close

फोनको क्यामेराले काम गरिरहेको छैन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

असार २५, २०८१ १६:११

फोनको क्यामेराले काम गरिरहेको छैन ? यसो गर्नुहोस्

काठमाडौं । कतिपय अवस्थामा फोनको क्यामेराले काम गर्दैन । विशेषगरी अलि पुराना फोनमा यस्तो समस्या हुने गर्छ । क्यामेरा एप खोल्दा कालो देखिने, एप नै नखुल्ने, एप खुले पनि फोकस नहुने जस्ता समस्या हुन्छन् ।

क्यामेरा नचल्नुका विभिन्न कारण हुन्छन् । जस्तो; फोनमा करप्ट सिस्टम फाइल हुँदा, अस्थायी बग भेटिँदा, फोनमा भौतिक क्षति पुग्दा क्यामेरा नचल्ने हुन सक्छ । यदि तपाईंको एन्ड्रोइड फोनमा पनि यस्तै समस्या भइरहेको छ भने निम्न उपाय अपनाउन सक्नुहुन्छ:​

डिभाइस रिस्टार्ट गर्ने 

एन्ड्रोइडमा भएका केही बगहरू फोन रिस्टार्ट गर्दा समाधान हुन्छन् । समस्या समाधान गर्ने यो सरल अस्थायी तरिका हो । 

स्टोरेज खाली गर्ने

फोनमा भएको मेमोरी फुल हुँदा समेत क्यामेराले काम गर्दैन । किनकि स्टोरेजमा थप फोटो सेभ हुँदैन । यसकारण तपाईंले फोनमा स्टोरेज पर्याप्त राख्नु पर्छ ।

सफ्टवेयर अपडेट गर्ने

डिभाइसमा यदि सफ्टवेयर अपडेट उपलब्ध छ भने त्यसलाई गरिहाल्नुहोस् । किनकि नयाँ सफ्टवेयर अपडेटमा विभिन्न बगहरू समाधान भएर आएका हुन्छन् । आफ्नो फोनको सफ्टवेयर अपडेट थाहा पाउन तपाईं फोनको सेटिङमा जानुपर्ने हुन्छ ।

क्यामेरा एप फोर्स क्लोज गर्नु  

एपको फोर्स क्लोज गर्नु भनेको एपलाई स्थायी तरिकाले नहटाई अस्थायी रुपमा चल्नबाट रोक्नु हो । यदि क्यामेरा एप चलिरहेको छैन भने तपाईंले एपको फोर्स क्लोज पनि गर्न सक्नुहुन्छ । यसका लागि एप आइकनमा लामो समय प्रेस गरेर इन्फर्मेसन आइकन (‘i’ जस्तो) मा क्लिक गर्न सक्नुहुन्छ ।

अब तपाईंले फोर्स स्टपको विकल्प देख्न सक्नहुन्छ । अथवा तपाईंले एपको क्यास मेमोरी डिलिट गर्न सक्नुहुन्छ । इन्फर्मेसन आइकनमा क्लिक गरेपछि यसको पनि तपाईंले विकल्प देख्न सक्नुहुन्छ ।

अन्य थर्ड पार्टी क्यामेरा बन्द गर्नु  

यदि तपाईंको फोनमा मुख्यबाहेक अन्य थर्ड पार्टी क्यामेरा एप राख्नु भएको छ भने तिनलाई हटाउनुहोस् । किनकि ती एपमा भएका बगका कारण पनि क्यामेराले काम नगरिरहेको हुन सक्छ । 

फोनलाई चिसिन दिनु 

कहिलेकाहीँ फोन निकै तातिएको छ भने केही फिचरहरू अस्थायी समयका लागि बन्द हुन सक्छन् । यसले फोनमा थप क्षति हुनबाट जोगाउँछ । तपाईंको फोन अत्यधिक तातिएको छ, र क्यामेरा एप चलिरहेको छैन भने फोनलाई केही बेर त्यत्तिकै छाड्नुहोस् । ताकि फोन सामान्य अवस्थामा फर्कियोस् । 

नचलिरहेको क्यामेरा एपलाई चल्ने बनाउन यी बाहेक पनि अन्य उपाय छन् । तर सकेसम्म तपाईंले क्यामेरा एप किन चलिरहेको छैन भन्ने थाहा पाउनु पर्ने हुन्छ । यदि सफ्टवेयरको समस्या भए माथिका उपाय अपनाउन सक्नुहुन्छ । यदि फोनमा भौतिक क्षति पुगेको छ भने प्राविधिकलाई देखाउनुहोस् ।

पछिल्लो अध्यावधिक: असार २५, २०८१ १६:२०