close

चन्द्रमामा पुगेर चिनियाँ यानले एआई मार्फत खिच्यो आफ्नो पहिलो सेल्फी

टेकपाना टेकपाना

जेठ २५, २०८१ १३:५४

चन्द्रमामा पुगेर चिनियाँ यानले एआई मार्फत खिच्यो आफ्नो पहिलो सेल्फी

काठमाडौं । मानव निर्मित वस्तु नपुगेको चन्द्रमाको भाग अन्वेषण गर्न गएको चिनियाँ चन्द्रयान चाङ्गइ-६ ले एआईको सहायताबाट खिचेको आफ्नो सेल्फी यतिबेला चर्चामा छ । चाङ्गइ-६ मिसन अन्तर्गतको ल्यान्डर र चिनियाँ राष्ट्रिय झण्डाको ऐतिहासिक तस्वीर एआई प्रयोग गरिएको पाँच किलोग्राम तौलको मिनी रोभरले हालै खिचेको हो ।

चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए)का अनुसार चाङ्गइ-६ चन्द्रयान गत १ जुनमा चन्द्रमाको सुदूर भागमा अवतरण गरेको थियो । अवतरणमा सफलता पाएपछि ल्यान्डरबाट उक्त रोभरलाई चन्द्र सतहमा नमूना सङ्कलन गर्न छोडिएको थियो । 

त्यसमा पनि सफलता पाएपछि चार पाङ्ग्रे उक्त रोभरले ल्यान्डरको तस्वीर खिचेको हो । स्वचालित रूपमा काम गर्न सक्ने रोभरले ल्यान्डरको उत्कृष्ट तस्वीर खिच्न आफैंले क्यामेरा एङ्गल पनि मिलाएको बताइएको छ । यस सफलताले चन्द्र यानमा एआई प्रयोगको सम्भाव्यता बढाउने अनुमान गरिएको छ ।

यसका साथै चन्द्र यानमा एआई प्रयोग गरिएको यो पहिलो पटक भएको बताइएको छ । अब यो यान सङ्कलन गरेको नमूना बोकेर पृथ्वीमा फर्कने सीएनएसएले जनाएको छ । वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट तीन मार्चमा लङ मार्च-५ नामक रकेटबाट चीनले उक्त यान प्रक्षेपण गरेको थियो । 

यो चन्द्र यान 'एटकेन बेसिन' नामक चन्द्रमाको दक्षिणी भागमा अवतरण गरेको थियो । जुन भागमा हालसम्म कुनै पनि मानव निर्मित वस्तु पुगेका छैनन् । त्यस स्थानलाई चन्द्रमाको अँध्यारो भाग पनि भन्ने गरिन्छ । यदि सो भागबाट पृथ्वीमा सकुशल चट्टान र माटो ल्याउन सके चीन पहिलो देश बन्नेछ । 

यो परियोजना २००४ बाट सुरु भएको चिनियाँ चन्द्र अन्वेषण कार्यक्रम अन्तर्गत पर्छ । यसलाई ‘चाङ्गइ’ नामले समेत चिन्ने गरिन्छ । हालसम्म यस परियोजना अन्तर्गत चीनले पाँच ओटा यान चन्द्रयान प्रक्षेपण गरिसकेको छ । 

पहिलो पटक सन् २००७ मा चाङ्गइ-१ प्रक्षेपण गरिएको थियो । यही परियोजनाको चाङ्गइ-४ बाट चीनले सन् २०१८ मा पहिलो पटक पाइला टेकेको थियो । त्यस्तै २०२० को चाङ्गइ-५ बाट चीनले मानव इतिहासमा ४४ वर्षपछि पुन: चन्द्रमाको चट्टान पृथ्वीमा ल्याउन सफल भएको थियो । 

चाङ्गइ -६ को प्रोब तयार पार्न चीन सहित फ्रान्स, इटाली, पाकिस्तान, युरोपियन एजेन्सीका वैज्ञानिकहरू संलग्न थिए । यस मिसनअन्तर्गत सङ्कलन गरिएको नमूनाले चन्द्रमाबारे थप नयाँ जानकारी प्राप्त हुने वैज्ञानिकले आशा गरेका छन् । किनकि  वैज्ञानिकहरू चन्द्रमाको दक्षिण ध्रुवमा करिब चार अर्ब वर्ष पुराना चट्टान हुने बताउँछन् । यसअघि सङ्कलन गरिएका नमूनाको परीक्षण गर्दा ती २/३ अर्ब वर्ष पुरानो भएको पत्ता लागेको थियो ।

पछिल्लो अध्यावधिक: जेठ २५, २०८१ १४:२