close

बिक्री गर्न फेसबुकमा राखेको बाइक टेस्ट ड्राइभ गर्ने भन्दै चोरले ब्लुबुकसहित चोरेर लग्यो

हिक्मत आचार्य हिक्मत आचार्य

जेठ १०, २०८१ १७:११

बिक्री गर्न फेसबुकमा राखेको बाइक टेस्ट ड्राइभ गर्ने भन्दै चोरले ब्लुबुकसहित चोरेर लग्यो

काठमाडौं । बुटवलका २७ वर्षीय रञ्जन साह अमेरिका जाने तयारीमा थिए । ललितपुर कुमारीपाटी बस्दै आएका उनीसँग टीभीएस अपाचे १६० बाइक थियो । उनले छ वर्षअघि व्यक्तिगत प्रयोजनका लागि बाइक लिएका थिए । अमेरिका जाने तयारी भइरहेकाले उनले पछि भिसा आउँदा बेच्न खोजे मूल्य पाइँदैन भनेर समयमै बेच्ने निर्णय गरे । 

बाइक बेच्नका लागि उनलाई फेसबुकको मार्केटप्लेस निकै उपयुक्त विकल्प लाग्यो । विशेषगरी खरिदकर्ता र बिक्रेताबीच प्रत्यक्ष सम्पर्क हुने भएपछि त्यसमा तेस्रो पक्षलाई रकम दिइरहनु पर्दैन । जसले गर्दा बिक्रेता र खरिदकर्ताले उपयुक्त मूल्यमा सामान पाउन सक्छन् ।

“मलाई अरूभन्दा पनि फेसबुकको मार्केटप्लेस सजिलो लाग्यो, त्यसैले त्यही बाइक बिक्रीका लागि लिस्टिङ गरें,” टेकपानासँग कुरा गर्दै साहले घटनाको बेलीविस्तार लगाए ।

यही विशेषता देखेका साहलाई बाइक त्यही प्लेटफर्ममा राख्दा उपयुक्त हुन्छ भन्ने लाग्यो । “अरू सामान पनि खरिद बिक्री भइरहेको देखेको थिएँ,” साहले भने, “विदेश जाने दिनसम्म त बिक्री भइहाल्छ सोचेर अगाडि नै मार्केटप्लेसमा बाइक बिक्रीका लागि राखें ।”

उनले बाइकको अगाडि र पछाडिको फोटो खिचेर मङ्गलबार आफ्नो आधिकारिक आईडीबाट मार्केटप्लेसमा बाइक बिक्रीका लागि राखे ।

सन् २०१५ बाटै प्रयोग गर्दै आइरहेको सो आईडीबाट उनले बाइक राम्रै अवस्थामा भएको र आफू विदेश जानुपर्ने भएकाले बिक्री गर्न खोजेको कारण उल्लेख गरे । अनि बाइकको मूल्य एक लाख ६० हजार रुपैयाँ राखेर लिस्टिङ गरे । 

त्यस लगत्तै उनलाई थुप्रै मेसेज आइरहे । सम्पर्कमा आएका केहीसँग राम्रै कुरा भएपनि उनीहरूसँग कुरा अगाडि बढेन । त्यसको भोलिपल्ट बुधबार उनलाई ‘सुवास लामा’ नामको आईडीबाट मेसेज आयो ।

“यो अहिले पनि उपलब्ध छ ?,” फेसबुक मार्केटप्लेसको स्वचालित मेसेज साहको मेसेञ्जरमा आयो । उनले ‘छ’ भन्ने जवाफ दिए । “रिकन्डिसन हो कि पर्सनल ?,” सुवासले प्रश्न सोधे । “पर्सनल नै हो । मैले फर्स्ट ह्यान्ड नै किनेको,” साहले जवाफ फर्काए ।

“कतिसम्म आउँछ, म लिन्छु नि त,” खरिद गर्ने आशय राख्दै सुवासले भने । “बाइक कन्डिसन अनुसार मूल्य एकदम ठीक छ । आउनुस् चेक गर्नुस्,” साहले जवाफ फर्काए । 

बाइक खरिद गर्ने भनेका सुवासले लोकेसन सोधे । साहले कुमारीपाटी भनेर जवाफ फर्काए । र, अन्तिममा सुवासले नम्बर मागेर फोनबाटै बाँकी कुरा गरे । उनीहरूबीच कुरा भएपछि साहले भनेको ठाउँमा सुवास बिहान १० बजेर ५० मिनेटमा आइपुगे ।

“हाम्रो भेट कोटेश्वरको पुल नजिक भएको थियो,” मुहारमा चिन्ताको भाव व्यक्त गर्दै अत्तालिएको स्वरमा साहले भने, “उसले ब्लुबुक हेरौं न भनेर माग्यो, मैले दिएँ ।”

हुन पनि बाइक उनको आफ्नै हो भन्ने प्रमाण नै ब्लुबुक हो । साहले ब्लुबुक आफ्नै साथमा लगेर गएका थिए । त्यसैले सुवाशले माग्ने बित्तिकै साहले ब्लुबुक उनको हातमा पारे । सुवासले जतनका साथ ब्लुबुक हेर । बाइकको कर तिरे नतिरेको सबै राम्रोसँग नियाले । बाइक साहकै निजी हो भन्ने भएपछि उनले बाइकको अवस्था हेरेर त्यसलाई एक लाख ५० हजार रुपैयाँसम्म खरिद गर्न सक्ने बताए । 

“म एक लाख ५० हजारसम्म दिन सक्छु भन्यो,” सुवासको कुरा उद्धरण गर्दै साहले भने, “मैले पनि आफूले कायमा गरेको मूल्यमा अडिग रहिरहन उचित ठानिनँ । र, 'हुन्छ' भन्ने प्रतिक्रिया दिएँ ।”

त्यस लगत्तै सुवासले 'बाइक टेस्ट ड्राइभ गर्छु' भने । सुवासको बानी व्यवहारमाथि साहलाई शंका लागेन । उनले 'हुन्छ' भनेर बाइक छोडिदिए । बाइकमा सुवास बसे । बीचमा ट्राफिकले सोधे ब्लुबुक देखाउनुपर्छ भनेपछि साहले आफूले हातमा पारेको ब्लुबुक माग्न उचित ठानेनन् । र, बाइक साहको हातमा पारे । 

बाइक पाएका सुवा‍स बालकुमारीस्थित भाटभेटनीको बायाँपट्टिबाट जडिबुटी निस्किने बाटोतिर लागे । “जडीबुटी हुँदै एक राउन्ड कोटेश्वर पुगेर आउँछु भनेको थियो,” निराश हुँदै साहले भने, “म पुलमै बसेर हेरिरहें ।”

सुवासको हातमा बाइक पारिसकेपछि साह पुलमा बसेर उनलाई पर्खिरहे । “मलाई लागेको थियो तीनदेखि पाँच मिनेटमा आइपुग्छ । तर धेरै समय कुर्दा पनि नआएपछि फोन गरें । फोन लाग्यो, तर उसले कल काट्न थाल्याे,” उनले भने । जति गर्दा पनि फोन नउठेपछि रञ्जन दिक्दार भए । 

कसलाई गुहार्ने केही सोच्नै सकेनन् । अत्ति भएपछि आफ्नो कोठामा पुगे । उनलाई बुधबार राति निन्द्रै लागेन । आँखा नझिम्क्याएरै उनको रात बित्यो । 

आफ्ना आफन्त र साथीभाइलाई बाइक चोरिएको घटनाको बेलीविस्तार लगाए । सबैले उजुरी दिन सुझाव दिएपछि उनी बिहीबार बिहान प्रहरी प्रभाग कोटेश्वर पुगे । र, उजुरी दिए । 

“बाइक दिनुअघि आफू पछाडि बस्नुपर्छ भन्ने केही सोच नै आएन,” उनले अगाडि भने, “सजिलै खरिद-बिक्री होला भन्ने लागेको थियो । त्यस्तो थाहा भएको भए फोटो, भिडिओ खिच्थें । के गर्नु चोरले बाइक लिएर भाग्दा म निरीह भएर हेरिरहें ।”

उनले फेसबुकमा भेटिएका सुवास लामाको प्रोफाइल हेर्न नखोजेका पनि होइनन् । प्रोफाइल लक थियो । फोटो प्रत्यक्ष अनुहार देखिने थिएन ।

“मलाई बाइक बिक्री गर्ने कुरासँग सवाल थियो । उसको बारेमा बुझ्न त्यति उचित ठानेन,” उनी भन्छन्, “अहिले त मान्छे पनि याद छैन । नम्बरमा फोन लाग्छ, तर उठ्दैन । फेसबुक मार्केटप्लेसमा भएको च्याटबाट ऊ गायब भयो ।”

अहिले उनले मार्केटप्लेसमा बाइकको उही फोटो राख्दै चोरी भएको सूचना राखेका छन् ।

“मेरो प्रदेश ३, ०२ ००१ प २०३९ नम्बरको बाइक देख्नुभयो भने कृपया मलाई ९८४५६७६९३० वा ९८४३७६९५९७ मा सम्पर्क गरिदिनुहोला,” उनले लेखेका छन्, “बाइक मात्र अनलाइनबाट कुनै पनि सामान बिक्री गर्दा सजगता अपनाउनुहोला । झट्ट कसैलाई सबै कागजात दिंदा चोरी हुने रहेछ ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८१ १७:४१