close

नेपालमा कहिले खुल्छ टिकटक ? यसो भन्छिन् सञ्चारमन्त्री

टेकपाना टेकपाना

जेठ ३१, २०८१ १७:५

नेपालमा कहिले खुल्छ टिकटक ? यसो भन्छिन् सञ्चारमन्त्री

 

काठमाडौं । नेपाल सरकारले चर्चित सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको सात महिना पुगेको छ । सामाजिक सद्‌भावमा नकारात्मक असर पारेको भन्दै २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले टिकटक प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

यसलगत्तै अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले नेपालमा टिकटक नखुल्ने बनाए । यता टिकटक प्रतिबन्ध संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हक विपरीत भएको दाबी गर्दै विभिन्न सरोकारवालाले सरकारी कदमको आलोचना गरेका छन् ।

टिकटक बन्दलाई लिएर सर्वोच्च अदालतमा छुट्‍टाछुट्‍टै १४ ओटा रिटसमेत दायर भएका थिए । यी रिटमा छलफलका लागि सर्वोच्चले आगामी असोज १० मा मात्र नयाँ पेशी तोकिएको छ । 

त्यस्तै प्रतिबन्ध फुकुवा गराइदिन टिकटकले पटक-पटक पत्र पठाइरहेको छ । पछिल्लो पटक १७ मेमा कम्पनीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्राचार गर्दै टिकटक खुलाउन अनुरोध गरेको थियो ।

यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक मूल्य मान्यतामा धेरै नै असर गरेकाले सरकारले टिकटक बन्द गरेको बताएकी छन् । बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री शर्माले कानुनी रूपमा नेपालमा अहिले टिकटक बन्द अवस्थामा रहेको उल्लेख गरिन् ।

‘‘अहिले पनि हाम्रो नेपाल टेलिकम, एनसेल लगायत ठूला सेवा प्रदायककाे इन्टरनेटबाट खुलिरहेको छैन । तर पनि कसैले भीपीएन र साना इन्टरनेट सेवा प्रदायकबाट टिकटक चलाइरहेका छन् ।’’ नियम कानुन पालना गर्ने र गराउने ठाउँमा भएकाले आफूहरूले भने टिकटक प्रयोग नगरेको उनले सुनाइन् । 

टिकटक एपसँग कुनै आग्रह, पूर्वाग्रह भएर भन्दा पनि पूर्वीय दर्शनमा अडिएको हाम्रो समाजअनुकूल हुनेगरी प्रयोग गर्नुपर्ने आफ्नो मान्यता रहेको शर्माले बताइन् । सामाजिक सञ्जाल विधेयक संसदमा दर्ता हुने प्रक्रियामा रहेकाले यस सम्बन्धमा कानुन बनाउँदा व्यापक छलफल हुने उनको भनाइ छ । 

यता टिकटकको अभिभावक कम्पनी बाइटडान्सले भने बारम्बार नेपाल सरकारलाई पत्र पठाउँदै प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरिरहेको छ । कम्पनीले हालसम्म सात पटक पत्र पठाइसकेको छ । 

“नेपाल सरकारसँग निरन्तर यो कार्यमा संलग्न भए पनि समाधान खोज्ने हाम्रो प्रस्तावलाई स्वीकार नगरिनु निराशाजनक छ,” १७ मेमा कम्पनीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पठाएको पत्रमा भनिएको छ, “यस प्रतिबन्धले उनीहरू (नेपाली प्रयोगकर्ता)को दैनिक जीवनमा परेको नकारात्मक आर्थिक प्रभावका लागि दिनहुँ उठिरहेको जनताको आवाजको बारेमा तपाईं अवगत हुनुहुन्छ भन्नेमा हामीलाई कुनै शंका छैन । यो प्रतिबन्धले सरकारको राजस्वमा समेत ठूलो नोक्सानी पुगेको छ ।”

टिकटकको पत्र तथा प्रतिबन्ध हटाउन भइरहेको कुराबारे भने मन्त्री शर्माले समितिको बैठकमा कुनै प्रतिक्रिया जनाइनन् ।

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८१ १७:५