काठमाडौं । नेपालीहरूलाई लक्षित गरी मेरो जब लिमिटेड र गुगल एलएलसीको सहकार्यमा गुगल करिअर सर्टिफिकेट छात्रवृत्ति कार्यक्रम सुरु भएको छ । प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्न आवश्यक कौशल सहित विश्वव्यापी दक्षता प्रदान गर्ने उद्देश्यले आईटी र प्रविधि क्षेत्रमा रुचि भएका व्यक्तीलाई लक्षित गर्दै यो कार्यक्रम ल्याइएको हो ।
यो पहलले नेपालीलाई उनीहरूको दक्षता र योग्यताहरू विशेषगरी गतिशील सूचना प्रविधि क्षेत्रहरूमा अगाडि बढाउन मद्दत गर्ने बताइएको छ । यस कार्यक्रममा पाँच सय आवेदकहरूलाई गुगल भेरिफाइड करियर सर्टिफिकेट पाठ्यक्रमहरूमा छ महिनाको विस्तृत अनलाइन प्रशिक्षणको लागि छात्रवृत्ति प्रदान गर्ने योजना छ।
सँगै आर्थिक पत्रकारलाई समेत उक्त कार्यक्रममा सहभागिता गराउन मेरो जबले सेजनसँग समेत सहकार्य गरेको छ । सेजन अध्यक्ष सुजन ओली र मेरो जब लिमिटेडका प्रवन्ध निर्देशक शैलेन्द्रराज गिरिले सोमबार सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अनलाइन माध्यमबाट सञ्चालन हुने तालिम कार्यक्रम कुल छ ओटा विषयवस्तुमा केन्द्रित हुनेछ । जसमा आईटी सपोर्ट, डेटा एनालिटिक्स, प्रोजेक्ट मेनेजमेन्ट, युजर एक्सपिरियन्स (यूएक्स) डिजाइन, डिजिटल मार्केटिङ र साइबर सुरक्षा जस्ता क्षेत्रहरू समेटिएको छ । त्यस्तै यी क्षेत्रहरूमा आवश्यक प्राविधिक सीप र ज्ञानमा तालिम केन्द्रित हुने आयोजकको भनाइ छ ।
छात्रवृत्ति कार्यक्रममा छनोट हुनेले छ महिना अवधिको पाठ्यक्रम र त्यसमा लिइने परीक्षा तथा मूल्याङ्कनमा उत्तीर्ण भएपछि प्रमाणपत्र प्राप्त गर्नेछन् । यो प्रमाणपत्र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त हुने प्रबन्ध निर्देशक गिरिले जानकारी दिए । गुगलबाट पहिलो पटक यस प्रकारको कार्यक्रम नेपालमा सञ्चालन हुन लागेको हो । सेजन अध्यक्ष सुजन ओलीले गुगलबाट प्रदान गरिने यस किसिमको छात्रवृत्ति कार्यक्रममा आफ्नो संस्थालाई आबद्ध हुने अवसर प्रदान गरेकोमा आभार व्यक्त गरे ।
यस कार्यक्रममा सहभागी प्रशिक्षार्थीले छात्रवृत्ति कार्यक्रम अन्तर्गत अनलाइनबाट सञ्चालन हुने तालिममा नियमित सहभागी हुनुपर्ने छ । साथमा पाठ्यक्रम अन्तर्गत लिइने परीक्षा, सामूहिक छलफल र अन्तरक्रियामा भाग लिनुपर्छ । त्यसरी नियमित सहभागी नहुने भएमा त्यस्ता प्रशिक्षार्थीलाई कार्यक्रमको बीचबाटै निस्काइन समेत हुन सक्ने प्रबन्ध निर्देशक गिरीले जानकारी दिए । उनका अनुसार गुगलबाट आउने कन्टेन्टलाई नेपाली परिवेश सुहाउँदो बनाउन बीच बीचमा कम्पनीले नेपाली विज्ञबाट समेत वेबिनार गराउने योजना बनाएको छ । छनोटका लागि निश्चित मापदण्डहरू छन् र तोकेका सर्त पूरा गर्नेलाई तोकिएको कोटा भित्रबाट छनोट गरिने छ ।
अङ्ग्रेजी पढ्न र लेख्न सक्नेले यस कार्यक्रममा भाग लिन सक्नेछन् । प्रशिक्षार्थीसँग ल्यापटप वा कम्प्युटर र इन्टरनेट हुनुपर्ने आधारभूत सर्त तोकिएको छ । छनोट गर्दा प्रारम्भमै एक फारम भर्नुपर्ने र त्यसमा एआई वा अन्य माध्यमबाट ट्रान्सलेट नगरी फारममा सोधिएका प्रश्नको उत्तर दिनुपर्ने सर्त समेत राखिएको छ । आर्थिक रूपमा पिछडिएको वर्ग वा सीमान्तकृत समूहका आवेदकहरूलाई प्राथमिकता दिइने प्रबन्ध निर्देशक गिरिले जानकारी दिए । आवेदन दिनका लागि यहाँ क्लिक गर्न सकिनेछ ।