close

टेस्ट ड्राइभ गर्ने भन्दै फेसबुक मार्केटप्लेसबाट चोरिएको बाइक ९० हजारमा किनेपछि लफडा

हिक्मत आचार्य हिक्मत आचार्य

जेठ १७, २०८१ १७:५६

टेस्ट ड्राइभ गर्ने भन्दै फेसबुक मार्केटप्लेसबाट चोरिएको बाइक ९० हजारमा किनेपछि लफडा

काठमाडौं । ३१ वर्षीय विवेक हमाल (नाम परिवर्तन) बाइक​ रिकन्डिसनको काम गर्छन् । उनी सेकेन्ड ह्यान्ड बाइक खरिद गर्ने, त्यसलाई मर्मत गरी बिक्री गर्ने काममा आवद्ध छन् । यही काम गरेर उनले आफ्नो जीविकोपार्जन गर्न थालेको सात वर्ष भइसक्यो । 

गत ९ जेठ बुधबार बेलुका ८ बजेतिर फेसबुक चलाउँदै गर्दा हमालले फेसबुक मार्केटप्लेसमा टीभीएस अपाचे १६० मोडेलको बाइक देखे । “बाइक राम्रै थियो । मूल्य एक लाख १० हजार राखिएको थियो,” टेकपानासँग कुरा गर्दै हमालले भने, “म सधैंजसो त्यसरी नै सेकेन्ड ह्यान्ड बाइक किनिरहेको हुन्थेँ । त्यो बाइक पनि खरिद गर्नुपर्छ भन्ने लागेर मेसेज पठाएँ ।”

हमालले फेसबुक मार्केटप्लेसमा मेसेज पठाउनासाथ उताबाट ‘सुवास लामा’को नामबाट स्वचालित मेसेज आयो । सुवास लामा नाम ख्याल गर्नुहोला । यो घटनामा यी पात्रको मुख्य भूमिका छ । 

मेसेजमा सुवासले आफूलाई आपत परेकाले बाइक सस्तोमा बिक्री गर्न लागेको कुरा उल्लेख गरे । “मूल्य एक लाख १० हजार थियो, घटाएर मैले एक लाखमा किन्छु भनेँ,” हमाल घटना बेलीविस्तार गर्दै भन्छन्, “उसले सुरुमै हुन्छ भनेपछि अलिअलि शंका पनि लागेको थियो ।”

त्यसपछि हमालले आफ्ना दाइलाई त्यो बाइकको बारेमा जानकारी दिए । दाइले सुवास लामालाई उक्त बाइकको कर तिरे/नतिरेको जानकारी मागे । सुवासले पनि एक वर्षको तिर्न बाँकी रहेको कुरा सुनाए । “कर तिरेको रहेनछ भने त ९५ गर्नुपर्ला भनेर दाइले भन्नु भएछ,” आफ्ना दाइले सुवास लामासँग गरेको कुरा सम्झिदै हमालले भने, “तर, कर हिसाब गर्दा झन्डै सात हजार एक वर्षको कर लाग्छ । त्यसैले बाइकका लागि ९० हजार रुपैयाँभन्दा बढी खर्च नगर्ने सल्लाह भयाे ।”

सुवासले पनि ९० हजारकाे डिल स्वीकार गरे र भाेलिपल्ट बिहान भनेको ठाउँमा बाइक ल्याइदिने बताए । 

१० जेठ बिहीवार बुद्ध जयन्तीको दिन हमाल र उनका दाइ बाइक लिन जाने तरखरमा थिए । उता सुवासले च्याटका क्रममा आफूले बाइक पुर्याउन नभ्याउने भन्दै भाइकाे नम्बरमा सम्पर्क गर्न भने । सुवासले उपलब्ध गराएको नम्बरमा सम्पर्क गर्दा उनका भाइले बाइक सल्लाघारीको नगरकोट जाने बाटोमा ल्याएर आउने बताए । 

साढे ११ बजे हमाल र उनका दाइ सल्लाघारी पुगे । “केटो हेर्दा गाँजा सेवन गर्ने जस्तो थियो,” बाइक ल्याउने मान्छेको हुलिया सम्झिंदै हमाल भन्छन्, “मलाई शंका लाग्यो । दाइ यसलाई पैसा दिंदै गरेको भिडिओ खिचौं, अनि यसको डकुमेन्ट पनि लिऔं भनेँ ।”

त्यसपछि उनले बाइक ल्याएका युवकलाई डकुमेन्ट उपलब्ध गराउन भने । आफूसँग ब्लुबुक बाहेक कुनै डकुमेन्ट नभएको र डकुमेन्टका लागि आफ्नो दाइ (सुवास)सँग मेसेजमै माग्न अनुरोध गरे ।

त्यसपछि हमालले पुनः च्याटमा सुवासलाई मेसेज गर्दै भने, “तपाईंलाई के आधारमा पैसा दिने । एउटा डकुेमेन्ट त चाहिन्छ ।”

यति भन्नासाथ सुवासले आफ्नो घुँडामा नागरिकता राखेर त्यसैको फोटो खिचेर पठाए । नागरिकता नै पठाइसकेपछि हमाललाई ढुक्क भयो । र, उनी पैसा तिर्न तयार भए ।

“ब्लुबुक पनि देखायो, यातायात कार्यालय एकान्तकुनामा सनाखत (मञ्जुरी नामावली) पनि छ भन्यो,” बाइक ल्याएर आउने व्यक्तिसँग सुरुमा भएको कुरा सम्झिँदै हमाल भन्छन्, “ब्लुबुक नै दिइसकेपछि हामीले पैसा हातमा पार्‍यौं । भिडिओ वा फोटो खिच्ने भनेको डकुमेन्ट माग्ने कुराले गर्दा बिर्सिएछौं । हेर्नु न ! दशा लागेको बेला यस्तै हुने रै’छ ।”

बाइकका लागि ९० हजार तिरिसकेपछि ती युवक (सुवासका भाइ)ले आफूलाई केही दूरी टाढासम्म पुर्‍याइदिन अनुरोध गरे । हमालका दाजुले युवकले भनेकै ठाउँसम्म पुर्‍याइदिए ।

उनी त्यसअघि बाइक खरिद गर्दा त्यसरी नै बाइकको ब्लुबुक र सनाखत लिन्थे । “सनाखतको फाइल कता छ भनेपछि उसले यातायात कार्यालयमा छ भन्यो,” उनी भन्छन्, “त्यो दिन बुद्ध जयन्ती भएकाले सरकारी कार्यालय बन्द थिए ।”

सरकारी कार्यालय बन्द भएकाले उनी त्यस दिन यातायात कार्यालय एकान्तकुनामा जानेबारे सोचेनन् । घर पुगेपछि हमाललाई ब्लुबुकबारे कौतुहलता जाग्यो । ब्लुबुकमा फोटो थिएन । त्यसमा रञ्जन साह र जगदम्बा फाइनान्स कम्पनीको नाम थियो ।

“ब्लुबुकको नाम र मसँग कुरा गर्ने मान्छेको नाम उही छ कि छैन भन्ने हेर्नुपर्थ्यो,” सुस्केरा हाल्दै हमाल भन्छन्, “मान्छेलाई दशा लागेको बेला त्यस्तै हुने रै’छ । म अत्तालिएर बाइक किन्नेबेला त्यस्तो केही हेरिनँ ।”

उनले ब्लुबुकमा फाइनान्सको नाम देखेपछि बाइक बिक्री गर्ने मान्छेले किस्ता तिर्न सकेको छैन रै’छ त्यसैले बिक्री गर्‍याे होला भन्ने सोचे । “त्यसरी फाइनान्सकै नाममा भएको बाइकको सनाखत पनि छैन होला भन्ने मलाई लाग्यो,” हमाल अगाडि भन्छन्, “भोलिपल्ट म यातायात कार्यालय गएँ । र, त्यही बाइकको ढड्डा हेरिदिन अनुरोध गरें ।”

ढड्डा हेर्दा बाइक फाइनान्सकै नाममा देखियो । बाइकका मुख्य धनी भनिएका रञ्जन साहको नाममा पनि बाइक पास भइसकेको थिएन । “यो बाइक धनी भनिएका मान्छेले पहिले बाइक लियाे, अनि पास नहुने भएपछि मलाई भिडायो भन्ने लाग्यो,” यातायात कार्यालय पुगेपछि मनमा उब्जिएको भावना सुनाउँदै हमाल भन्छन्, “केही भएन भने कर तिरेरै भए पनि बाइक चलाउँछु भन्ने लाग्यो ।”

तर, तत्कालै उनको मनमा अर्को विचार आयो । उनले उक्त बाइकबारे थप बुझ्न यातायात कार्यालयमै हुने बाइक कम्पनीको कार्यालय जाने योजना बनाए । तर, बाइक कम्पनीका कर्मचारीले भनेकै भरमा बाइकको विवरण उपलब्ध गराइदिएनन् । “तपाईं बाइक धनी हो भनेर सोध्दा मैले होइन भनेपछि त्यत्तिकै देखाउन मिल्दैन भन्यो,” उनी भन्छन्, “जगदम्बा फाइनान्सको नाममा बाइक भएकाले म नक्सालस्थित फाइनान्सको कम्पनीमा पुगेँ ।”

उनलाई त्यतिबेलासम्म ऋण भएरै बाइक धनीले भिडाउन खोजेको होला भन्ने लागेको थियो । उनलाई जगदम्बा फाइनान्सले पनि बाइक धनी बाहेक अरूले किस्ताको विवरण हेर्न नमिल्ने बतायो । उनले बिन्तीभाउ गरेर आफ्नो समस्या सुनाएपछि कम्पनीले बाइकको किस्ताको अवस्थाबारे जानकारी दिन तयार भयो ।

“किस्ता हेर्नका लागि सिरियल नम्बर चाहिने रहेछ,” उनी भन्छन्, “मलाई सिरियल नम्बर थाहा छैन सर, यो बाइकको सवारीधनीको नामबाट खोजौं भनेर बिन्ती गरें ।”

त्यसपछि कम्पनीले उक्त बाइकको किस्ता पूरा भएको बतायो । हमाललाई अर्को आपत् थपियो । उनले जे आशंका गरेका थिए, त्यो कारणले बाइक भिडाएको होइन भन्ने लाग्यो । र, उनले उक्त बाइक जसको नाममा छ, उनको नम्बर लिएर जाने योजना बनाए । र, नम्बर मागे । 

त्यसपछि उनी कोठामा आए, अनि आफूले पाएको नम्बरमा सम्पर्क गरे । फोन गर्दा बाइक धनी रञ्जन साहले बाइक हराएको, चोरी भएको बेलिविस्तार लगाए । “ब्लुबुकसहित नै बाइक कसरी चोरी हुन्छ र ?,” उनी सोध्छन्, “बाइक र ब्लुबुक नै भएपछि मलाई रञ्जन साहले त्यो तेस्रो व्यक्तिलाई प्रयोग गरेर बाइक बेचेको हो कि भन्ने शंका लाग्यो ।”

कुरा हुँदा रञ्जन साहले हमाललाई वसन्तपुर भेट्न बोलाए । तर, हमाल त्यहाँ जान तयार थिएनन् । कुरा नमिलेपछि उनीहरू प्रहरी प्रभाग कोटेश्वर भेट्ने योजना बनाए ।

हमालले बाइक लिएर आए भने रञ्जन रित्तो हात कार्यालय पुगे । “बाइक मै राख्छु भनेर मैले पनि जिद्दी गर्न हुँदैन,” हमाल भन्छन्, “त्यो ९० हजार रुपैयाँ मेरो इज्जतभन्दा ठूलो होइन । भोलि बाटोमा कसैले देखे यो चाेरीको बाइक चलायो भन्लान् । त्यसैले मैले बाइक कोटेश्वरमै बुझाउने निधो गरेको थिएँ । ”

“नम्बर छ, नागरिकता छ, मुख्य सहर हो, सीसीटिभी फुटेज पनि होला,” हमाल अगाडि भन्छन्, “त्यत्तिको पहुँच हुने हो भने हामी सामान्य मान्छेले पनि चोर फेला पारिदिन्छौं । प्रहरीले किन समय लगाएको होला खै ?”

किन आफ्नो नाममा पास गरेका थिएनन् रञ्जन साहले बाइक ?

बाइक कसरी चोरी भयो भन्ने जानकारी साहले यसअघि टेकपानासँगको कुराकानीमा प्रस्ट पारिसकेका छन् । बाइक फाइनान्सबाट आफ्नो नाममा पास नगर्नुको आफ्नै कारण भएको उनी बताउँछन् ।

“बाइक कसैले मबाट खरिद गर्दा सोझै उसैको नाममा गर्न सकियोस् ताकि त्यो मान्छेलाई फर्स्ट ह्यान्ड किनेकै जस्तो लागोस् भनेर आफ्नो नाममा पास गरेको थिइनँ,” साह भन्छन्, “यातायात कार्यालयमा धन्न मञ्जुरीनामा गरेको थिइनँ र बाइक पास हुनबाट जोगियो ।”

के भन्छ प्रहरी ?

प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक दलकुमार राईका अनुसार सवारीधनी रञ्जन साहले बाइक २० मिनेटअघि चोरी भयो भन्दै ९ जेठमा उजुरी दिएका थिए ।

“त्यो बाइकको सवारी धनीले कोटेश्वर पुल नजिकैबाट एक जनाले ब्लुबुकसहित बाइक चोरेको भनेर उजुरी दिनुभएको थियो,” प्रहरी निरीक्षक राई भन्छन्, “त्यसको केही दिनपछि अर्को एक जनालाई बाइक ९० हजारमा बिक्री गरेको भन्ने रहेछ । जसले खरिद गर्नु भयो, उहाँले पास गर्न नसकेपछि वास्तविक सवारीधनी खोज्नु भएछ । त्यसपछि उहाँहरू दुवै जना सम्पर्कमा आएर बाइक हाम्रो कार्यालयमा ल्याउनु भएको हो ।”

नाम सुवास लामा भए पनि हमाललाई बाइक ९० हजारमा बेच्ने व्यक्तिले पठाएको नागरिकतामा उनको नाम सुवास श्रेष्ठ छ । त्यसबाहेक बाइक पुर्‍याउने व्यक्ति र बाइक साहबाट फुत्काउने व्यक्तिको नम्बर पनि प्रहरीसँग छ ।

यी विवरण उपलब्ध गराइसकेपछि ती दुवै जनालाई सम्पर्कमा ल्याउन सकिने साह र हमालको आशय छ । तर, प्रहरी निरीक्षक राई भन्छन्, “ती दुई ओटै नम्बर अहिले अफ छन् । नम्बर ट्रेस गरेर पहिचान गर्नका लागि समय लागेको हो । कतिपय अवस्थामा भन्ने बित्तिकै मान्छे भेटिने भन्ने हुँदैन । हामीले आवश्यक विवरण सङ्कलन गरिसकेका छौं । अब प्राविधिक काम अगाडि बढाउँछौं ।”

प्रहरी निरीक्षक राई अगाडि भन्छन्, “हाम्रो कार्यालयमा भएको बाइक पनि सुरक्षित छ । हामी हमालजीको गुमेको रकम पनि फिर्ता गराउने र सम्बन्धित सवारीधनीलाई बाइक उपलब्ध गराउन काम गरिरहेका छौं । दुई-तीन दिनमा यो समाधान हुन्छ ।”

सजिलै झुक्याइदिने चोर !

सुवास लामा नाम बताउने सुवास श्रेष्ठले बाइक फेसबुक मार्केटप्लेसबाट ८ जेठ मङ्गलबार फेला पारेका थिए । त्यही दिन रञ्जन साहसँग सम्पर्क गरेर बुधबार बाइक टेस्ट राइड गर्ने भन्दै फरार भए । फरार भएपछि उनले पहिलेको अकाउन्ट डिलिट गरे ।

त्यसपछि त्यही दिन उनले ‘सुवास’ नामको अर्काे अकाउन्टबाट सोही बाइक फेसबुक मार्केटप्लेसमा एक लाख १० हजार रुपैयाँमा बिक्रीका लागि राखे ।

“सामान्यभन्दा सामान्य चोरले पनि मार्केटप्लेसमा त्यही बाइक धनीका आफन्तहरूको पनि पहुँच हुन्छ भन्ने बुझेको हुन्छ,” चोरको परिपक्वतामाथि प्रश्न उठाउँदै हमाल भन्छन्, “त्यसरी चोरेको बाइक खुल्ला रूपमा मार्केटप्लेसमै राख्ला भन्ने कहिल्यै सोचिएन । कि यो चोर धेरै एक्सपर्ट छ, कि भर्खरको हो वा उसलाई अरू कसैले यस्तो गर्न लगाएको हो ।”

यता बाइक चोरी भएका रञ्जन साहले पनि बाइक मार्केटप्लेसमै बिक्रीका लागि राखिएला भन्ने कल्पनासमेत गरेका थिएनन् । उनले बरु बाइक चोरी भयो भनेर मार्केटप्लेसमा राख्दा त्यो बाइक कतै देख्नेले सम्पर्क गर्न सक्छन् भन्ने सोचेका थिए । त्यसैले बाइक देखे सम्पर्क गर्नू भन्दै आफ्नो नम्बर उपलब्ध गराएका थिए ।

“विगत सात वर्षदेखि नै रिकन्डिसनको काम गर्ने मान्छेलाई चोरीको बाइक बिक्री गर्नु भनेको त मलाई शंका नै लागेको छ,” रञ्जन साह भन्छन्, “हुन त म आफैँले पनि उसले (बाइक चोर्ने व्यक्ति) बाइक नहेरेरै चेक दिन खोज्दा पहिले ब्लुबुक हेर, अनि टेस्ट राइड गर भनेको थिएँ । मान्छेलाई पर्‍यो भने जति अनुभव भए पनि मूर्ख भइने रहेछ ।”

याे घटनापछि हमाल र  साहले फेसबुक मार्केटप्लेस वा अन्य मार्केटप्लेसबाट कुनै पनि सामग्री खरिद वा बिक्री गर्दा सजगता अपनाउन सुझाव दिएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८१ १६:२०