काठमाडौं । सरकारी लगानीको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको आम्दानी र मुनाफा दुवै घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय र खुद मुनाफा दुवैमा भारी गिरावट आएको हो ।
यो वर्ष टेलिकमको कुल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ६.३२ प्रतिशतले कम हो ।
अघिल्लो आवमा कम्पनीको आय ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ थियो । उक्त आवमा खुद मुनाफा घटेपनि कम्पनीको आम्दानी ४९ करोड ३६ लाख रुपैयाँले बढेको थियो । तर यसपटक दुवै शीर्षकमा कम्पनीको वित्तीय प्रदर्शन खस्किएको छ ।
त्यस्तै आव ०८०/८१ मा कम्पनीको कुल सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.९९ प्रतिशत कम हो ।
त्यस्तै कम्पनीको खुद मुनाफा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.४४ प्रतिशत अर्थात् एक अर्ब ३० करोड २३ लाख ७८ हजार रुपैयाँले कम हो । आव ०७९/८० मा समेत कम्पनीको खुद मुनाफामा ६६ करोड ६२ लाख रुपैयाँभन्दा बढीले गिरावट आएको थियो ।
कम्पनीले आव ०८०/८१ मा कर अघिको मुनाफा रु. ११ अर्ब ३७ करोड ९८ लाख ४ हजार आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको कर अघिको मुनाफा रु. ११ अर्ब ८४ करोड २५ लाख ६२ हजारको तुलनामा ३.९१ प्रतिशतले कमी हो ।
कम्पनीको प्रति शेयर आम्दानी भने रु. ३६.७७ रहेको छ ।
नेपाल टेलिकमले ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवा र अन्तरआवद्धता आयमा ठूलो कमी आएको उल्लेख गरेको छ । साथै सेवा विस्तार र गुणस्तर सुधारका लागि उच्च लागतका कारण मुनाफा घटेको कम्पनीले जनाएको छ । त्यस्तै सेवाको दररेटमा आएको परिवर्तनले पनि राजस्वमा प्रतिकूल असर परेको कम्पनीको भनाइ छ ।
त्यस्तै जीएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क रु. २० अर्बको भुक्तानीका लागि स्रोत व्यवस्थापन गर्न नसक्नु र बैंक ब्याजदरमा भएको परिवर्तनले पनि वित्तीय प्रदर्शन ओरालो लागेको बताइएको छ ।
आय र मुनाफामा कमी आउनुमा टेलिकमले औंल्याएका कारणहरू
ओटीटी सेवाको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय सेवा तथा अन्तरआवद्धता आयमा करिब रु. एक अर्ब ४३ करोड ८४ लाख ४८ हजारले कमी आएको छ । साथै, ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस/एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव पारेको छ ।
कम्पनीले विकट तथा दुर्गम स्थानहरूमा सेवा विस्तार र गुणस्तर सुधारमा बढी लागत व्यय गरिरहेको छ, जसले कम प्रतिफल दिएको छ ।
सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियममा परिवर्तन आएकोले दररेटमा कटौती भई राजस्वमा प्रतिकूल असर परेको छ ।
सेवा सञ्चालनको लागि आवश्यक ब्याण्डविथ गत वर्षभन्दा कम दरमा खरिद गरिएकोले सेवा सञ्चालन खर्चमा कमी आएको छ ।
जीएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क रु. २० अर्बको भुक्तानीको लागि स्रोत व्यवस्थापन गर्न नसकेकोले वित्तीय आम्दानीमा करिब रु. एक अर्ब २९ करोड ७३ लाखले कमी आएको छ ।
चालु आ.व. देखि योगदानमा आधारित पेन्सन योजना लागू गरिएको साथै अन्य खर्च लेखाङ्कन गरिएकोले कम्पनीको मुनाफामा नकारात्मक असर परेको छ ।
(*शीर्षकमा नेपाल टेलिकमको आम्दानी र मुनाफा घटेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । -स.)