close

तपाईंले किन प्रयोग गर्ने डार्क मोड ?

टेकपाना टेकपाना

जेठ ५, २०८१ २०:२१

तपाईंले किन प्रयोग गर्ने डार्क मोड ?

काठमाडौं । पछिल्लो समय अधिकांश वेब तथा मोबाइल एपमा डार्क मोड उपलब्ध हुन थालेको छ । कतिपय एप्लिकेसनले त डार्क मोडलाई डिफल्ट नै बनाएका हुन्छन् । कतिपयले भने यसलाई विकल्पमा राखेका हुन्छन् । 

सामान्य अर्थमा भन्नुपर्दा डार्क मोड त्यस्तो मोड हो, जसले सेतो ब्याकग्राउन्डलाई परिवर्तन गरेर कालो (डिम अथवा मधुरो) बनाउँछ । तपाईंलाई ब्याकग्राउन्ड सेतोबाट कालो बनाउँदैमा के फाइदा हुन्छ भन्ने लाग्न सक्छ । तर, यसका कैयौं फाइदा छन्, जसको जानकारी तपाईंलाई नहुन सक्छ । आज हामी डार्क मोडका फाइदा के के छन् भन्ने विषयमा चर्चा गर्दैछौं: 

डार्क मोड के हो ? 

डार्क मोड एउटा यस्तो कलर स्किम हो, जसले अन्धकार ब्याकग्राउन्डमा लाइट कलरको शब्द, आइकन र युजर इन्टरफेस इलिमेन्ट्स राखिदिन्छ । यो धेरै एप र अपरेटिङ सिस्टममा हुने चर्चित मध्येको एक फिचर हो । 

प्रयोगकर्ताले यसलाई आफ्नो आवश्यकता अनुसार सेटिङमा गएर अन/अफ गर्न सक्छन् । कतिपय एपले त झन् दिउँसोको समयमा लाइट मोड र रातिको समयमा डार्क मोड स्वतः अन हुने बनाएका हुन्छन् । 

निन्द्रा बिगार्ने ब्लु लाटइलाई डार्क मोडले कम गर्छ 

जब तपाईंले कम्प्युटर वा फोनमा डार्क मोड अन गर्नुहुन्छ, तपाईंको मस्तिष्कले प्राकृतिक रूपमै बढी मेलाटाेनिन उत्पादन गर्छ । मेलाटाेनिन यस्तो तत्त्व हो, जसले मष्तिष्कलाई निन्द्रा लगाउँछ । यसको यथेष्ट प्रमाण नभेटिए पनि अनुसन्धानकर्ताले के निष्कर्ष निकालेका छन् भने रातको समयमा पनि प्रकाश (लाइटको एक्सपोजर) रह्यो भने मोटोपन, मुटु सम्बन्धी रोग र डायबिटिजको जोखिम उच्च हुन्छ । 

अन्य किसिमको प्रकाशभन्दा स्क्रिनबाट निस्किने ब्लु लाइटले मेलाटाेनिन सेक्रेसनलाई बिगार्छ । प्रायः सबै कम्प्युटर र स्मार्टफोनको स्क्रिनले आँखामा ब्लु लाइट नै चार्छ । हार्वार्ड विश्ववुद्यालयका अनुसन्धानकर्ताले तयार पारेको अनुसन्धानले के देखाएको थियो भने अन्य प्रकाशको तुलनामा ब्लु लाइटले मेलाटाेनिनलाई दुई गुणाले घटाउँछ । 

हार्वार्डको सो अध्ययनका अनुसार मानिसले ओछ्यानमा जानुभन्दा तीन घण्टा अघि नै ब्राइट लाइट (चम्किलो प्रकाश) बाट टाढा हुनुपर्छ । अधिकांश मानिसहरूले बिस्तरामा जानुअघि अनिवार्य रूपमा फोन प्रयोग गर्ने भएकाले अनुसन्धानकर्ताले त्यस्तो सुझाव दिएका हुन् । 

फोनमा हुने नाइट मोड वा डार्क मोडले स्टान्डर्ड डिस्प्ले सेटिङको तुलनामा कम ब्लु लाइट उत्पादन गर्छ । हुन त ओछ्यानमा गइसकेपछि तपाईंले कुनै किसिमको स्क्रिन प्रयोग नगर्नु भनिएको हुन्छ । यद्यपि त्यसरी फोन नै प्रयोग नगरी बस्न नसक्नेले भने आफ्नो निन्द्रा वा सुताइ नबिगार्न स्टान्डर्ड स्क्रिन मोडभन्दा डार्क मोड प्रयोग गर्न सक्छन् ।

जति स्क्रिनटाइम बढ्छ, आँखालाई त्यति नै आराम चाहिन्छ !

केही सीमित एप वा वेबसाइट त्यो पनि केही क्षणलाई मात्र हेर्ने मानिसहरूका लागि डार्क मोडका त्यति फाइदा छैनन् । अध्ययनले के देखाएको छ भने मान्छेले स्क्रिनमा केन्द्रित गरेर बिताउने समय दिनानुदिन बढ्दै बढ्दै गइरहेको हुन्छ । हो, यसरी दिनानुदिन स्क्रिनटाइम (तपाईंले स्क्रिनमा बिताउने समय) बढ्दै गइरहँदा तपाईंको स्वास्थ्यमा नकारात्मक असरहरू देखिन थाल्छन् ।

फोनको अपरेटिङ सिस्टम, त्यसमा प्रयोग गर्न सकिने एपहरू नै प्रयोगकर्ताको ध्यान सो एपबाहेक अन्त कतै नजाओस् भन्ने किसिमले विकास गरेका हुन्छन् । त्यसैले पनि हामीले फोन प्रयोग गर्ने बानी विकास गर्‍यौं भने स्क्रिनटाइम तीव्र गतिमा बढ्दै गइरहेको हुन्छ । 

औसतमा मान्छेले प्रतिदिन ५८ पटक फोन छुने गरेको रेस्क्यु टाइमले उल्लेख गरेको छ । त्यसमध्ये मान्छेले निम्नानुसार फोनमा अन्तर्क्रिया गर्छ: 

  • ७० प्रतिशत सेसन दुई मिनेटभन्दा पनि कम हुन्छ । अर्थात् ५८ पटकको ७० प्रतिशत फोन छुँदा मान्छेले दुई मिनेटभन्दा कम मात्रा फोन प्रयोग गर्छ । 

  • २५ प्रतिशत सेसन दुई देखि १० मिनेटसम्मको रहन्छ । 

  • बाँकी ५ प्रतिशत सेसन १० मिनेटभन्दा बढी समयसम्म टिक्छ । अर्थात् ५८ पटकको ५ प्रतिशत मात्र मान्छेले फोन १० मिनेटभन्दा बढी प्रयोग गर्छ । 

यसरी औसतमा ५८ पटकसम्म फोन छुँदा मान्छेले तीन घण्टा १५ मिनेटको समय स्क्रिनमा बिताउँछ । 

यो काम गर्ने दिनमा औसत मान्छेले प्रयोग गर्ने फोनका सन्दर्भमा मात्र हो । तर, अहिले काममा कम्प्युटर पनि उत्तिकै प्रयोग हुन्छ । औसतमा एक जनाको साढे छ घण्टा समय कम्प्युटरमा बितेको हुन्छ भने तीन घण्टा १५ मिनेट फोनमा बितेको हुन्छ । 

यसरी दैनिक नौ घण्टाभन्दा बढी निरन्तर ब्लु लाइट आँखामा पर्दा त्यसले आँखालाई पक्कै पनि क्षति गर्छ । यही प्रक्रिया दिनानुदिन दोहोरी रहने हो भने त्यसले पार्ने क्षति अझ बढी हुन्छ । तर, त्यतिका समयसम्म डार्क मोड प्रयोग गरियो भन्ने पक्कै पनि ब्लु लाइटको एक्सपोजर कम हुन्छ र आँखामा त्यसले पार्ने प्रभाव कम हुन्छ । 

डार्क मोडले ब्याट्री जोगाउँछ 

स्मार्टफोन र ल्यापटपको ब्याट्री जति बढी भयो वा टिकाउ भयो उपभोक्तालाई त्यो नै मन पर्छ । त्यसैले धेरै टिक्ने डिभाइसलाई ग्राहकले राम्रै मूल्य तिरेर खरिद गरेका हुन्छन् । तर, ब्याट्री कति टिक्छ भन्ने कुरा सधैं त्यसको क्षमतामा मात्र निर्भर हुँदैन ।

ब्याट्री कति समयसम्म टिकाउने भन्ने कन्ट्रोल प्रयोगकर्ताकै हातमा हुन्छ । तपाईंले ख्याल गर्नु भएकै होला, ‘अल्ट्रा ब्याट्री सेभिङ मोड’ अन गर्दा स्क्रिन डार्क हुन्छ । हो, डार्क स्क्रिनले ब्याट्री कम खपत गर्छ । 

माशेबलले गरेको तुलनामा डार्क मोड अन गरेर आईफोनमा भिडिओ प्रयोग गर्दा २० घण्टा ब्याट्री टिकेको थियो । तर, लाइट मोड अन गर्दा ब्याट्री जम्मा १५ घण्टा टिकेको थियो । अर्थात् डार्क मोडले ब्याट्री लाइफ ३३ प्रतिशतले बढाएको थियो । 

डार्क मोडमा बढी डिजाइन अप्सन हुन्छन्

डेभलपरले आफ्नो प्रडक्टमा डार्क मोडका लागि बढी अप्सन दिएका हुन्छन् । लाइट मोडमा कतिपय कलर अप्सन देखिन गाह्रो पनि हुन्छ । वर्क इफिसियन्सी (कार्य कुशलता) बढी हुने भएकाले पनि डेभलपर र डिजाइनरले अँध्यारो वातावरण बढी रूचाउँछन् । 

  • डार्क मोडले ब्याकग्राउन्ड र त्यसमा देखिने तस्वीर तथा टेक्स्टको कन्ट्रास्ट बढाइदिन्छ । 

  • हेभी डिभाइनलाई प्रोफेसनल बनाउँछ ।

त्यसबाहेक एपको विशेषता अनुसार डार्क मोडमा धेरै किसिमका अप्सनहरू पाउन सकिन्छ । 

कतिपयलाई यत्तिकै पनि डार्क ब्याकग्राउन्ड मन पर्छ !

कतिपयलाई ब्लु लाइटले स्वास्थ्यमा पार्ने प्रभाव, खपत गर्ने ब्याट्री वा डार्क ब्याकग्राउन्डका अन्य फाइदाबारे त्यति वास्ता हुँदैन । उनीहरूलाई यत्तिकै पनि डार्क ब्याकग्राउन्ड मन पर्छ ।

प्रयोगकर्ताको यही मानसिकतालाई बुझेका कम्पनी जस्तै; गुगल, फेसबुक, एप्पल र एक्सले डार्क ब्याकग्राउन्डको अप्सन समावेश गरेका छन् । ७० प्रतिशतभन्दा बढी इन्जिनियर डार्क थिममै काम गर्न रुचाउने गरेको विभिन्न अध्ययनले देखाएका छन् । 

डार्क मोडका फाइदा

- आँखामा पर्ने चापलाई घटाएर आँखा स्वस्थ राख्छ । 

- ब्याट्री बढी खपत हुनबाट जोगाउँछ । 

- डार्क मोडलाई प्रयोगकर्ताले आधुनिक र स्टाइलिस ट्रेन्डका रूपमा लिन्छन् । लाइट मोडभन्दा डार्क मोड बढी स्तरीय देखिनुका साथै भिज्युअल एक्सपिरियन्समा पनि यसले महत्त्वपूर्ण भूमिका खेल्छ ।

- सम्भवतः सुताइको अवस्था सुधार गर्छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८१ २०:२१