close

आईटी कम्पनीलाई सरकारले इन्टरनेट र बिजुली सहित ३ वर्ष निःशुल्क काम गर्ने ठाउँ उपलब्ध गराउने

टेकपाना टेकपाना

जेठ १५, २०८१ १८:३३

आईटी कम्पनीलाई सरकारले इन्टरनेट र बिजुली सहित ३ वर्ष निःशुल्क काम गर्ने ठाउँ उपलब्ध गराउने

काठमाडौं । सरकारले आईटी कम्पनीलाई तीन वर्ष निःशुल्क काम गर्ने स्थान (वर्क स्टेसन) उपलब्ध गराउने भएको छ । मंगलवार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । 

बजेट प्रस्तुतका क्रममा मन्त्री पुनले काठमाडौं उपत्यका र बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन समेत प्रयोग गरी उच्च गतिको इन्टरनेट, विद्युत सुरक्षा लगायतका पूर्वाधार सहितको सूचना पार्कको सञ्चालनको काम अगाडि बढाइने बताए । त्यस्तो पार्कमा आईटी कम्पनीले तीन वर्षका लागि बिना कुनै शुल्क काम गर्न सक्नेछन् ।

यसका साथै सार्वजनिक निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हब सञ्चालनका लागि काठमाडौंको डिल्लीबजार स्थित चारखालमा बहुतले संरचना निर्माण गरिने पनि उनले जनाए । त्यस्तै ललितपुरको खुमलटारमा ज्ञान पार्क स्थापना गर्न १७ करोड विनियोजन गरेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १९:७