close

६ महिनामै आईटी इन्जिनियर ! हङकङको कोर्स, हाइब्रिड मोडेलको पढाइ नेपालमै

टेकपाना टेकपाना

जेठ २७, २०८१ १३:१५

६ महिनामै आईटी इन्जिनियर ! हङकङको कोर्स, हाइब्रिड मोडेलको पढाइ नेपालमै

काठमाडौं । आईटी लगायतका विषयमा छोटो अवधिको तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न नेपालमा विभिन्न तालिम प्रदायक संस्था क्रियाशील छन् । सरकारी तथा गैरसरकारी दुवै क्षेत्रले यस प्रकारका संस्थाहरू सञ्चालन गरिरहेका छन् । 

तिनै मध्येको एक हो, ललितपुरमा अवस्थित स्विफ्ट एजुकेसन (Swivt Education) । हङकङको ‘एक्सिलेरेट एजुकेसन’सँगको सहकार्यमा स्विफ्ट टेक्नोलोजीले करिब डेढ वर्षदेखि स्विफ्ट एजुकेसन अन्तर्गत सूचना प्रविधि सम्बन्धी कोर्स उपलब्ध गराइरहेको छ । यहाँ पढ्ने विद्यार्थीले हङकङको पाठ्यक्रम र प्रमाणपत्र पाउने कम्पनीका सञ्चालक सुवास शाही बताउँछन् । 

शाहीले स्विफ्ट एजुकेसनको सोच स्वयं हङकङमै छँदा बनाएका थिए । काठमाडौंमा जन्मे हुर्केका उनी स्थायी रूपमा उतै बस्ने सोचेर सन् २०१२ तिर  हङकङ हानिएका थिए । त्यहाँ सङ्घर्षपूर्ण जीवन बिताइरहेका उनले एक्सिलेरेट एजुकेसन नामक शैक्षिक संस्थाको कोर्स छात्रवृत्तिमा पढ्ने मौका पाए । 

छ महिनाको उक्त कोर्स पढिसकेपछि उनले हङकङमै एक वर्ष जति सफ्टवेयर कम्पनीमा काम पनि गरे । अनि त्यस प्रकारको कोर्स नेपालमा पनि पढाउन पाए हुन्थ्यो भन्ने उनलाई लाग्न थाल्यो । किनकि उक्त कोर्सले लिएरै उनी आफैं दक्ष बने । त्यही सीपको भरमा उनले राम्रै काम पनि पाए । 

त्यसपछि जागिरे जीवन त्यागेर उनले व्यापार गर्नतिर लागे । त्यसबिचमा उनले आईटीसँग सम्बन्धित अन्य कम्पनी पनि चलाउन थाले । हङकङ जानुअघि कुरियरको सेवा दिन अनलाइनमा उनले ‘भरिया’ नामक प्लेटफर्म चलाएका थिए । त्यसैको आधारमा उनले हङकङमा छात्रवृत्ति पाएका हुन् ।

नेपाल आइसकेपछि उनी आफूले अध्ययन गरेको संस्थाकै कोर्स भित्र्याउनेतर्फ लागे । त्यसपछि एक्सिलेरेटका संस्थापक लभिन हेलमानीसँग उनले कुराकानी थाले । र, सम्झौतापछि स्विफ्ट एजुकेसन सञ्चालनमा ल्याए । 

कम्पनीलाई चिनाउन नेपाली नायिका सुरक्षा पन्त ब्रान्ड एम्बेस्डरको भूमिकामा क्रियाशील छिन् । स्विफ्ट एजुकेसनबाट उत्तीर्ण भएकामध्ये कसैले इन्टर्न गरिरहेका छन् त, केही जागिरका लागि तयारी गरिरहेको शाहीले बताए । 

अहिले नेपालमा उपलब्ध यस्ता छ महिने कोर्स केही महङ्गा छन् । स्विफ्ट दुई घण्टा पढाएर प्रमाणपत्र थमाउने खाले कम्पनी नभएको शाहीको स्पष्टोक्ति छ । 

एउटा डेभलपरले दैनिक रूपमा जसरी काम गर्छ, त्यसरी नै काम गर्न वास्तविक डेभलपरले स्विफ्टको कोर्स लिएका विद्यार्थीलाई सिकाउँछन् । “यहाँ पढाउने व्यक्तिहरूलाई म शिक्षक भन्न रुचाउन्न । किनकी ती शिक्षक होइनन्, डेभलपर हुन् । शिक्षणमा लागेकाले कोडिङका विषय बिर्सिरहेका हुन्छन्,” उनी भन्छन् । 

शाहीकै भाषामा स्विफ्ट एजुकेसन ‘रेडी टु जब बुटक्याम्प’ हो । यसमा कोर्स भने हाइब्रिड मोडेलमार्फत पढाइ हुन्छ । अर्थात् आधा कोर्स भौतिक रूपमा र आधा अनलाइनमार्फत पढाइन्छ । यसले विद्यार्थीलाई भौतिक र अनलाइन दुवै संसारमा काम गर्न योग्य बनाउने शाहीको दाबी छ ।

विश्वव्यापी रूपमा खासगरी आईटी क्षेत्रमा विश्वविद्यालयको सर्टिफिकेटलाई भन्दा पनि सीप र दक्षतालाई बढी महत्त्व दिन थालिएको छ । यसको अर्थ 

विश्वमा प्रमाणपत्रभन्दा पनि सीपको महत्त्व बढ्दै गएकाले यस प्रकारको शैक्षिक संस्था खोलेको उनी बताउँछन् । उनका अनुसार स्विफ्टको प्रमुख उद्देश्य नै विद्यार्थीलाई सीप सिकाउनु हो । 

यसका साथै नेपालबाट दक्ष जनशक्तिको बढ्दो पलायन रोक्नु र सके यहाँको दक्ष जनशक्तिको श्रम अनलाइनमार्फत इन्टरनेटमा बेच्नु कम्पनीको उद्देश्य भएको पनि उनी बताउँछन् ।

स्विफ्ट एजुकेसनले उपलब्ध गराउने कोर्स विश्वविद्यालयको कोर्सभन्दा नितान्त भिन्न छ । विश्वविद्यालयमा विद्यार्थीलाई चाहिने भन्दा फाल्तु विषय पनि पढाइने, तर आफ्ना कोर्समा भने बजारको माग अनुसारको दक्षता तथा सीप मात्र सिकाइने उनी सुनाउँछन् । 

सोही कारण यी कोर्स पढ्ने विद्यार्थी नेपालको कम्पनीमा मात्र नभएर विदेशका विभिन्न कम्पनीहरूमा समेत काम गर्न योग्य हुने दाबी शाहीको छ । “हामी प्राविधिक सीप बाहेक व्यक्तिगत विवरण (सीभी) बनाउने, अन्तर्वार्ता दिने, नेटवर्क कसरी बढाउने लगायतका कुराहरू पनि सिकाउँछौँ.” उनी भन्छन् ।

स्विफ्टको कोर्समा भर्ना हुन एक महिना अघिदेखि विद्यार्थीले स्वतःस्फूर्त तयारी थाल्नु पर्ने हुन्छ । यसमा विद्यार्थीले आवश्यक सामग्री सङ्कलन गर्ने, पढ्न तयार हुने जस्ता काम गर्छन् । त्यसले कोर्स अध्ययन गर्न विद्यार्थीलाई तयारी गराउने उनको भनाइ छ ।

कक्षा सुरु भएपछि सबैभन्दा पहिला विद्यार्थीले आधारभूत विषय पढ्छन् । त्यसपछि एडभान्स विषय पढ्नु पर्ने हुन्छ । जुन भौतिक रूपमै हुन्छ । र यसको अवधि दुई/तीन महिनाको हुन्छ ।

त्यसपछि एक महिना अनलाइनमार्फत पढाइ हुन्छ । सो अवधिमा नेपालमा बसेर विदेशी कम्पनीका लागि काम गर्ने तरिका सिकाइने शाही बताउँछन् । त्यसपछिको एक महिना विद्यार्थीले कुनै वास्तविक परियोजना छानेर त्यसमा काम गर्छन् । जसलाई कोर्सको पाठ्यक्रममा ‘क्याप्सटोन प्रोजेक्ट र पोर्टफोलियो’ नाम दिइएको छ । 

यो अवधि सकिएपछि अन्तिम एक महिनामा विद्यार्थीहरूलाई काममा लगाउने प्रयास सुरु हुन्छ । यसमा विद्यार्थीले सकेसम्म आफ्नो सीप देखाएर नियुक्ति पाउने प्रयास गर्छन् । 

यसरी स्विफ्टले पढाउने छ महिनाको कोर्स पूरा हुन्छ । अहिलेसम्म कम्पनीले सीपको आधारमा काममा लगाइदिने कार्यक्रम आयोजना भने गरेको छैन । भावी दिनमा चाँडै त्यस किसिमको कार्यक्रम पनि सञ्चालन हुने उनको भनाइ छ ।

अहिले स्विफ्ट एजुकेसनमा फुल स्ट्याक सफ्टवेयर इन्जिनियरिङ, ग्राफिक्स डिजाइन, आन्टप्रेनरशिप, डेटा साइन्स स्किल विथ प्राक्टिकल मेन्टरशिप र अनलाइन मास्टरक्लास इन फाइनान्सियल अकाउन्टिङ एन्ड रिपोर्टिङ गरी जम्मा पाँच ओटा कोर्स छन् । 

सफ्टवेयर इन्जिनियरिङको तीन लाख, डेटा साइन्सको चार लाख, ग्राफिक्स डिजाइनिङको दुई लाख, आन्टप्रेनरशिपको एक लाख रुपैयाँ शुल्क राखिएको छ । विद्यार्थीले आफू अनुकूलको समयमा यो शुल्क तिर्न सक्छन् । तर बीचमा छाडेर जानेहरूले भने पूर्ण शुल्क तिर्नुपर्ने उनी बताउँछन् ।

उता हङकङको इन्स्टिच्युटले प्रोजेक्ट, करिकुलम, सर्टिफिकेट जस्ता कुरामा सपोर्ट दिइरहेको उनी बताउँछन् । तर पढाउने काम भने डेभलपरहरूले नेपालबाटै  गरिरहेका हुन्छन् ।  

यहाँ पढ्ने विद्यार्थीले दिनमा कम्तीमा पनि सात/आठ घण्टा समय दिनुपर्ने हुन्छ । त्यसमध्ये आधा समय सैद्धान्तिक र भौतिक कक्षा सञ्चालन हुन्छ । जसमा सामान्यत: दिनभर विद्यालयको गए जस्तै अनुभूति हुन्छ ।

स्पिफ्टले बीचैमा पढाइ छाडेका, सीप नभएका व्यक्तिहरूदेखि उच्च शिक्षा लिइरहेका विद्यार्थीसम्मलाई लक्षित गरिरहेको छ । यो कोर्स पढ्न विद्यार्थीलाई कुनै न्यूनतम योग्यता तोकिएको छैन । तर विद्यार्थीहरू चाहेको समयमा भने यसमा भर्ना हुन पाउँदैन । 

स्विफ्ट एजुकेसनका कोर्समा भर्ना निश्चित समयमा मात्र खुल्छ । शाहीका अनुसार वर्षमा दुईदेखि तीन पटक भर्ना खुला हुने गर्छ । तर एउटा कोर्समा न्यूनतम पाँच र अधिकतम २० जनाको मात्र भर्ना लिइने उनी बताउँछन् ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८१ १३:३९