close

बालकुमारीमा डोङफेङ ईभीको नयाँ शोरुम

टेकपाना टेकपाना

जेठ २१, २०८१ १७:३५

बालकुमारीमा डोङफेङ ईभीको नयाँ शोरुम

काठमाडौं । ललितपुरको बालकु‌‌मारीमा डोङफेङ (Dongfeng) विद्युतीय सवारीको नयाँ शोरुम सञ्चालनमा आएको छ । डोङफेङ इलेक्ट्रिक भेहिकल्सको आधिकारिक वितरक त्रिवेणी मोटोर्स मोटोकर्प प्रालिले सोमबार एक कार्यक्रम आयोजना गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

चीनको ठूला गाडी निर्माता मध्येको एक डोङफेङ अटोमोबाइलका गाडीहरू विश्वका ६० देशमा बिक्री वितरण भइरहेको बताइन्छ । हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ र १४ सिट क्षमताका डोङफेङ इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ तथा ५.३ घनमिटर क्षमता भएका कार्गो भ्यानहरू बिक्री वितरण गरिरहेको छ । 

११ सिट क्षमताको माइक्रो ईभीमा ५० किलोवाट क्षमताको मोटर रहेको छ । यसमा भएको ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक पटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । त्यसैगरी १४ सिट क्षमताको माइक्रो ईभीमा ८० किलोवाट क्षमताको मोटर राखिएको छ । 

यसमा भएको ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक पटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ । कम्पनीका अनुसार उक्त रेन्ज गाडीलाई ४० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउँदा प्राप्त गर्न सकिनेछ । 

तर बाटोको अवस्था, तापक्रम, चालकको अनुभव तथा तथा ट्राफिक अवस्थाले रेन्जमा तलमाथि हुन सक्छ । त्रिवेणी मोटोकर्पले नेपालभर यी गाडीहरू बिक्री वितरण गर्न डिलर नेटवर्कहरूको व्यवस्था समेत गरिरहेको उल्लेख छ । 

ती सबै डिलर नेटवर्कहरूमा सर्भिस, पार्ट्स तथा चार्जरको व्यवस्था रहने कम्पनीले  जनाएको छ । हाल कम्पनीले ग्राहकहरूलाई चार्जिङ सेवा प्रदान गर्ने उद्देश्यले डिलर नेटवर्कमा चार्जिङ स्टेसनहरू विस्तार गरिरहेको छ ।

त्यस्तै त्रिवेणी मोटोकर्पले विर्तामोडमा सहाना अटोमोबाइल्स, इटहरीमा इस्टर्न मोटर्स, जनकपुर तथा विरगञ्जमा नारायणी अटोकर्प, पोखरामा अटोवेज, धनगढीमा प्राप्ति मोटर्स, नारायणघाट र ललितपुरमा स्मार्ट अटो, भक्तपुरमा जीईमी नेपालमार्फत आफ्ना गाडीहरूको बजारीकरण गरिरहेको छ । यसका साथै बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै काठमाडौंको बाहुनधारा मन्दीर मार्ग, जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८१ १७:३५