलिंकले २०७५/७६ मा गण्डकी प्रदेशका सबै गाउँपालिकालाई समेट्ने गरी प्राधिकरण अन्तर्गत एउटा ब्रोडब्यान्ड इन्टरनेट परियोजना सम्पन्न गरेको थियो । तर उक्त परियोजनामा घान्द्रुक, छोम्रोङदेखि माथि अन्नपूर्ण बेस क्याम्पसम्मको भाग भने समेटिएको थिएनन् । 

सबैभन्दा उचाईको क्षेत्रमा एफटीटीएच नेटवर्क पुगेको स्थान एबीसी नै भएको उनको दाबी छ । “त्यसो त हामीले फाइबर इन्टरनेट पुर्‍याएको सबैभन्दा उचाईको स्थान ४,४०० मिटर उचाईमा रहेको मनास्लु धर्मशाला हो । तर त्यहाँ वाईफाई मात्र छोडिएको छ । त्यहाँ यसरी नेटवर्क पुर्‍याएर ग्राहकलाई वितरण भने गरिएको छैन,” उनले भने ।

थापाका अनुसार गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा र पर्वतको सबैजसो गाउँपालिकामा वर्ल्डलिंकको फाइबर इन्टरनेट पुगिसकेको छ । “त्यो अनुभवले गर्दा हामीलाई ग्रामीण र दुर्गम क्षेत्रमा काम गर्न एकदमै सहज भएको छ,” उनले भने ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८१ ५:५१