काठमाडौं । कम्प्युटरमा धेरै फाइल हुँदा कहिलेकाहीँ हामीलाई समस्या पर्न सक्छ । विशेषगरी फाइलको नाम सही तरिकाले राखिएन भने हामी दुःख पाउँछौं । खोजेको फाइल नभेटिँदासम्म अन्य अनेक फाइल खोलेर हेर्नुपर्ने बाध्यता हुनसक्छ ।
यस्तोमा निकै उपयोगी हुन्छ, फाइल प्रिभ्यु टुल । विन्डोज, म्याक जस्ता विश्वभर लोकप्रिय अपरेटिङ सिस्टमहरूमा यो फिचर पाउन सकिन्छ । यो फिचर प्रयोग गरेर कुनै पनि फाइल नखोलिकनै ती भित्र के छन् भनेर हेर्न सकिन्छ । धेरै ओटा डकुमेन्टमा निरन्तर काम गर्दा यो फिचर निकै उपयोगी हुन्छ ।
आज हामी विन्डोज र म्याकमा फाइल प्रिभ्यु फिचर कसरी प्रयोग गर्ने त्यसबारे जानकारी दिने छौं:
विन्डोज
विन्डोज ११, विन्डोज १० जस्ता विन्डोजका भर्सनमा यो फिचर पाउन सकिन्छ । तर डिफल्ट रूपमा यो फिचर चालु भएको हुँदैन । यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस्:
-फाइल एक्सप्लोरमा जानुहोस् । त्यहाँ भएका कुनै पनि फाइलामा क्लिक गर्नुहोस् ।
-माथि एड्रेसबारमा रहेको 'भ्यू' मा क्लिक गर्नुहोस् । त्यहाँ आउने विभिन्न विकल्पमध्ये 'प्रिभ्यु पेन' चयन गर्नुहोस् ।
-अब कुनै पनि फाइलमा क्लिक गरेर माथि रहेको दायाँ भागमा रहेको 'प्रिभ्यु'मा क्लिक गर्नुहोस् ।
-यदि माथिका प्रक्रिया गर्न चाहनुहुन्न भने Alt + P सँगै एकैचोटि क्लिक गर्न सक्नुहुन्छ ।
यति गर्नु भएपछि उक्त फाइल स्रिनको दायाँ भागमा खुल्छ । जसलाई तपाईंले आफ्नो आवश्यकता अनुसार सानोठूलो बनाउन सक्नुहुन्छ ।
म्याक
एप्पलले बनाउने कम्प्युटरहरूमा पनि प्रक्रिया करिब उस्तै छ:
-फाइन्डर विन्डो खोल्नुहोस् ।
-आफूले प्रिभ्यु गर्न चाहेको फाइलमा क्लिक गर्नुहोस् ।
-अब माथि एड्रेस भारमा रहेको 'शो प्रिभ्यु'मा क्लिक गर्नुहोस् ।
-यसपछि दायाँ भागतिर फाइलको 'प्रिभ्यु' देखिन्छ ।
-यदि माथिको प्रक्रिया चाहनुहुन्न भने कमान्ड+शिफ्ट+पी एकै पटकमा क्लिक पनि गर्न सक्नुहुन्छ ।