close

६० किलो अवैध सुन तस्करीको भुक्तानीमा यसरी जोडिए २ डिजिटल वालेट कम्पनी

टेकपाना टेकपाना

असार १७, २०८१ १८:४९

६० किलो अवैध सुन तस्करीको भुक्तानीमा यसरी जोडिए २ डिजिटल वालेट कम्पनी

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो अवैध सुन तस्करीको भुक्तानीमा डिजिटल वालेट कसरी दुरुपयोग भएका थिए भन्ने विवरण सार्वजनिक गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै सीआईबीले ६० किलो अवैध सुन तस्करी प्रकरण सम्बन्धी प्रारम्भिक अनुसन्धानको जानकारी दिएको हो । 

२ साउन २०८० मा ६० किलो ७१६ ग्राम अवैध सुन बरामद भएको थियो । त्यसपछि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरको प्रतिवेदनले अवैध सुन भन्सार चोरी पैठारी तथा सङ्गठित अपराधतर्फ अनुसन्धान सुरु गरेको थियो । 

सोही सुन तस्करी प्रकरणमा पेवेल नेपाल प्रालि र सजिलोपे पेमेन्ट सर्भिसेज प्रालि संलग्न रहेको सीआईबीले जनाएको छ । विभिन्न मितिमा सीआईबीबाट खटिएको टोलीले वालेट कम्पनीमा संलग्न विभिन्न व्यक्तिलाई पक्राउ गरेको थियो । 

सीआईबीका अनुसार १२ वैशाख २०८० देखि २१ जेठ २०८१ सम्म पेवेलको वालेटमा ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार २५३ रूपैयाँ बराबरको ईमनी क्रेडिट भएको देखिएको छ । जसमध्ये सबैभन्दा बढी ६१ अर्व ५० करोड भौचर डिपोजिटबाट भएको देखिन्छ । त्यस्तै २ जेठ २०७८ देखि २१ जेठ २०८१ सम्म सजिलोपेको वालेटमा कूल ३६ अर्ब ९४ करोड ३५ लाख ७५ हजार २४७ रुपैयाँ बराबरको ईमनी लोड भएको देखिएको छ । त्यसमा पनि सबैभन्दा बढी १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७८५ रुपैयाँ बराबरको भौचर अपलोड गरी क्याश-इन गरेको देखिएको सीआईबीले जनाएको छ । 

सीआईबीका अनुसार अवैध सुन कारोबारबाट प्राप्त तथा स्रोत नखुलेको रकम पेवेल नेपाल प्रालि र सजिलोपे पेमेन्ट सर्भिसेजको खातामा निक्षेप, रकमान्तर, स्थानान्तरण, भुक्तानी र फर्स्यौट भएको थियो । यसमा सीआईबीलाई एक अर्बभन्दा बढीको भौचर र विवरण प्राप्त भएको छ । 

त्यस्तै ती वालेटबाट नेपाल राष्ट्र बैंकको स्वीकृति बिना एजेन्ट मार्फत नगद कारोबार गरेका थिए । पेवेल नेपालमा डिपोजिट गरेको बैंक भौचर नै भुक्तानीको उपकरणको रूपमा प्रयोग गरिएको सीआईबीको अनुसन्धानले देखाएको छ । 

“सेटलमेन्ट खातामा रहेको भन्दा अधिक ईमनी जारी गरेको पाइएको छ,” सीआईबीको विज्ञप्तिमा भनिएको छ, “बिना रकम मौज्दात ईमनी जारी गरेको पाइएको छ ।”

त्यस्तै नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागमा ती वालेट कम्पनीले दैनिक र मासिक रूपमा पेस गर्नुपर्ने विवरणमा गलत तथ्याङ्क पेस तथा विवरण लुकाएको सीआईबीले जनाएको छ । त्यसैगरी सेटलमेन्ट अकाउन्ट बाहेक अन्य खाताबाट ईमनी जारी गरी कारोबार गरेको समेत देखिएको छ । 

अवैध सुन प्रकरणमा कुंगाटासी शेर्पा भन्ने चिनिया नागरिक ‘GENGGA ZHAXI’ले क्रिप्टोकरेन्सी कारोबार गरी अवैध सुनको भुक्तानी दिने गरेको खुलेको छ । उनले एक अर्ब १५ करोड ९६ लाख ५६ हजार ४८८

रुपैयाँ भुक्तानी गरेका थिए । त्यस्तै सोनाम गुरूङ भन्ने ‘SHERAB GYALMO’ लगायतले पनि क्रिप्टोकरेन्सीमार्फत भुक्तानी गरेका थिए । क्रिप्टोमार्फत भुक्तानी दिने अन्य व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । यस प्रकरणमा हालसम्म २० जना प्राउ परेका छन् । त्यस्तै २६ जना नेपाली, भारतीय र चिनियाँ प्रतिवादी फरार रहेको सीआईबीले जानकारी दिएको छ । 

क्रिप्टोतर्फ सीआईबी एक खर्ब ४९ अर्ब ६८ करोड २८ लाख सात हजार रुपैयाँ बढीको बिगो मागदाबी गरेको छ । त्यस्तै पेवेल नेपालबाट ६१ अर्ब ५० करोड २६ लाख रुपैयाँ र सजिलो पेबाट १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार रुपैयाँ मागदाबी गरिएको सीआईबीले जनाएको छ । 

वालेट कम्पनीबाट पक्राउ परेका सञ्चालक तथा कर्मचारीहरू

१) पेवेल नेपाल प्रालिका सञ्चालक समितिका अध्यक्ष भिम प्रसाद तिमल्सिना

२) पेवेल प्रालिको सहायक प्रमुख कार्यकारी अधिकृत प्रवन्धक प्रज्वल आचार्य 

३) पेवेल प्रालिका लेखा प्रमुख सुरज शम्शेर ‘जवरा’

४)सजिलोपे पेमेन्ट सर्भिसेज प्रालिका सञ्चालक फुनसुक डाग्पा अथुपछाङ खम्पा

५) सजिलोपे पेमेन्ट सर्भिसेज प्रालिका सञ्चालक सुशील जाकिबन्जा

६) सजिलोपे पेमेन्ट सर्भिसेज प्रालिका प्रमुख कार्यकारी अधिकृत काश्यप मानन्धर

 

पछिल्लो अध्यावधिक: असार १७, २०८१ १९:०