close

पढ्दै कमाउन सक्ने गरी प्लस टुमा विशेष कम्प्युटर साइन्स पढाउँदै अरनिको कलेज

टेकपाना टेकपाना

असार १४, २०८१ २०:१३

पढ्दै कमाउन सक्ने गरी प्लस टुमा विशेष कम्प्युटर साइन्स पढाउँदै अरनिको कलेज

काठमाडौं । ललितपुरको ताल्छिखेलमा अवस्थित अरनिको इन्टरनेसनल सेकेन्डरी स्कुल एन्ड कलेजले ११ र १२ कक्षामा कम्प्युटर साइन्सको विशेष विषय सञ्चालन गर्ने भएको छ । विश्व परिवेशमा सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विद्यालयले कम्प्युटर साइन्सको विशेष कक्षा सञ्चालन गर्न लागेको हो । 

'स्पेसलाइज इन कम्प्युटर साइन्स' नाम दिइएको सो विषय ११ र १२ दुवै कक्षामा पढ्न सकिने छ । हुन त अहिले १२ कक्षासम्म राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा आधारित कम्प्युटर विषयको पढाइ पनि हुन्छ । 

तर उक्त विषय अत्यन्तै आधारभूत किसिमको भएकाले नयाँ पाठ्यक्रम अनुसार पढाउन लागिएको अरनिको कलेजका अनुसन्धान प्रमुख इन्जिनियर सरोज थापाले जानकारी दिए । उनका अनुसार विद्यालयले प्रयाेग गरेकाे पाठ्यक्रम नेपाल र अन्तर्राष्ट्रिय स्तरमा सफ्टवेयरको विकासमा संलग्न विभिन्न कम्पनीहरूले बजारकाे आवश्यकतालाई मध्यनजर गर्दै संयुक्त रूपमा विकास गरिएको हो । यो विशेष विषय भविष्यमा सफ्टवेयर विधामा काम गर्ने चाहना भएका विद्यार्थीलाई​ नभइ नहुने विषय भएकाले विद्यालयले सञ्चालनमा ल्याएको थापाले बताए ।

“नियमित कम्प्युटर साइन्स पढ्नेले राष्ट्रिय परीक्षा बोर्ड, १२ कक्षाका अनुसार नै पढ्ने र परीक्षा दिने गर्छन् । तर यो विशेष विषय उक्त कम्प्युटर विषयभन्दा परिष्कृत छ,” उनी भन्छन्, “यस विषयको पाठ्यक्रम विद्यालयको अनुरोधमा सफ्टवेयर उद्याेग आफैंले तयार पारेको हो । यसले उद्योगलाई जस्ताे जनशक्ति चाहिने हो, सोही अनुसार विद्यार्थीलाई योग्य बनाइ भविष्यमा कमाउँदै पढ्न समेत मद्दत गर्नेछ ।”

दुई वर्षको यो विषय अध्ययन गरेपछि विद्यालयले विद्यार्थीलाई प्रमाणपत्र समेत प्रदान गर्ने उनले जनाए । सो प्रमाणपत्रमा विद्यालय र विद्यालयसँग सहकार्य गर्ने कम्पनीहरूको अनुमोदन रहने भएका कारण पनि यस कोर्सलाई सामान्य कम्प्युटर विषयको रूपमा मात्र नभइ बजारमा काम गर्न तयार पार्ने विषयका रूपमा लिनुपर्ने उनी सुनाउँछन् ।

विद्यालयकाे यो उदाहरणीय प्रयासले १० वर्षमा १५ लाखलाई रोजगारी दिने सरकारी लक्ष्य साकार पार्न कतै न कतै भूमिका खेल्ने थापाको विश्वास छ । 

विद्यार्थीले आफ्नो नियमित पढाइ सकेपछि थप एकदेखि दुई घण्टा यो विषय पढ्नु पर्नेछ । अर्थात् दैनिक रूपमा अन्य विषय जसरी नै यसको पनि पठन हुने गर्छ । साथै यसको छुट्टै नियमित परीक्षा पनि सञ्चालन हुन्छ । तर सो परीक्षा, बोर्डको परीक्षाभन्दा भिन्न तरिकाले प्रयोगात्मक शैलीको हुनेछ ।

यसमा उद्योग क्षेत्रमा काम गरिरहेका दक्ष शिक्षकहरूले नै पढाउने छन् । जसले गर्दा विद्यार्थीलाई 'प्लस टु' पछि कुनै कम्पनीमा काम गर्न अथवा स्नातक तहमा अध्ययनसँगै काम गर्न सजिलो बनाउने थापाको भनाइ छ ।

अहिले यस विद्यालयमा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी विषयको पढाइ हुन्छ । ती सबै विषयमा भर्ना भएकाले विद्यार्थीहरूले ऐच्छिक रुपमा यो विषय पढ्न सक्छन् । तर यो विषय विज्ञान र व्यवस्थापनमा भर्ना भएका विद्यार्थीका लागि बढी केन्द्रित रहेको इन्जिनियर थापाको भनाइ छ ।

• समस्यासँग जुझ्ने र कम्प्युटेसनल सोचाइको विकास

यस कोर्सको पहिलो र महत्त्वपूर्ण उद्देश्य हो, समस्या समाधान (Problem solving) र कम्प्युटेसनल सोचाइको (Computational thinking) विकास ।

विद्यार्थीहरूलाई समस्याको विश्लेषण गर्ने, तिनलाई स-साना भागमा विभाजन गर्ने र समाधानको प्रभावकारी उपायहरू (Algorithms) खोज्न सिकाइने छ । यो क्षमता कम्प्युटर विज्ञानमा मात्र नभई जीवनका हरेक पक्षमा पनि उपयोगी हुनेछ ।

• प्रोग्रामिङको ज्ञान र यसको व्यावहारिक प्रयोग

दोस्रो उद्देश्य हो, प्रोग्रामिङ अवधारणाहरू सिक्नु र तिनलाई जीवन र समाजका वास्तविक समस्याहरूको समाधानमा प्रयोग गर्नु ।

विद्यार्थीहरूलाई प्रोग्रामिङ भाषाहरूको प्रयोगात्मक ज्ञान दिइनेछ र तिनलाई प्रयोग गरेर रोचक परियोजनाहरू (Projects) मा काम गर्न प्रेरित गरिनेछ । यसले विद्यार्थीहरूलाई सिर्जनशील र आविष्कारशील बन्न मद्दत गर्नेछ ।

• उद्योग स्तरका प्रक्रियाहरू, उपकरणहरू र सीपहरूको जानकारी

तेस्रो उद्देश्य हो उद्योगस्तरका प्रक्रियाहरू (industrial processes & practices), उपकरणहरू र सीपहरू (tools & technologies) की जानकारी दिने तथा विद्यार्थीहरूले उद्योगमा प्रयोग हुने विभिन्न उपकरण र प्रविधिहरू तयार गर्ने ।

यो कोर्सले विद्यार्थीहरूलाई स्नातक तहमा अघि बढ्नका लागि आवश्यक पर्ने आधारभूत जान प्रदान गर्नेछ । यसले उच्च शिक्षामा सहजै प्रगति गर्न सहयोग गर्नेछ ।

• स्वाधीन रूपमा काम गर्न सक्षम बनाउने

पाँचौँ र अन्तिम उ‌द्देश्य हो, वि‌द्यार्थीहरूलाई स्वाधीन (independent) रूपमा काम गर्न सक्षम बनाउने । वि‌द्यार्थीहरूलाई आफूले चाहेको ठाउँमा, चाहेको समयमा काम गर्न प्रेरित गरिने कलेजले जनाएको छ ।

यसले उनीहरूलाई स्नातक तहको शिक्षा पूरा गर्दा नै व्यावसायिक रूपमा काम गर्न सक्षम बनाउने तथा व्यावसायिकता (Entrepreneurship) को बानी विकास गर्ने कलेजको विश्वास छ । 


कस्तो छ विषय ?

यस विषयमा कूल छ ओटा मोड्युल छन् । जसमध्ये विद्यार्थीले ११ र १२ कक्षामा गरी तीन-तीन ओटा मोड्युल पढ्नु पर्ने हुन्छ । कोर्समा अपरेटिङ सिस्टम, नेटवर्किङ, डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम इन पाइथन, ब्याकइन्ड विथ गोल्याङ, प्रोजेक्ट म्यानेजमेन्ट लगायतका विषय रहेका छन् । 

अन्तिम मोड्युल ६ मा भने एआई एन्ड फ्युचर टेक्नोलोजी सम्बन्धी इन्टर्नशिप रहेकाे छ । इन्टर्नशिप अन्तर्गत विद्यार्थीले सम्बन्धित कम्पनीमै बसेर प्रोजेक्टमा काम गर्नु पर्नेछ । यस सम्बन्धी सम्पूर्ण व्यवस्था कलेजले मिलाउने थापा बताउँछन् ।

 

ती सबै मोड्युल तीन महिना अवधिका हुने छन् । विद्यार्थीलाई सैद्धान्तिक मात्र नभएर प्रयोगात्मक ज्ञान दिन विद्यालयले तीस जनाका लागि हुने कम्प्युटर ल्याब सञ्चालन गरिरहेको छ । साथै सम्पूर्ण मोड्युलको पठन तथा सिकाई परीक्षणका लागि प्रोफेसनलहरूको व्यवस्था पनि गरिएको छ ।

हालसम्म विद्यालयले ट्रि-लिफ टेक्नोलोजिज, अक्सफिन, क्राफ्टर्स, बिट आइकनिक र रोबोटेक नेपाल गरी पाँच ओटा आईटी कम्पनीसँग सहकार्य गरिरहेको छ । यी कम्पनीमा विद्यार्थीलाई सीप सिकाउने मात्र नभएर इन्टर्नशिप तथा उत्कृष्ट विद्यार्थीलाई रोजगारीको समेत अवसर मिल्ने थापाको भनाइ छ । 

१२ कक्षाको पढाइ पूरा हुन्जेलसम्म विद्यार्थीसँग आईटी सम्बन्धी विषयको प्रमाणपत्र तथा प्रोग्रामिङको ज्ञान हुने उनी बताउँछन् । यसका साथै कम्प्युटर साइन्स विषय पढिसकेका विद्यार्थीले कुनै एक सफ्टवेयर इन्जिनियरले गर्न सक्ने काममा योग्यता राख्ने उनको दाबी छ । 

विद्यालयका अनुसन्धान प्रमुख थापाका अनुसार नेपाल सरकारको भिजन अनुसार नै यस विषयले नेपालमा गुणात्मक आईटी प्राेफेसनल तयार पारी नेपाललाई​ विश्व आईटी प्रोफेसनल तयार पारी नेपाललाई​ आईटी मानचित्रमा दरो रूपमा स्थापित हुन मद्दत गर्नेछ ।

विद्यालयले यो विषयमा विद्यार्थी सिट सीमित गरेको छैन । त्यसो हुँदा विद्यालयमा भर्ना भएका इच्छुक सबै विद्यार्थीले यो विषय पढ्ने मौका पाउनेछन् । विद्यार्थीको भविष्यको उज्ज्वल यात्रामा सहयोगी बन्न पाउनु विद्यालयका लागि गर्वको विषय रहेको थापा सुनाउँछन् ।

पछिल्लो अध्यावधिक: असार १५, २०८१ १३:३२