काठमाडौं । बलियो ब्याट्री ब्याकअप सहित आकर्षक लुक्समा सार्वजनिक भएको फोन हो, अनर एक्स सिक्स बी (Honor X6b) । झलक्क हेर्दा अनर एक्स एट बी (Honor X8b) जस्तै देखिने यो फोनको मूल्य १६ हजार ९९९ रुपैयाँ छ ।
समग्रमा फोन कस्तो छ ? कसको लागि उपयुक्त छ ? यी सबै कुराबारे यस सामग्रीमा चर्चा गर्ने छौं:
फोन हातमा पर्ने बित्तिकै लाग्दैन कि यो बजेट फोन हो । फोनको लुक्स प्रिमियम छ । लुक्सलाई आकर्षक बनाउन झन् फोनको रङले पनि भूमिका खेलेको छ । यो फोन स्टारी पर्पल, फोरेस्ट ग्रिन र मिडनाइट ब्ल्याक रङमा किन्न सकिन्छ । कुन रङको फोन किन्ने त्यो त तपाईंकै विचार !
लुक्सकै कुरा गर्दा फोनमा साइनिङ ब्ल्याक कभर छ । जुन निकै कडा खालको प्लास्टिकबाट बनाइएको छ । यसको बिल्ट क्वालिटी राम्रो छ । फोनमा डुअल क्यामेरा सेटअप छ । साथै यसमा साइड माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर पनि दिइएको छ ।
फोनमा ९० हर्जको ६.५६ इन्चको टीएफटी एलसीडी डिस्प्ले दिइएको छ । वाटर ड्रप नच भएको यो डिस्प्लेमा फोनको माथि र तलपट्टि अलि बढी बेजल्स देख्न सकिन्छ ।
अहिले त बजेट फोनमा पनि हामीले पञ्च होल डिस्प्ले पाउछौं । यसमा भने त्यो पाटो छुटेको छ । त्यस्तै ७८० निट्सको उच्चतम ब्राइटनेश पाउन सकिन्छ । जुन इनडोर र आउटडोर दुवैका लागि पर्याप्त नै हुन्छ ।
डिस्प्लेको कुरा गरिरहँदा प्रिमियम सिरिजमा जस्तो तपाईंले यो फोनमा पनि अल्वेज अन डिस्प्लेको विकल्प पाउनुहुन्छ । त्यो पनि विभिन्न कस्टमाइजेसनको विकल्प सहित ।
अब कुरा गरौं, क्यामेराको । यसमा ५० मेगापिक्सेलको मुख्य र २ मेगापिक्सेलको डेप्थ सेन्सर छ । क्यामेराबाट फोटो खिच्दा ठीकै आउँछन् । यदि तपाईंले उज्यालो मिलाउन सक्नु भयो भने सुन्दर फोटो खिच्न सक्नुहुन्छ ।
क्यामेरामा अपर्चर, नाइट, पोर्टेट, फोटो, भिडिओ जस्ता मोड छन् ।
सेल्फी क्यामेरा भने ५ मेगापिक्सेलको मात्रै दिइएको छ । यसबाट खिचेका फोटोहरू भने कामचलाउ मात्रै छन् । पोर्टेट खिच्दा भने ब्युटीको विकल्प पनि दिइएको छ । फोनलाई १७ हजार तिरिसकेपछि ८ मेगापिक्सेलसम्मको सेल्फी क्यामेरा हुनुपर्ने थियो जस्तो लाग्न सक्छ ।
त्यस्तै यस फोनको दुवै क्यामेराबाट ३० एफपीएसमा १०८० पिक्सेलसम्मको भिडिओ खिच्न सकिन्छ । भिडिओको गुणस्तर ठीकै छ । तर भिडिओमा स्टेबलाइजेसन पाइँदैन । सकेसम्म हात नहल्लाई नै भिडिओ खिच्नुपर्ने हुन्छ ।
सामाजिक सञ्जालमा पोस्ट गर्न, सम्झनाहरूका कैद गर्न भने फोनको क्यामेराले निराश बनाउँदैन ।
अब कुरा गरौं फोनको मुख्य फिचर । जुन हो यसको ब्याट्री हो । कम्पनीले यसमा ५२०० एमएएच क्षमताको ब्याट्री दिएको छ । जुन यस मूल्यमा अन्य फोनहरूमा खासै पाइँदैन । यस फोनलाई चार्ज गर्न ३५ वाटको चार्जर दिइएको छ । यूएसबी टाइप सी पनि सपोर्ट गर्ने फोनलाई एक पटकको फुल चार्जमा करिब दुई दिन दिन मजाले चलाउन सकिने कम्पनीको दाबी छ ।
पर्फर्मेन्सको कुरा गर्दा फोन एन्ड्रोइड १४ मा आधारित छ । यसमा मिडियाटेक हेलियो जी८५ प्रोसेसर दिइएको छ । यो चिपसेट अलि पुरानो हो । तर बजेट फोनको लागि यो पर्याप्त नै छ ।
फोनमा गरिने सामान्य कामहरू गर्न, सामाजिक सञ्जाल चलाउन, मल्टिटास्किङ गर्न खासै केही तनाव हुँदैन । फोनमा सबवे सफर जस्ता सामान्य गेम मज्जैले चल्छन् । तर, हेभी गेम खेल्दा वा टास्क गर्न भने यो फोन अलि उपयुक्त हुँदैन ।
फोनमा पब्जी जस्तो हेभी गेम एचडी ग्राफिक्समा हाई फ्रेम रेटसम्मको सेटिङमा खेल्न सकिन्छ । तर, गेम राम्ररी नै चले पनि फ्रेम ड्रप हुन्छ । जसले तपाईंको गेमिङ अनुभव त्यति राम्रो बनाउँदैन ।
फोनमा म्याजिक ओएस ८.० रहेको छ । फोनको युजर इन्टरफेस चित्तबुझ्दो नै छ । तपाईं छिटै नै यसमा अभ्यस्त भइहाल्नु हुन्छ । यो बजेट फोन भइकन पनि यसमा कस्टमाइजेसनका विकल्पहरू थुप्रै पाउन सकिन्छ । अल्वेज अन डिस्प्लेदेखि घडीका विकल्पहरू भेटिन्छ । त्यस्तै फन्ट्स, आइकन चेन्ज जस्ता विकल्पहरू पनि उपलब्ध छन् ।
अर्को रोचक कुरा, अनरको यो फोनमा म्याजिक क्याप्सुलको फिचर छ । जस्तै, केही कुरा रेकर्ड गर्दा, गीत सुन्दा, अलार्म बज्दा, टाइमर राख्दा म्याजिक क्याप्सुल इनेबल हुन्छ । जुन हेर्दा आईफोन र महँगा फोनमा पाइने डाइनामिक आईल्यान्ड जस्तो देखिन्छ ।
एक्सेसिबिलिटी फिचर अन्तर्गत यहाँ दुईचोटि नक (knock) गर्दा स्क्रिनशट लिन सकिन्छ । अनि स्क्रिनको केही भाग मात्रको पनि स्क्रिनशट लिन सकिने फिचर यसमा छ । अङ्ग्रेजी अक्षर ‘एस’ जसरी लेख्दा पनि स्क्रिनशट लिन सकिन्छ । यसमा थ्री फिङ्गर स्क्रिनशट पनि छ । यस्ता विकल्पहरू फोन गरिरहँदा पछि निकै उपयोगी हुन्छन् ।
त्यस्तै फोनमा एज प्यानल पनि छुटेको छैन । जुन प्रिमियम फोनमा उपलब्ध हुने फिचर हो । एप प्यानलबाट एप्लिकेसनहरूमा क्विक एक्सेस पाउनुका साथै मल्टिटास्किङको फिचर पनि प्रयोग गर्न मिल्छ ।
कनेक्टिभिटीका लागि फोनले डुअल ब्यान्ड वाई-फाई सपोर्ट गर्छ भने ब्लुटुथ भर्सन ५.१ पाउन सकिन्छ ।
फोनमा डुअल न्यानो सिम लाग्छ भने एसडी कार्डका लागि पनि ठाउँ छ । तपाईं रेडिओ सुन्न मन पराउनुहुन्छ भने फोनमा ३.५ एमएमको अडिओ ज्याक पनि छ ।
स्पिकरको हकमा फोनमा मोनो स्पिकर छ । जसको साउन्ड पनि राम्रै छ । तर सङ्गीत मन पराउनेका लागि फोनमा भएको आवाज पर्याप्त नहुन सक्छ । सुरक्षाका लागि फोनमा फिङ्गरप्रिन्ट स्क्यानर, फेस आईडी, पिन, पासवर्ड लगायत पाउन सकिन्छ ।
स्टोरेजका लागि फोनमा ६ जीबीको एलपीडीडीआरफोरएक्स (LPDDR4X) र्याम पाउन सक्नुहन्छ । जसलाई १२ जीबीसम्म भर्चुअल्ली बढाउन सकिन्छ । इन्टर्नल स्टोरेज भने फोनमा १२८ जीबी पाउन सकिन्छ ।
तपाईं सामान्य ढङ्गले फोन चलाउनुहुन्छ भने यो स्टोरेज पर्याप्त नै हुन्छ ।
बक्समा तपाईंले फोनबाहेक फोनमा लगाउने पारदर्शी कभर, ३५ वाटको फास्ट चार्जर, यूएसबी टाइप सी केबल र केही कागजपत्र पाउन सक्नुहुन्छ ।
समग्रमा प्रिमियम लुक्स, टिकाउ ब्याट्री, काम चलाउ क्यामेरा, ठीकठाकको पर्फमेन्स दिने खालको फोन खोजिरहनु भएको छ यो एक विकल्प हुन सक्छ ।