close

ट्राफिक बत्ती व्यवस्थापनका लागि एआई प्रयोग गर्दै गुगल

टेकपाना टेकपाना

साउन १७, २०८१ १४:८

ट्राफिक बत्ती व्यवस्थापनका लागि एआई प्रयोग गर्दै गुगल

काठमाडौं । ट्राफिक लाइट स्मार्ट बनाई प्रदूषण न्यूनीकरण गर्न गुगलले ‘प्रोजेक्ट ग्रिन लाइट’ सुरु गरेको छ । गुगल म्याप्समा भएको डेटा र आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी गुगलले ट्राफिक लाइटलाई स्मार्ट बनाउने परियोजना अगाडि सारेको हो । 

सहरी क्षेत्रमा हुने अव्यवस्थित ट्राफिक लाइटका कारण अनावश्यक जाम भइरहेको हुन्छ । त्यस्तोमा सवारी साधन रोकिंदा पनि स्टार्ट भइरहेका हुन्छन् भने कतिपय विस्तारै अगाडि बढिरहेका हुन्छ । जसले गर्दा अनावश्यक रूपमा कार्बन उत्सर्जन बढी भइरहेको हुन्छ । यसैलाई एआईको सहायताले व्यवस्थित बनाउने कम्पनीले जनाएको छ । 

गुगलले कसरी गुगल म्यापको डेटा प्रयोग गरी ट्राफिक लाइटलाई स्मार्ट बनाउन सकिन्छ भन्ने विषयको जानकारी सोमबार एक ब्लगमार्फत सार्वजनिक गरेको छ । 

गुगलले सुरु गरेको प्रोजेक्ट ग्रिन लाइट अन्तर्गत सबैभन्दा पहिले एआईले कुनै पनि रुटमा सवारी साधनको चापबारे अध्ययन गर्छ । खासगरी कुनै पनि सवारी साधन कति समय रोक्छ, जाममा कति समय पर्खिनु पर्छ, अनि ट्राफिक लाइटहरू केन्द्रीय रूपमा व्यवस्थित छन् कि छैनन् भन्ने विश्लेषण गर्छ ।

त्यसपछि एआई नै ट्राफिकको चापलाई कसरी सुधार गर्न सकिन्छ र रातो बत्तीलाई रुटमा सवारीको चाप अनुसार कति समय बाल्ने भन्ने तरिका पहिचान गर्छ । 

त्यसबाहेक यसले सहरी रुट व्यवस्थापनमा खटिएका इन्जिनियरलाई कुनै पनि ठाउँमा भएका ट्राफिक प्रणालीलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयको सुझाव पनि दिन्छ । 

सुरुवाती चरणमा प्रोजेक्ट ग्रिन लाइट विश्वका दर्जन बढी सहरमा परीक्षण भइसकेको छ । खासगरी अत्यधिक ट्राफिक हुने सहर जस्तै रियो द जेनेरियो, सियटल, बैङ्गलोर, बोस्टन लगायतका सहरमा यो प्रणाली परीक्षण भइसकेको छ ।

प्रणाली परीक्षण भएका सहरलाई गुगलले ड्याशबोर्ड उपलब्ध गराएको छ । सो ड्याशबोर्डमा ट्राफिक फ्लोको डेटा र त्यसलाई व्यवस्थापन गर्ने सुझावहरू राखिएको बताइएको छ ।

गुगलको एआई टुलले दिएका सुझाव अपनाउँदा यात्रुले ट्राफिकको रातो बत्ती बलेको क्षेत्र नभई हरियो बत्ती बलेको बाटोतर्फ मोडिन्छ । यसबाट सकारात्मक परिवर्तन देखिएको दाबी गरिएको छ । 

अहिलेसम्म ‘प्रोजेक्ट ग्रिन लाइट’ ७० भन्दा बढी दोबाटो (इन्टरसेक्सन बाटो) मा प्रयोग भएको छ । 

सुरुवाती चरणमा गुगलको यस परियोजनाले कुनै पनि रेड लाइटमा कार रोकिनुपर्ने अवस्थालाई ३० प्रतिशतले घटाएको छ भने हरेक मोडमा प्रदूषण १० प्रतिशतले घटाएको छ । 

गुगलले यो परियोजना विश्वका सयौं सहरका हजारौं मोडमा विस्तार गर्ने योजना बनाएको छ । यसले भविष्यमा उचित ढङ्गले ट्राफिक व्यवस्थापन गर्ने गुगलको विश्वास छ ।

पछिल्लो अध्यावधिक: साउन १७, २०८१ १४:२२