close

बीएमडब्लूको नयाँ ईभी नेपाली बजारमा, मूल्य साढे १ करोड

टेकपाना टेकपाना

जेठ ११, २०८१ १२:२७

बीएमडब्लूको नयाँ ईभी नेपाली बजारमा, मूल्य साढे १ करोड

 

काठमाडौं । नेपाली बजारमा बीएमडब्लूको नयाँ बिजुली गाडी भित्रिएको छ । बीएमडब्लूको नेपालस्थित आधिकारिक आयातकर्ता एवं डिलर लक्ष्मी प्रिमियम मोटर्सले हालै बीएमडब्लू आई एक्स वन ( BMW iX1) अन्तर्गतकाे भेरियन्ट बीएमडब्लू आई एक्स वन ईड्राइभ २० ( BMW iX1 eDrive20)  ल्याएको हो ।

यो इलेक्ट्रिक एसएभी (स्पोर्ट्स एक्टिभिटी भेहिकल)ले प्रिमियम कम्प्याक्ट सेगमेन्टमा नयाँ आयाम थप्ने कम्पनीको विश्वास छ । नेपाली बजारमा यो गाडीको मूल्य एक करोड ४९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार यसमा उच्च दक्षता भएको इलेक्ट्रिक ड्राइभ, अत्याधुनिक चार्जिङ प्रविधि र उत्कृष्ट रेन्ज छ । यसमा ६४.७८ किलोवाट आवरको ब्याट्री छ ।

यो गाडीले एसी र डीसी फास्ट चार्जिङ दुवै सपोर्ट गर्छ । १२८ किलोवाटको अधिकतम क्षमता भएको डीसी फास्ट चार्जर प्रयोग गरेर तपाईंले २९ मिनेटमा १० देखि ८० प्रतिशतसम्म ब्याट्री भर्न सक्नुहुन्छ । त्यस्तै घरमा चार्ज गर्नका लागि यो गाडी ११ किलोवाटको एसी चार्जरसहित आउने छ, जसमार्फत रातभर (६ घण्टा) मा ब्याट्री फुल चार्ज हुन्छ ।

यसमा टेम्पोररी बुस्टको साथमा अधिकतम १५० किलोवाट क्षमताको शक्तिशाली इलेक्ट्रिक मोटर रहेको छ । कम्पनीका अनुसार सिङ्गल चार्जमा ४७५ किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८१ १२:३०