काठमाडौं । चित्र बनाइरहँदा उनलाई त्यसभित्र आफै पस्न पाए झैं लाग्थ्यो । चित्रसँगै अन्तरक्रिया गर्न चाहन्थे । यसरी उनी स्थिर चित्रबाट चलायमान चित्रसँग बढी नजिक हुन थाले । उनी अर्थात् अशिम शाक्य ।
उनको परिचय एक होइन, अनेक छ । गेम डेभलपर, कलाकार अनि सङ्गीतकार । आज भने हामी उनलाई गेम डेभलपरको रूपमा नजिकबाट नियाल्ने प्रयास गर्ने छौं । किनकि उनी चर्चित पीसी गेम जीटीए जस्तै ग्राफिक्स भएको नयाँ गेम बनाउन छ वर्षदेखि लागिपरेका छन् । नेपाली स्वाद भएको गेम, त्यो नि एक्लै ।
ठ्याक्कै यो गेमको अन्तिम नाम निश्चित भइसकेको त छैन । तर अहिलेका लागि उनले यसको नाम ‘गाउँले’ राखेका छन् । गेमको मुख्य कथा गाउँबाट सुरु हुने र पात्रले गाउँबाट सहर छिरेर सङ्घर्ष गर्नु पर्ने भएकाले गाउँले राखेको उनको भनाइ छ ।
यसअघि पनि उनले यही गेमको नाम ‘कर्म’ र ‘अल्लारे’ राखेका थिए । तर, ती नाम उनी आफैंलाई चित्त बुझ्दो लागेनन् । अहिलेको नाम पनि अन्तिम भने होइन । विकासकै चरणमा भएकाले उनले गेमको नाम फेर्न सकिने विकल्प खुल्लै राखेका छन् ।
छोटकरीमा बुझ्दा उनले बनाउन खोजेको ओपन वर्ल्ड गेम हो, यो । अर्थात् यस गेममा खेलाडीले यही दिशामा गएर खेल्नु पर्छ भन्ने हुँदैन । खेलाडी गेम भित्र स्वतन्त्र तरिकाले जता मन लाग्छ त्यतै, फरक क्षेत्र तथा संरचना भएका स्थानतर्फ जान सक्छन् ।
यो सोलो पीसी गेम हो, खेलाडीले एक्लै खेल्नु पर्नेछ । त्यसमाथि अफलाइन भएकाले एक पटक डाउनलोड गरेपछि इन्टरनेट नभएपनि खेल्न सकिनेछ ।
डेभलपर शाक्यका अनुसार पहिलो पटक गेम खोल्दा परिचयात्मक भिडिओ आउनेछ । त्यसबाट खेलाडीले पात्रको पृष्ठभूमि थाहा पाउँछन् । र, गेमको कथा सुरु हुन्छ ।
जसमा मुख्य पात्रको बुबाले भविष्य बनाउन दबाब दिइरहेका हुन्छन् । तर पात्र अल्लारे हुने भएकाले बुबाको कुरा सुन्दैन । उल्टै साथीभाइलाई भेट्न जाने, उटपट्याङ काम गर्ने, यस्तै यस्तै कथामा गेम अघि बढ्छ ।
गेमलाई रोचक बनाउन शाक्यले लक्ष्य पनि रोचक बनाएका छन् । जस्तो कि मुख्य पात्रले भुइँचालो, पहिरो जस्ता प्राकृतिक प्रकोपमा फँसेका पर्यटक अथवा मान्छेहरूलाई बचाउन जानु पर्ने हुन्छ ।
यसले खेलाडीका लागि गेमलाई साहसिक बनाउने उनको अनुमान छ । जसै खेलाडीले लक्ष्य प्राप्त गर्छन्, त्यसमा उनीहरूले अङ्क बटुल्छन् । अन्य गेमभन्दा फरक बनाउने प्रयासमा यसो गरिएको उनी बताउँछन् ।
उसरी नै उनले गेममा नेपाली पारा ल्याउन खोजेका छन् । यसका लागि गेमको म्यापमा तराई, पहाड र हिमालका विभिन्न भूभाग राखेका छन् । यसका साथै गेममा भएका पात्र, घर, मन्दिर, बाटोघाटो आदिमा नेपालीपन दिन निकै मेहेनत गरेका छन् ।
हालै मात्र उनले काठमाडौं उपत्यकाको म्यापलाई गेममा राख्न खोजेका थिए । तर एकदेखि अर्को ठाउँमा जान म्याप धेरै ठूलो भएकाले अहिलेलाई उक्त योजनालाई थाती राखेका छन् ।
त्यसको साटो यसअघि आफैंले बनाएको साढे दुई किलोमिटर वर्ग क्षेत्रफलको काठमाडौंको म्यापलाई गेममा समावेश गरेका छन् । भविष्यमा भने वास्तविक काठमाडौंको म्यापलाई गेममा समेट्ने उनको सोच छ ।
अहिलेसम्म उनले गेम सार्वजनिक गर्ने मिति तोकिसकेका छैनन् । मिति नै तोक्न उनले नचाहेका पनि होइनन् । तर, मिति तोक्दा मान्छेहरूले अपेक्षा गर्ने र आफैंलाई पनि दबाब हुने भएकाले त्यसो गर्न नसकेको उनी प्रस्ट्याउँछन् । बरु सार्वजनिक गर्न समय लागेपनि खेलाडीले राम्रो गेम पाउन् भन्नेमा आफ्नो ध्यान केन्द्रित गरेको उनी बताउँछन् ।
अशिमले आजसम्म यो गेमको तयारी करिब सकाइसकेका छन् । उनका अनुसार सबै कुरा योजना अनुरूप अगाडि बढे २०२४ को अन्त्यसम्ममा गेम सार्वजनिक हुनेछ । तर यो गेमभन्दा अघि यसैमा आधारित अर्को गेम सार्वजनिक गर्ने सोचाइ उनले बनाएका छन् ।
जुन यो गेमको डेमोको रूपमा रहने उनको भनाइ छ । अथवा वास्तविक गेमको सानो भर्सन । तर त्यसमा वास्तविक गेममा भएका सबै म्याप उपलब्ध हुने छैनन् । तर खेलाडीहरूले नि:शुल्क खेल्न सक्ने छन् । जसले गेमरहरूलाई आफ्नो कम्प्युटरमा वास्तविक गेम चल्ने/नचल्नेबारे परीक्षण गर्न सक्ने उनको बुझाइ छ ।
सामान्यतया जीटीए, कल अफ ड्युटी जस्ता पीसी गेम बनाउन धेरै डेभलपरको संलग्नता हुन्छ । शाक्य भने एक्लै डटीरहेका छन् । उनी आफैं पनि एक्लै गेम बनाउनु निकै चुनौतीपूर्ण हुने स्वीकार गर्छन् । यद्यपि त्यस्ता सबै चुनौतीलाई सामना गरेर उनी आफ्नो प्रयास प्रति सन्तुष्ट सुनिन्छन् ।
त्यसमाथि यस्तो चुनौती कम गर्न उनले ठुलो गेम बनाउनु लागिपरेको कुरा दिमागमा आउन दिंदैनन् । त्यसरी सोचे मानसिक दबाब सिर्जना भएर गेम बनाउनबाटै दुरुत्साहित भइने उनी बताउँछन् । बरु गेम बनाउने कार्यलाई आफूले कला कर्मको रूपमा लिइरहेको उनको भनाइ छ ।
“मैले जसरी डिजिटल आर्ट, एनिमेसन गरें, त्यसरी नै यो मेरो कला हो भनेर सोचिरहेको छु,” उनी भन्छन्, “किनकी पौवा बनाउँदा पनि धेरै समय लाग्छ । धेरै विवरण हाल्नु पर्छ । तर पौवा राम्रो हुन्छ ।”
शाक्यले सिर्जना गरेको डिजिटल आर्ट
त्यसमाथि एक जनाको दिमागले काम गरे त्यो स्वत: आफैं मिल्ने उनी तर्क गर्छन् । उनकै भाषामा खिचडी जस्तो हुँदैन । शाक्यलाई यसरी एक्लै काम गर्न उनको कलातर्फको पृष्ठभूमिले पनि सघाइरहेको छ । “जति नै गाह्रो भए पनि चित्र आफैंले बनाउनु पर्ने हुन्छ । ‘तिमी मुख बनाउँदै गर, म हात बनाउँदै गर्छु’ भन्न मिल्दैन । जति समय लागे पनि आफैंले पेन्टिङ पूरा गर्नुपर्ने हुन्छ,” उनी थप्छन् ।
कसरी बनिरहेको छ गेम ?
‘गाउँले’ गेमको हकमा उनलाई यसमा नेपाली परिवेश र जनजीवन भर्नु छ । हामी जसरी हिड्छौं, त्यसरी नै हिड्न मिल्ने पात्र हुनु पर्छ भन्ने छ । नेपाल झल्कनु पर्छ भन्ने छ ।
यसका लागि गेममा देखिने डाँडापाखा, भवन, सडक, सवारीसाधन आदिलाई उनले अनलाइन स्रोतहरूबाट लिएका छन् । तर मन्दिर, नेपाली शैलीको घर, नेपाली भेष पहिरिएको पात्र भने उनी आफैंले डिजाइन गरेका हुन् ।
गेममा प्रयोग हुने कतिपय एनिमेसन पनि अनलाइनमा किन्न पाइन्छ । तर पात्रले खुकुरी निकालेको, सारङ्गी बजाएको, चामल केलाएको एनिमेसन भने उनी आफैंले बनाएका छन् ।
मूलत: भिडिओ गेममा भिजुअल ग्राफिक्स, एनिमेसन, अडिओ जस्ता सामग्रीले विशेष अर्थ राख्छ । उनी आफैं पनि एनिमेसन बनाउनेभन्दा पनि कति बेला बजाइन्छ, त्यसले फरक पार्ने बताउँछन् । यदि सहि तरिकाले मिलेन भने गेमको स्वाद नै खल्लो हुने उनी बताउँछन् ।
अडिओको काम गर्न भने तुलनात्मक रूपमा सजिलो भएको उनको अनुभव छ । कुनै पनि गेमका पात्रको आवाज फरक हुन्छ । यो गेममा मुख्यसँगै अन्य कैयन् पात्र समेत हुने छन् । तिनका लागि उनी सुरुका दिनमा परिवारकै सदस्यलाई अडिओ रेकर्ड गर्न लगाउँथे ।
आजभोलि भने उनले अनलाइनमार्फत अरूहरूलाई अडिओ पठाउन आग्रह गर्छन् । त्यसरी आएका मध्ये राम्रो अडिओलाई उनले गेममा समावेश गर्छन् ।
गेम बनाउन सामान्यतया: कोडिङको पनि ज्ञान हुनु पर्छ । उनी आफैं गेमका लागि कोडिङलाई एउटा टुलको रूपमा लिन्छन् । अनरियल इन्जिनको भिजुअल स्क्रिप्टिङ (ब्लु प्रिन्ट) प्रयोग गर्छन् ।
यसले कोडिङ गरिरहनु नपर्ने उनको भनाइ छ । यद्यपि गेम डेभलपरसँग तार्किक क्षमता अथवा समस्या समाधान गर्ने सीप भने हुनु पर्ने उनी बताउँछन् ।
समग्रमा एक्लै गेम बनाउन डेभलपरलाई कोडिङ, ग्राफिक्स, एनिमेसन लगायतका विभिन्न सीप चाहिन्छ । उनी भने माया, नो म्याड स्क्प्लट, सब्सट्यान्स मटेरियल्स, फोटोशप, मार्बरस डिजाइन, प्रिमियर प्रो, अडिसन, कासकेड्युर, मोक्याब किट जस्ता सफ्टवेयर प्रयोग गर्छन् ।
शाक्यले गेम बनाउन घरमै सामान्य कम्प्युटर सेटअप गरेका छन् । कम स्पेक्स भएको हार्डवेयरबाटै गेम बनाए अन्य कम्प्युटरमा चाँडो चल्ने उनको बुझाई छ । त्यसैले नै सेटअप सामान्य प्रकारको राखेको उनी बताउँछन् ।
यो गेम खेल्न भने गेमरको कम्प्युटरमा आरटीएक्स कार्ड भए पुग्ने उनको भनाइ छ । यद्यपि यो उनको पहिलो गेम भने होइन । यसअघि पनि उनले बनाएका केही मोबाइल गेम अझै पनि प्ले स्टोरमा पाउन सकिन्छ । त्यस्तै विदेशीलाई नै लक्षित गर्दै उनले ‘फ्लाइट’ नामक गेम बनाएका थिए ।
त्यसमा पात्रले उड्नु मात्र पर्छ । “विभिन्न लक्ष्य प्राप्त गर्न दैनिक दौडधुप गरिरहेको हामी गेममा पनि दौडधुप गरिरहेका हुन्छौं । कम्तीमा गेम खेल्दा शान्त हुनु पाइयोस्,” उनी भन्छन्, “यसकारण गेम खेल्दा ध्यान गरेजस्तो होस् भनेर मैले ‘फ्लाइट’ बनाएको थिएँ,”
यो गेम युरोपमा बढी बिक्री भएको उनी बताउँछन् । यसबाट उनले पहिलो महिनामै चार हजार डलर कमाएका थिए । नेपालमा भने शान्त गेम नचल्ने उनको बुझाई छ । त्यसैले पनि ‘गाउँले’मा उनले भाँडभैलो मच्याउने टन्नै पात्र रचेका छन् ।
यो गेम सशुल्क हुनेछ । तर सबैले खरिद गर्न सक्ने गरी शुल्क राख्ने तयारीमा उनी छन् । किनकी सोलो गेम संसारभर नै प्राय: किनेर खेल्ने ट्रेन्ड रहेको उनको बुझाइ छ । यद्यपि यो अनलाइन नभएर अफलाइन गेमको रूपमा आउनेछ । सर्भरका लागि धेरै खर्च लाग्ने र प्राविधिक रूपमा पनि चुनौती हुने भएकाले यो गेम अनलाइन नबनाउने उनले बताए ।
‘गाउँले’को निर्माण सम्पन्न गर्न शाक्य अहिले शनिबार छोडेर दैनिक १८ घण्टासम्म खटिरहेका छन् । बिहान ८ बजेतिर उठ्ने उनी रातको दुई/तीन बजेसम्म काम त्यसैमा लागि रहेका हुन्छन् । गेममा नयाँ कुरा थप्नभन्दा पनि बग (समस्या) भेटिए समाधान गर्न बढी समय लाग्ने गरेको उनको भोगाइ छ ।
शाक्यको डिजिटल सम्पत्ति
यसरी सोलो गेम डेभलपरका रूपमा सक्रिय शाक्य ललितकला पढ्न सिर्जना फाइन आर्ट्स कलेज र काठमाडौं विश्वविद्यालय गएका थिए । तर स्नातक तह नै उत्तीर्ण गर्न सकेनन् । त्यसपछि स्वअध्ययनबाट कलाकारिता सिकेका उनले एनिमेसन, डिजिटल आर्ट्समा लागेर त्यसैमा दक्षता बटुले ।
गेम बाहेक उनको कमाइको स्रोत तिनै एनिमेसन र डिजिटल आर्ट्स नै हुन् । गेममा मात्र भर पर्दा आर्थिक रूपमा गाह्रो पर्ने उनी बताउँछन् । अहिले सार्वजनिक भइसकेका गेमबाट र बेला बेला क्लाइन्टका आउने फ्रिल्यान्सिङ कामबाट उनले आम्दानी गरिरहेका छन् । अर्को शब्दमा भन्नुपर्दा उनको आम्दानी नै डिजिटल सीप र सम्पत्तिबाट भइरहेको छ ।
उनी आफूले अस्वीकार गरेका फ्रिल्यान्सिङको कामलाई ‘गाउँले’को लगानी ठान्छन् । यसर्थ उनी यसबाट उत्तिकै आशातीत पनि छन् । अनि उत्तिकै बेफिक्री पनि । किनकी कम्प्युटर शिक्षक हुँदाकै बखत ग्राफिक्स डिजाइनर र अनि पछि आर्ट डाइरेक्टरको रूपमा काम गरेका उनलाई गेमबाहेक अन्य काम गर्न पर्खिरहनु पर्दैन । अथवा भनौं, गेम मात्र नै उनको अन्तिम विकल्प होइन ।
डिजिटल आर्ट्स र एनिमेसनबाट पनि उनको राम्रै आम्दानी हुन्छ । सन् २०१२ तिर डिजिटल आर्ट्समा छिरेका उनले यसमा राम्रै गरेका छन् । विभिन्न विषयमा आधारित दर्जनौं कला बनाएका छन् । त्यसरी काम गर्दै गर्दा उनलाई एनिमेसन र गेम डेभलपमेन्टमा रुचि बढेको हो । अनि, स्वअध्ययन गर्दै सिक्दै शाक्य यो स्थानमा आइपुगे ।
विशेषतः उनको काम विदेशी प्रति लक्षित हुन्छन्, चाहे गेम होस् वा डिजिटल आर्ट्स । तर नेपालबाट डिजिटल सम्पत्ति बेचेर क्रियटरले पैसा ल्याउने सही वातावरण नहुँदा गाह्रो भइरहेको उनको अनुभव छ । यसले फ्रिल्यान्सिङ गरिरहेका क्रियटरलाई बाँच्न गाह्रो मात्र नभइ गैर-कानुनी कारोबार बढ्ने उनको चिन्ता छ ।
“डिजिटल वस्तु तथा सेवा किन्न सरकारले डलर कार्डको व्यवस्था गरेको त छ । तर विदेशमा मात्र पैसा पठाउन मिल्ने,” उनी भन्छन्, “यहाँका ग्राहकले डिजिटल आर्ट्स/गेम किन्दा अन्य तरिका अपनाउनु पर्छ । सरकारले नेपालमा यस्तो गर्ने मान्छे छैनन् भन्ने सोच्छ कि खै !”