close

अमेरिका, क्यानडा र बेलायतका कम्पनीहरूको पेरोल अटोमेट गर्ने नेपाली स्टार्टअप

सञ्जीवन राई सञ्जीवन राई

असार १७, २०८१ १६:२५

अमेरिका, क्यानडा र बेलायतका कम्पनीहरूको पेरोल अटोमेट गर्ने नेपाली स्टार्टअप

काठमाडौं । विश्वमा चलिरहेको भुक्तानी प्रणालीको वर्तमान समस्या समाधान गर्ने उद्देश्यका साथ सुरु भएको कम्पनी हो, न्युरल । यो नेपालमा आधारित ग्लोबल टेक कम्पनी हो । यसका सहसंस्थापक तथा अध्यक्ष हुन्, नवीन बास्कोटा । 

अहिले न्युरलको सेवा क्षेत्र अमेरिका, क्यानडा र बेलायत केन्द्रित छ ।  पेरोल पेमेन्टमा आधारित कम्पनी भएकाले यसको सेवा क्षेत्रमा यी देशहरू अटाएका हुन् । 

कुनै पनि कम्पनीले आफ्ना कर्मचारीलाई गर्नुपर्ने भुक्तानीको प्रक्रियालाई पेरोलको रूपमा बुझ्न सकिन्छ । अर्को शब्दमा भन्नुपर्दा कम्पनीले आफ्ना कर्मचारीलाई दिने तलब र उनीहरूको विवरण नै पेरोल हो ।

सहसंस्थापक तथा अध्यक्ष बास्कोटाका अनुसार न्युरलले अमेरिका र अन्य देशका कम्पनीहरूलाई पेरोल दिन, बिल भुक्तानी गर्ने, कर्मचारी नियुक्ति गर्ने, नियुक्ति पत्र दिने, कर तिर्ने लगायतका काममा सहयोग गर्छ । ती सबै काम न्युरलको प्रणालीमा स्वचालित ढङ्गले सम्पन्न हुन्छ । 

 

न्युरलका सहसंस्थापक तथा अध्यक्ष नवीन बास्कोटा ।

कोभिड महामारीपछि विभिन्न कम्पनीहरूले विश्वभरबाट जनशक्ति लिन थालेपछि न्युरलले यस प्रकारको सेवा उपलब्ध गराउन थालेको हो । यसो हुँदा सम्बन्धित कम्पनीलाई पनि फाइदा पुग्ने सहसंस्थापक बास्कोटा बताउँछन् । अन्तरदेशीय कर्मचारी राख्ने काम न्युरलको प्रणालीबाट २४ घण्टाभित्रमा सम्पन्न हुने उनी दाबी गर्छन् । 

यही काम गर्न पहिले छ/सात महिना लाग्ने गरेको उनको भनाइ छ । न्युरलले सेवाग्राही कम्पनीहरूलाई आफ्नो देश बाहिरका कर्मचारी नियुक्ति गर्न सजिलो बनाउँछ । फलस्वरूप कर्मचारीहरू पनि आफ्नै स्वदेशमा बसेर अन्तरदेशीय काम गर्न सक्षम हुन्छन् । 

यसरी विश्वस्तरमा इन्टरनेटको सहायताबाट पेरोल र मानव संशाधन (एचआर) को सेवा दिइएको न्युरलको मुख्य कार्यालय नेपालको  मानभवन, ललितपुरमा अवस्थित छ । जहाँ करिब २५/३० जना कार्यरत छन् । उनीहरूले प्रोडक्ट इन्जिनियर, फाइन्स, अपरेसन लगायतका क्षेत्रमा काम गरिरहेका छन् । 

विशेष गरी यहाँको टिमल नै न्युरलको प्रणाली विकास गरेको सहसंस्थापक बाँस्कोटाले बताए । अर्कोतर्फ अमेरिकामा भने न्युरलको लिडरशिप, सेल्स र मार्केटिङ टिम छन् । जहाँ करिब १७/१८ जना कार्यरत छन् । 

अर्को वर्ष अर्थात् सन् २०२५ सम्ममा नेपालको टिम दुई/तीन गुणाले बढ्ने उनी बताउँछन् । नेपाली टिममा प्रोडक्ट बनाउने मात्र नभएर ग्राहक सेवा, अकाउन्ट म्यानेजमेन्ट, सेल्स आदि हेर्ने जनशक्ति थप्ने योजना रहेकाले टिम बढ्ने उनको भनाई छ । 

न्युरलका कर्मचारीसँग बास्कोटा

सहसंस्थापक बाँस्कोटा लामो समय अमेरिका बसेर नेपाल फर्किएका उद्यमी हुन् । अमेरिका छँदा विभिन्न कम्पनी तथा आफ्नै स्टार्टअपमा काम गरेको अनुभव उनीसँग छ । 

त्यसै हिसाबले उनी नेपालमा कार्यालय सेटअप गर्नेदेखि इन्टरनेटसम्मका समस्या रहेको बताउँछन् । त्यसमाथि उनले सेवा दिइरहेका देशहरूसँग नेपालको टाइमजोन मिल्दैन । 

यद्यपि उनी नेपालमै बसेर स्थानीय जनशक्ति नै प्रयोग गरेर विश्व स्तरीय प्रोडक्ट र कम्पनी बनाउन लागि परेका छन् । उनका अनुसार नेपालमा विश्वस्तरीय इन्जिनियर छन् । यसको उदाहरण ६० हजार बढी आईटी जनशक्तिले नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गरिरहेको तथ्य हाम्रो सामु छ । तर, उनीहरूले पर्याप्त एक्सपोजर पाएका छैनन् । बास्कोटा यस्तै भन्छन् । 

त्यस्तै नेपालमा बसेर विदेशी कम्पनीको काम गर्ने अधिकांश आईटी कम्पनी आउटसोर्सिङ र परियोजनामा आधारित काम गर्ने उनको भनाई छ । तर न्युरल भने कम्पनीहरूले प्रत्यक्ष प्रयोग गर्ने प्रोडक्ट बनाउने गर्छ । 

यस प्रकारको उत्पादन बनाउन सुरुमा नेपाली इन्जिनियरहरूलाई सजिलो पक्कै थिएन । बास्कोटा आफैंले नेपाली टिमलाई अमेरिकाको आर्थिक प्रणाली, बैंकिङ प्रणाली र नयाँनयाँ प्रविधि प्रयोग गरेर कसरी आधुनिक प्लेटफर्म बनाउने भनेर तालिम दिए ।

वास्तवमा न्युरलले अमेरिकाको आर्थिक प्रणालीलाई आधुनिकीकरण गर्न खोजेको छ । त्यहाँको आर्थिक प्रणाली धेरै परिपक्व भए पनि समस्या विहीन भने नभएको उनको बुझाई छ । 

“अमेरिकामा कसैलाई पैसा पठाउनु परे तत्काल पाइँदैन । त्यसबिचमा तेस्रो पक्ष पनि संलग्न हुन्छ । त्यहाँ यस्ता ससाना समस्या छन् । जसको समाधान न्युरल बन्न सक्छ,” उनी भन्छन् ।  

नेपालमा आधारित कम्पनी भएकाले न्युरलले यहाँ सेवा दिन्छ/दिन्न भन्ने लाग्नु स्वभाविक पनि हुन्छ । तर अहिलेसम्म कम्पनीले नेपाली बजारमा आफ्नो सेवा विस्तार गरिसकेको छैन । प्राविधिक पाटोका आधारमा आर्थिक प्रणाली परिपक्व नभइसकेकाले न्युरलको सेवा नेपालमा उपलब्ध नभएको उनी सुनाउँछन् । 

आजभोलि नेपालमा क्रमिक रूपमा बैंक तथा वित्तीय क्षेत्र डिजिटलाइज हुँदै गइरहेको छ । तर अझैं पनि बिजनेस टु बिजनेस भने पछाडि नै छ । यदि आर्थिक प्रणाली परिपक्व हुन थालेपछि भने नेपालका लागि आफ्नो सेवा उपलब्ध गराउने उनी जनाउँछन् । 

न्युरलको कार्यालयमा कार्यरत कर्मचारीहरू

सरकारले समेत ‘टेक’ र ‘ट्यालेन्ट’ आफ्नो मुख्य आम्दानीको स्रोत हुन् भन्ने कुरा बुझेको उनी सुनाउँछन् । अहिले नै अर्बौं रुपैयाँको उद्योग भइसकेको आईटी क्षेत्र निरन्तर वृद्धि हुँदै जाने उनको विश्वास छ ।

अहिले न्युरलको उत्पादन तयार भएर बजारमा गइसकेको छ । यस अवधिमा विभिन्न परीक्षणका कारण उत्पादन पनि परिष्कृत भइसकेको छ । सोहीकारण अहिले आफूहरूले कम्पनीको विकास र विस्तारमा ध्यान दिइरहेको बास्कोटा सुनाउँछन् । 

नेपाली कम्पनीहरूलाई ‘प्रतिस्पर्धी लाभ’ भएकाले आफूले पनि त्यसको फाइदा लिइरहेको उनको भनाई छ । “अमेरिकी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न हामीलाई ‘प्रतिस्पर्धी लाभ’ छ । किनकी अमेरिकामा श्रमशक्ति महङ्गो छ । नेपाली जनशक्तिलाई राम्रै रकम तिरेपनि अमेरिकाको तुलनामा कम पर्छ,” उनी भन्छन् । 

उनका अनुसार कुनै बेलाको अमेरिका जस्तै नेपालको अवस्था अहिले छ । अझ उनी १०/१५ वर्ष अगाडिको इजरायलको अवस्थामा अहिले नेपाल भएको बताउँछन् । तर अहिले इजरायल प्रविधिको क्षेत्रमा निकै फड्को मारिसकेको छ । इजरालयले निजी क्षेत्रलाई प्रोत्साहन गर्न बाहिरी लगानी भित्र्याउन सहयोग गर्नेदेखि विदेशी मुलुकमा फैलिने कम्पनीलाई कार्यालय खोल्न समेत सहयोग गरिरहेको छ । अब नेपालमा पनि सोही प्रकारको सरकारी सहयोगको आवश्यकता भएको उनको धारणा छ । 

नेपाल सरकारले कोसिस गर्न थालेको भए पनि कार्यान्वयन निकै कमजोर भएकाले उनी शङ्काको नजरले हेर्छन् । तर कोही पनि सुरुमा शत प्रतिशत सफल नहुने तर्क गर्दै उनी आईटी क्षेत्रमा राखिएका योजनालाई सफल बनाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिन्छन् । 

न्युरलको लोगो

पछिल्लो समय नेपालमा स्टार्टअप कम्पनीहरू वृद्धि भइरहेका छन् । न्युरल पनि एक स्टार्टअप नै हो । विदेशमा कुनै कम्पनी सुरु गरेपछि मात्र नेपालमा कार्यालय खोल्ने प्रवृत्ति पनि छ । बाँस्कोटा स्वयंले पनि त्यसै गरेका हुन् । यसो गर्दा कम्पनीमा लगानी जुटाउन सजिलो हुने उनको अनुभव छ । 

नेपालमा सुरु गरेको कम्पनीलाई लगानी उठाउन जति गाह्रो पर्छ, त्यसको तुलनामा विदेशमा कम्पनी सुरु गर्नेहरूलाई सजिलो हुने उनी बताउँछन् । यसको कारण विदेशी लगानीकर्ताहरूलाई विदेशमा नै सुरु गरेका कम्पनीलाई बढी विश्वास गर्ने उनको बुझाई छ । 

त्यसमाथि नेपालको राजनीतिक प्रणाली स्थिर नहुनु, कानुनहरू स्पष्ट नहुनु आदि स्टार्टअपका लागि थप समस्याका विषय हुन् । जसलाई सरकारले मात्र समाधान गर्न सक्ने बाँस्कोटा बताउँछन् । 

उनका अनुसार स्टार्टअप भनेको ‘हाई रिस्क इन्टरप्राइज’ हो । सुरुआती चरणमा तलब राम्ररी नपाउने, अझ तलब नै नलिएर काम गर्ने, अरू कर्मचारी ल्याउन पनि गाह्रो हुने जस्ता समस्या आइरहेका हुन्छन् । कतिपय नयाँ प्रविधि भएकाले अनुसन्धान पनि गर्नुपर्ने हुन्छ । त्यसो गर्दा नाफामा जान धेरै समय लाग्न सक्ने उनी बताउँछन् ।

यस्तै प्रकारका स्टार्टअपहरूलाई २५ लाख रुपैयाँसम्म कर्जा दिएर सहयोग गर्न नेपाल सरकारले हालै प्रक्रिया थालेको छ । तर सरकारले त्यसरी कर्जा दिनुभन्दा अनुदानमा दिनु पर्नेमा उनको जोड छ । 

“उद्यमीहरूले यो यो क्षेत्रमा यस्तो यस्तो काम गरे यति वृत्ति दिन्छु भनेर सरकार लाग्नु पर्थ्यो । उनीहरूको सल्लाहकार जस्तो बनिदिनु पर्थ्यो,” उनी भन्छन्, “कर्जा दिने, तर त्यसपछि के के गर्ने भन्ने कुरा निश्चित छैन । त्यो नभइकन त योजना सफल हुँदैन । किनकी स्टार्टअपले कहाँ बजारीकरण गर्ने, कहाँ आफ्नो उत्पादन तयार पार्ने भन्ने जस्ता अन्योलता छन् ।”

अमेरिकामा भने स्टार्टअपलाई सरकारले कर्जा नभएर इन्कुबेसन सेन्टरमार्फत सहयोग गर्ने उनी सुनाउँछन् । त्यस्ता इन्कुबेसन सेन्टरले स्टार्टअपलाई लगानीमा सहयोग गर्ने, सम्भावित ग्राहकसँग जोडिदिने र नपुगेको कुरा बताइदिने लगायतका काम गर्छ । 

कार्य कक्षमा अतिथिसँगको भलाकुसारीमा बाँस्कोटा

त्यसमाथि स्टार्टअपका लागि लगानी उठाउने तरिका धेरै हुन्छन् । न्युरलले पनि अमेरिकाबाट राम्रै मात्रामा लगानी उठाएको छ । त्यसरी नेपालका स्थानीय स्टार्टअपले पनि लगानी उठाउन सक्ने उनको विश्वास छ । 

यसका लागि संस्थापकहरूले मुख्यत: सम्बन्ध विस्तार गर्नुपर्ने, स्टार्टअप आइडियाले समाधान गर्ने समस्यामा प्रस्ट हुनु पर्ने, आफ्नो उत्पादनले पैसा कमाउने कुरामा निश्चित हुनु पर्ने, आत्मविश्वास हुनु पर्ने उनी सुझाव स्वरूप बताउँछन् । तर नेपालमा भने पहिल्यै प्रोडक्ट बनाएर नाफा कमाएर लगानी जुटाउने भन्ने सोच रहेको उनको टिप्पणी छ ।

“एउटा विचारमा म यो गर्न सक्छु, यसले यो समस्या समाधान गरेर भविष्यमा यति पैसा कमाउन सक्छ भन्ने कुरामा विश्वस्त हुनु पर्छ । मान्छेसँगको नेटवर्क बढाउने, लगानीकर्ताहरूसँग कुराकानी गर्ने, नेपालमा मात्र सीमित नभएर विदेशमा समेत कुराकानी गर्ने, ठुलो जनसंख्यालाई प्रभाव पार्ने समस्या छान्ने काम गर्न सकिन्छ,” उनी भन्छन् ।

उनका अनुसार स्टार्टअपले जति ठुलो समस्या समाधान गर्न लाग्छ, त्यसमा लगानी जुटाउन उत्तिकै सजिलो हुने उनी बताउँछन् । यसलाई अझ स्पष्ट पार्न अमेरिका र सिङ्गापुरको भेन्चर क्यापिटलले नेपालको समस्या समाधान गर्न लगानी नगर्ने तर्क उनी गर्छन् । 

समग्रमा स्टार्टअपको लगानीका लागि भेन्चर क्यापिटल, एन्जल इन्भेस्टर, क्राउड फन्डिङ, बैंक तथा वित्तीय कम्पनी लगायतका विकल्प हुन्छन् । तर नेपालमा यो इकोसिस्टम हालै मात्र बन्न थालेकाले यसलाई बढावा दिन सबै पक्ष लाग्नु पर्ने उनी बताउँछन् । किनकी यो इकोसिस्टम बलियो बनेपछि सफल स्टार्टअपमा लगानी गरेको पैसा अरू स्टार्टअपमा पनि जाने गर्छ । 

यो पनि पढ्नुहोस्

वालस्ट्रिट-ट्वीटरको जागिर छोडेको नेपाली दम्पतीले सुरु गरेको वेब३ स्टार्टअप

 

पछिल्लो अध्यावधिक: असार १८, २०८१ १२:३०