काठमाडौं । जापानी क्यामेरा निर्माता निकोनले आफ्नो क्यामेराबाट खिचेका तस्वीर पत्ता लगाउने प्रविधि विकास गर्ने भएको छ । एआईबाट बनाइने नक्कली तस्वीरहरूका कारण अनलाइनमा विभिन्न चुनाैती आएपछि कम्पनीले नयाँ क्यामेरा प्रविधि विकास गर्न लागेकाे हाे ।
इन्डियन एक्सप्रेससँग कुरा गर्दै निकोन भारतका निर्देशक सज्जन कुमारले तस्वीरको प्रमाणीकरण र मौलिकता सुनिश्चित गर्न निकाेनले अन्य कम्पनीहरूसँगकाे साझेदारीमा प्रविधि विकास गरिरहेको जानकारी दिए । तर उनले साझेदार कम्पनीहरूकाे नाम खुलाएनन् ।
यो प्रविधि तयार भएपछि कुनै तस्वीर निकोन क्यामेराबाट खिचेको हो/होइन थाहा पाउन सकिने छ । यसका लागि कम्पनीले डिजिटल सिग्नेचर प्रयोग गर्नेछ । यो प्रविधि सोनी, लाइका जस्ता क्यामेरा कम्पनीले प्रयोगमा ल्याइसकेका छन् । लाइका एम११ पी र सोनीको अल्फा ९ मार्क थ्रीमा यो प्रविधि पाउन सकिन्छ ।
नक्कली तस्वीरहरू बनाएर गलत सूचना र राजनीतिक मुद्दालाई चर्काउन आजभोलि एआईबाट सिर्जित तस्वीर प्रयोग गर्न थालिएको छ । यसले क्यामेरा कम्पनीदेखि फोटो तथा समाचार एजेन्सीहरूलाई मर्कामा पारिरहेको छ ।
यही चुनाैतीलाई सम्बोधन गर्न एडोबी, माइक्रोसफ्ट, गुुगल, बीबीसी, ओपनएआई लगायतका कम्पनीहरूले कोअलेसन फोर कन्टेन्ट प्रोभेनेन्स एन्ड अथेन्टिसिटी (सीटूपीए) नामक संस्था खडा गरेका छन् । अहिले मेटा एआई तथा ड्याल-ई लगायतका एआई टुलबाट बनाएका तस्वीरमा लेबल राख्न थालिएको छ ।