close

युट्युबको काँचुली फेरेर अस्ताइन् सुसान वोज्सिकी

टेकपाना टेकपाना

साउन २७, २०८१ १४:४९

युट्युबको काँचुली फेरेर अस्ताइन् सुसान वोज्सिकी

काठमाडौं । युट्युबलाई आजको नम्बर एक भिडिओ शेयरिङ प्लेटफर्म बनाउन सबैभन्दा धेरै कसैको योगदान छ भने त्यो नाम हो सुसान वोज्सिकी । नाै वर्षसम्म उनले युट्युबको कार्यकारी प्रमुख अधिकृत (सीईओ) भएर काम गरिन् ।

वोज्सिकीको नेतृत्वमा युट्युबले छोटो समयमै विश्वव्यापी सफलता हासिल गर्‍यो । उनको दूरदर्शी सोच र कुशल नेतृत्वले गर्दा आज हामी जुन युट्युब चलाउँछौँ, त्यो सम्भव भएको हो ।

उनै वोज्सिकी हिजो शनिवार सधैंका लागि यस धर्तीबाट विदा भइन् । तर, युट्युबमा उनले दिएको योगदान भने कालान्तरसम्म रहिरहने निश्चित छ । एक सानो स्टार्टअपबाट विश्वव्यापी सञ्जालमा परिणत गर्न उनले युट्युबमा थुप्रै परिवर्तन र नवप्रवर्तन ल्याइन् । 

सुसानको निधनले युट्युबका लाखौं प्रयोगकर्तासँगै प्रविधिप्रेमी स्तब्ध बनेका छन् ।

सन् १९९९ मा गुगलमा जोडिएकी उनी सन् २०१४ देखि २०२३ सम्म युट्युबको सीईओ बनेकी थिइन् । वोज्सिकीलाई प्रविधि क्षेत्रकै सफल र चर्चित महिला मानिन्छ । टाइम म्यागजिनले उनलाई इन्टरनेटमा सबैभन्दा शक्तिशाली महिला भनेर प्रशंसा समेत गरेको छ ।

गुगलमा उनको प्रवेशको कथा रोचक छ । उनले सन् १९९८ मा गुगलको सहसंस्थापकहरू ल्यारी पेज र सर्गेई ब्रिनलाई आफ्नो ग्यारेज भाडामा दिएर प्राविधिक उद्योगमा आफ्नो करियर सुरु गरेकी थिइन् । 

गुगलमा जोडिएपछि उनी गुगलको पहिलो मार्केटिङ म्यानेजर बनिन् । र, पछि गुगलको अनलाइन विज्ञापन व्यवसायको नेतृत्व समेत गरिन् । तर, कम्पनीमा जोडिएपनि ‍गुगलले युट्युबलाई अधिग्रहण गरिसकेको थिएन । गुगललाई युट्युब किन्न उनैले सुझाएकी हुन् । त्यसपछि नै गुगलले सन् २००६ मा युट्युबलाई १.६५ बिलियन डलरमा युट्युबलाई किनेको थियो । 

आज हामी उनले आफ्नो कार्यकालमा युट्युबमा गरेका केही प्रमुख सफलताहरूबारे चर्चा गर्ने छौं:

-विज्ञापन मोडेल

उनले युट्युबमा विज्ञापन मोडेलको विकास गरिन्, जसले युट्युबलाई आर्थिक रूपमा सक्षम बनायो । उनले भिडिओहरूसँग सम्बन्धित विज्ञापनहरू प्रदर्शन गर्ने एक नवीन प्रणालीको विकास गरिन् । यसले युट्युबलाई निःशुल्क सेवा प्रदान गर्दैै आर्थिक रूपमा टिकाउ बनाउन सघायो ।

-युजर इङ्गेजमेन्ट 

अहिले युट्युब सफल स्ट्रिमिङ प्लेटफर्म बन्नुमा युजर इङ्गेजमेन्टको ठूलो भूमिका छ । वोज्सिकीको नेतृत्वमा युट्युबले मज्जैले यसको स्वाद चाख्न पायो ।

सन् २०१९ मा पहिलो पटक युट्युबले मासिक दुई अर्ब सक्रिय प्रयोगकर्ता पाएको थियो । साथै प्रयोगकर्ताहरूले दैनिक एक अर्ब घण्टा बराबरको भिडिओ हेर्ने आँकडा पार भएको थियो । यस वृद्धिले युट्युब विश्वव्यापी रूपमा चर्चित रहेको कुराको पुष्टि गर्थ्यो ।

-क्रियटरका लागि मनिटाइजेसन 

वोज्सिकीले आफ्नो नेतृत्वमा युट्युब क्रियेटरहरूका लागि मनिटाइजेसनको १० ओटा विकल्प ल्याएकी थिइन् । जसमा च्यानल मेम्बरसिप्स, मर्चेन्डाइज सेल्स, सुपर च्याट जस्ता फिचर पनि पर्छन् ।

अनि २०२१ सम्ममा युट्युबले क्रियटरहरूलाई ३० अर्ब डलरभन्दा बढी रकम बाँडेको थियो । उनले युट्युब पार्टनर प्रोग्रामको सुरुवात गरिन्, जसले कन्टेन्ट क्रियेटरहरूलाई आफ्नो भिडिओहरूबाट आम्दानी गर्न सक्षम बनायो ।

-युट्युब प्रिमियम र युट्युब टिभी  

युट्युबको आम्दानीको स्रोतलाई समेत बढाउन उनको विशेष भूमिका छ । उनले नै युट्युब प्रिमियम (साविकको युट्युब रेड) र युट्युब टिभी लञ्च गरेकी थिइन् ।

यी प्लेटफर्ममा भिडिओ हेर्न प्रयोगकर्ताले पैसा तिर्नुपर्ने हुन्छ । त्यसको साटो प्रयोगकर्ताले भिडिओ हेरिरहँदा विज्ञापन भने हेर्नु पर्दैन । 

-युट्युब शर्ट्स

भलै यो फिचर टिकटकबाट साभार गरिएको होस्, वोज्सिकीले सन् २०२० मा युट्युब शर्ट्सको सुरुवात गरिन् ।

टिकटकको विकल्प खोजिरहेकाहरूका लागि यो निकै उपयोगी बनिदियो । अहिले युट्युब शर्ट्समा ५० अर्बभन्दा बढी दैनिक भ्युज पार गर्ने बताइन्छ ।

-युट्युबको विस्तार

वोज्सिकीले युट्युबमा बहुभाषी समर्थनलाई प्राथमिकता दिइन् । यसले विश्वभरका प्रयोगकर्ताहरूलाई आफ्नै भाषामा भिडिओ हेर्न सक्ने बनायो ।​ उनले युट्युबमा सबटाइटलको सुविधा थप गरिन् । यसले श्रवणशक्ति गुमाएका वा कम सुन्ने व्यक्तिहरूलाई भिडिओ सामग्रीमा पहुँच प्रदान गर्‍यो ।

साथै, विभिन्न भाषाका सबटाइटले अन्य भाषीहरूलाई पनि भिडिओ बुझ्न सहयोग गर्‍यो । साथै उनले आफ्नो कार्यकालमा वोज्सिकीले लोकल कन्टेन्टलाई प्रोत्साहन गरिन्, जसले प्रयोगकर्ताहरूलाई आफ्नो संस्कृति र भाषाको भिडिओ बनाउन तथा हेर्न सक्षम बनायो । त्यस्तै विश्वभरका प्रयोगकर्ताहरूलाई सहज रूपमा भिडिओ स्ट्रिम गर्नका लागि उनले अन्तर्राष्ट्रिय ब्यान्डविथमा लगानी गरिन् ।

वोज्सिकीले युट्युबमा नयाँ सुविधाहरूको विकासमा जोड दिइन् । लाइभ स्ट्रिमिङ, युट्युब म्युजिक, युट्युब किड्स जस्ता नयाँ सुविधाहरू उनकै नेतृत्वमा विकास भएका हुन् ।

-मोबाइल र गेमिङमा केन्द्रित 

वोज्सिकीले स्मार्टफोनको विस्तारको महत्त्व बुझेर नै हुन पर्छ, उनले समयमा नै मोबाइल टेक्नोलोजीमा जोड दिइन् ।

फलस्वरुप युट्युबको कुल वाच टाइममध्ये ७० प्रतिशत मोबाइल डिभाइसबाट हुने गरेको बताइन्छ । त्यस्तै उनले युट्युबमा गेमिङ कन्टेन्टलाई पनि निकै प्रोत्साहन गरिन् । यसको नतिजा स्वरूप विश्वभर एक सय अर्ब घण्टाभन्दा बढी गेमिङ कन्टेन्ट हेरिने बताइन्छ ।

-कार्यस्थलमा सुधार 

वोज्सिकीले बाहिर देखिने परिवर्तन बाहेक कार्यालयमा पनि अनेकन् सुधार गरेकी छिन् । ती मध्येको एक हो, महिला सशक्तीकरण ।

उनले आफ्नो कार्यकालमा युट्युबमा काम गर्ने महिला कर्मचारीहरू २४ प्रतिशतबाट ३० प्रतिशतमा पुर्‍याएकी थिइन् । उनी समावेशी नीतिहरूमा जोड दिन्थिन् । 


-कन्टेन्ट पोलिसीमा कडाइ

युट्युबमा निरन्तर कन्टेट बढ्दै गएपछि घृणायुक्त, हिंसात्मक भिडिओहरू बढ्न सक्ने भएकाले वोज्सिकीले कडा नीति लागु गरिन् । उनको त्यही कदमले प्रयोगकर्ताहरूका लागि सुरक्षित प्लेटफर्मको रूपमा युट्युब बन्न सफल भएको छ ।

यद्यपि उनले युट्युबमा सफलता मात्र नभएर थुप्रै चुनौतीहरू समेत सामना गरिन् । विशेषगरी कन्टेन्ट मोडेरेसन, मनिटाइजेसन, नयाँ कम्पनीहरूसँगको प्रतिस्पर्धा तथा कानुनी तथा नियमनको पाटोमा उनले चुनौतीहरू सामना गरेकी थिइन् ।

पछिल्लो अध्यावधिक: भदौ ६, २०८१ १२:५०