close

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति भन्छन्ः हाम्रो पढाई र्‍याङ्किङमा देखिएभन्दा राम्रो छ

सञ्जीवन राई सञ्जीवन राई

भदौ ३, २०८१ १३:२२

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति भन्छन्ः हाम्रो पढाई र्‍याङ्किङमा देखिएभन्दा राम्रो छ

प्राध्यापक डाक्टर विजुकुमार थपलिया पूर्वाञ्चल विश्वविद्यालयकै इतिहासमा कान्छा उपकुलपति मध्येका एक हुन् । उनलाई सरकारले गत वैशाखमा मात्रै सो जिम्मेदारी दिएको थियो । उनले त्यसअघि विश्वविद्यालयको व्यवस्थापन संकायको नेतृत्व गरेका थिए । उच्च शिक्षामा नेपालको स्थान, नेपाली विश्वविद्यालयहरूको वर्तमान अवस्था, पाठ्यक्रम, आईटी सम्बद्ध  शैक्षिक कार्यक्रम, प्राविधिक शिक्षा लगायतका विषयमा टेकपानाका लागि सञ्जीवन राईले गरेको कुराकानीको सम्पादित अंश:

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा हालसालै नियुक्ति हुनु भएको छ । त्यसअघि एउटा संकाय सम्हालेको अनुभव पनि तपाईंसँग छ । आईटी शिक्षासहित समग्र नेपालको उच्च शिक्षा कस्तो पाउनु भएको छ ?

उच्च शिक्षा भन्नासाथ स्नातक, स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहलाई बुझिन्छ । अहिले विश्वको अर्थतन्त्र नै आईटीमा आधारित छ । अझ फराकिलो तरिकाले भन्दा, प्रविधिमा आधारित अर्थतन्त्र छ । 

त्यसो हुनाले हाम्रो उच्च शिक्षामा प्राविधिक शिक्षा छुट्ने कुरै भएन । नेपालको विकासमा प्राविधिक शिक्षाले ठूलो भूमिका खेल्ने निश्चित छ । तथ्याङ्क हेर्दा मात्र पनि देशको कूल गार्हस्थ उत्पादनमा यसको भूमिका बढिरहेको छ । नेपालको उच्च शिक्षामा प्राविधिक शिक्षा, खास गरी आईटी शिक्षालाई विशेष महत्त्व पनि दिइएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको इतिहास हेर्ने हो भने पहिले सीमित कलेजमा सीमित विषयको मात्र पढाइ हुन्थ्यो । तर, अहिले विश्वविद्यालयले पढाउने कोर्स तथा कलेज विस्तार भएका छन् ।

जस्तै: हामीले नेपालमा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ सुरु गर्‍यौं । त्यस बेला नेपालमा यो विषय पढाइ नै हुन्थेन । यो करिब २५ वर्षभन्दा अघिको कुरा हो । यसका आधारमा अहिले आईटीमा जुन आधार बनेको छ, त्यसमा पूर्वाञ्चल विश्वविद्यालयको पनि ठूलो भूमिका रहेको कुरा दावाका साथ भन्न सकिन्छ । 

मूलत: अहिले विश्वविद्यालयले दुई भागमा आईटी कोर्स चलाइरहेको छ । एउटा, विज्ञान तथा प्रविधि संकाय अन्तर्गत, र अर्को इन्जिनियरिङ संकाय अन्तर्गत । विज्ञान तथा प्रविधि संकायका शैक्षिक कार्यक्रमहरूमा प्राविधिक पाटो बढी छ भने इन्जिनियरिङ संकायका कार्यक्रमहरू इन्जिनियरिङ केन्द्रित छन् ।

समग्रमा भन्दा उच्च शिक्षामा पढाइ हुने कार्यक्रमहरूको सङ्ख्या पनि उल्लेख मात्रामा बढ्दै गइरहेको छ । यसले विद्यार्थीहरूलाई फराकिलो अवसर नै दिने हो । आईटी शिक्षामा त ‘बज क्रियट’ नै भएको छ । 

गुणस्तरीय शिक्षा दिनु, अनुसन्धान र वृत्ति विकासलाई बढावा दिनु र अद्यावधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्नु नेपालको उच्च शिक्षा नीतिको मूलभूत: उद्देश्य हो । तर, नतिजाहरूले त्यस्तो देखाउँदैन । तपाईंलाई यसमा हामीले के-कति सफलता हात पारे जस्तो लाग्छ ? 

राष्ट्र निर्माणमा प्रविधिसहित अन्य विभिन्न कुराहरूको भूमिका रहन्छ । पूर्वाञ्चल विश्वविद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरूले राष्ट्र निर्माणमा केही न केही भूमिका दिएकै छन् । 

हाम्रा पाठ्यक्रमहरूमा अनुसन्धान, इन्टर्नशिप र परियोजना समेटिएको हुन्छन् । यस्ता कुराले विद्यार्थीलाई आफ्नो सीप विकास गर्न सहयोग गरिरहेको हुन्छ । तर, यस कुराको ‘इकोसिस्टम’ बन्न नसक्दा कतिपय उद्देश्य प्राप्त गर्न नसकिएको सत्य हो ।

पूर्वाञ्चल विश्वविद्यालयले उच्च शिक्षाको उद्देश्य प्राप्त गर्न कसरी भूमिका निर्वाह गर्न सक्छ, त्यसका लागि केके गर्नु पर्छ भनेर निरन्तर काम गरिरहेको छ । त्यसै अनुरूप विश्वविद्यालयले यसै वर्षदेखि पहिलो पटक उपत्यका बाहिर इन्कुबेसन सेन्टर सञ्चालन गर्दै छ । त्यहाँ हाम्रा विद्यार्थीहरूले नयाँ विचारमा काम गर्न र उत्पादन तयार पार्न सक्नेछन् । त्य‍सले यो  ‘इकोसिस्टम’लाई बढावा दिने विश्वास लिएको छु । 

तर, हाम्रोमा त उच्च शिक्षा लिएका अधिकांश विद्यार्थीहरू नै बेरोजगार अथवा सीप विहीन हुनु परिरहेको अवस्था छ नि !

यो अवस्था छैन भनेर नकार्न सकिन्न । त्यसैले नै पाठ्यक्रम परिमार्जनमार्फत परियोजना र इन्टर्नशिपलाई हामीले अनिवार्य गरेका छौं । किनकि यस्ता कुराले नै विद्यार्थीमा सीप विकास गर्ने हो । 

अहिले पाठ्यक्रमलाई सकेसम्म उद्योगसँग जोड्न खोजीरहेका छौं । जति हामी उद्योगसँग जोडिन्छौं, त्यति नै हाम्रा विद्यार्थीहरूले पाउने अवसर फराकिलो बन्दै जान्छ । उच्च शिक्षा तह उत्तीर्ण भइसक्दा पनि विद्यार्थीहरू बेरोजगार छन् भन्नु आफैंमा एक प्रकारको प्रतिक्रिया, सल्लाह र सुझाव हो । 

त्यस्ता प्रतिक्रियाहरूले नै हामीलाई अघि बढ्ने मार्ग देखाउँछन् । उत्तीर्ण भइसक्दा पनि हाम्रा विद्यार्थीहरू किन बेरोजगार अथवा सीप विहीन हुन्छन् भनेर अध्ययन तथा छलफल हुन्छ । त्यसपछि न हामीले पाठ्यक्रमहरू नियमित रूपमा परिमार्जन गर्न थालेका हौं ।

केही अघिसम्म नेपालको उच्च शिक्षाले पाठ्यक्रम परिमार्जन नहुने समस्या भोगिरहेको थियो । विभिन्न कारणले त्यो सम्भव भइरहेको थिएन । तर आजकल हामीसँगै अन्य विश्वविद्यालयहरूले समेत नियमित रूपमा पाठ्यक्रम परिमार्जन गर्न थालेका छन् । यसले गर्दा भविष्यमा धेरै राम्रो प्रतिफल देखिनेमा म विश्वस्त छु ।


 

एडुर्‍याङ्कको रेटिङ अनुसार अहिले पूर्वाञ्चल विश्वविद्यालय विश्वमा ६ हजार ८५३ औं वरियतामा छ । नेपालमा पाँचौँमा पर्छ । हामी किन यति धेरै पछाडी छौं ?

शैक्षिक संस्थाको र्‍याङ्किङ गर्ने चलन विश्वव्यापी भए पनि नेपालमा भने छैन । त्यही भएर पनि र्‍याङ्किङमा आफूलाई कसरी प्रस्तुत गर्ने, आफ्नो र्‍याङ्किङलाई कसरी सुधार गर्ने भनेर हामीले सोचेनौं । तर, विश्वविद्यालय छनौट गर्ने सिलसिलामा विद्यार्थीहरूले यस्ता कुरालाई आधार बनाएका हुन्छन् । 

भन्नै पर्दा नेपाली विश्वविद्यालयहरूले र्‍याङ्किङमा अलि चासो नदिएको अवस्था छ । कतिपय र्‍याङ्किङमा त हामी सामेल नै भएका छैनौं । किनकी तिनमा हामीले आवेदन दिनु पर्ने हुन्छ । त्यहाँ केही आधार हुन्छन् । जसमा हामीले कस्तो गर्छौं, त्यसका आधारमा हाम्रो र्‍याङ्किङ तय हुन्छ । 

यसो हुनाले कतिपय र्‍याकिङमा हामी देखिएका छैनौं । अनि कसैले गरेका रहेछन् भने पनि उनीहरूले सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कलाई मात्र लिएका हुन्छन् । 

त्यहाँ विश्वविद्यालयको वास्तविक तथ्याङ्क प्रयोग भएको हुँदैन । जसले गर्दा विश्वविद्यालयको वास्तविक तस्विर बन्दैन । अहिलेका ती र्‍याङ्किङले हाम्रा विश्वविद्यालयको वास्तविकता प्रतिविम्बित गर्न सकेका छैनन् । 

त्यसो भए नेपालमा इन्जिनियरिङ परिषद्ले लिने इन्जिनियरिङ लाइसेन्स परीक्षाको नतिजालाई आधार बनाएर पनि गुणस्तरीय शिक्षामा प्रश्न उठाउन त पाइन्छ होला नि ?

इन्जिनियरिङ लाइसेन्सको परीक्षामा धेरै विद्यार्थीहरू अनुत्तीर्ण हुँदा नेपाली उच्च शिक्षामाथि नै प्रश्न उठाइयो । तर परिषद्ले लिएका पछिल्ला  परीक्षामा भने पूर्वाञ्चल विश्वविद्यालयले सुधार गरेको छ ।

केही शैक्षिक कार्यक्रमहरूमा त हामीले उत्कृष्ट प्रदर्शन गरेका छौं । र, समग्रमा काठमाडौं विश्वविद्यालयलाई छाडेर हेर्दा हाम्रो नै राम्रो छ । काठमाडौं विश्वविद्यालयमा सीमित विद्यार्थी हुने भएकाले नतिजा राम्रो देखिएको हो । तर, धेरै विद्यार्थी भएको विश्वविद्यालयको सन्दर्भमा हाम्रा विद्यार्थीहरू धेरै उत्तीर्ण भएका छन् । 

तर हामी त्यतिमा मात्रै सन्तुष्ट छैनौं । अझ राम्रो हुनु पर्छ भन्ने पक्षमा नै छौं । यसअघि परिषद्ले लिने उक्त परीक्षा कस्तो आधारमा मूल्याङ्कन हुन्छ भनेर हेर्नु पर्ने हुन्छ । अहिले परिषद्ले बहुवैकल्पिक परीक्षा लिने गर्छ । तर, सो परीक्षा विधि विश्वविद्यालयको पाठ्यक्रममा छैन । 

यसले गर्दा विषयबारे ज्ञान नभएर भन्दा पनि परिषद्को परीक्षा पद्धतिसँग घुलमिल नहुँदा विद्यार्थीहरूलाई केही गाह्रो भएको हो । अब त्यसलाई पनि सम्बोधन गर्ने गरी हामीले काम गरिरहेका छौं । 

विश्वविद्यालयको शिक्षाको गुणस्तर मापन गर्ने एउटा सूचक परिषद्को परीक्षाफल पनि हो । तर, अहिले उक्त सूचकले पनि विद्यार्थीको क्षमतालाई प्रतिविम्बित गर्न सकेको छैन । 

नामलाई आधार मान्दा पूर्वाञ्चल विश्वविद्यालयको काम पूर्वतिरका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्नु हो भन्ने बुझिन्छ । तर विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अधिकांश कलेज काठमाडौं केन्द्रित छन् । यसले त केन्द्रीय कार्यालय भएको विराटनगरलाई तपाईँहरूले शैक्षिक हब बनाउन नसकेको भन्ने अर्थ लाग्दैन र ?

यस विषयमा कुरा गर्दा भौगोलिक आधारलाई हेर्नु पर्ने हुन्छ । हरेक क्षेत्रको बजार काठमाडौं केन्द्रित छ । त्यही कुरा शिक्षामा पनि छ । विद्यार्थी काठमाडौंमै गएर पढ्ने सोच्छ । सबै विद्यार्थीको रुचि काठमाडौंमा भएकाले त्यहाँ कलेज र विद्यार्थीको सङ्ख्या पनि स्वत: बढी छ ।

देश सङ्घीय संरचनामा गएपछि यो कुरा अलि तोडिएको छ । यसो भनिरहँदा हामी अन्तर्गतका १३७ शिक्षण संस्थाहरूमध्ये जम्मा ३० प्रतिशत मात्रै काठमाडौंमा छन् । अहिले नेपालको सात मध्ये पाँच प्रदेशमा हाम्रो उपस्थिति छ । ‍हामी हिमाल, पहाड, तराईं सबैतिर छौं । 

सम्भवत: नामाङकरण गर्दा मोरङ पूर्वमा रहेकाले विश्वविद्यालयको नाम पूर्वाञ्चल राखियो । अनि, पूर्वाञ्चललाई नेपालभर, विश्वभर चिनाउन पनि त्यस्तो गरिएको हुन सक्छ । तर, सरकारको विश्वविद्यालय भएकाले हामी नेपालभर नै छौं । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने पुग्न सकेका छैनौं । त्यसैले हामी काठमाडौं मुखी भयौं भन्नु उचित हुँदैन । 

विराटनगर पहिल्यैदेखि एक प्रकारको शैक्षिक हब थियो  । अहिले झन् प्रदेश राजधानी पनि भएकाले शैक्षिक हब बन्ने क्रम तीव्र रूपमा विकास भइरहेको छ । यसमा पूर्वाञ्चल विश्वविद्यालयको भूमिका ठूलो छ । किनकि हाम्रा सबै आङ्गिक क्याम्पस मोरङमा नै छन् । 

वैदेशिक अध्ययन अनुमति शाखाको पछिल्लो तथ्याङ्क हेर्दा आईटी सम्बन्धी विषय पढ्न १५ हजार बढीले देश छाडेको देखिन्छ । यो क्रम निरन्तर बढदो छ । नेपाली कलेजहरूले भने विद्यार्थीको अभाव खेप्न थालिसकेका छन् । यो समस्याले पूर्वाञ्चल विश्वविद्यालयहरूलाई कत्तिको प्रभाव पारिरहेको छ ?

यो राष्ट्रकै समस्या हो । विद्यार्थी अभावबाट कुनै पनि नेपाली विश्वविद्यालय अछुत रहेको जस्तो मलाई लाग्दैन । त्यही पनि चार वर्षको विद्यार्थी भर्ना तथ्याङ्क हेर्दा हामीले त्यति ठुलो भिन्नता भने पाएका छैनौं । हामी ‘रिकभरी स्टेज’मा नै छौं । 

पढ्न विदेश जाने प्रचलन लहर जस्तो भइरहेको छ । मलाई लाग्छ यो लहर रोकिएमा आगामी दिनहरूमा विद्यार्थी अभाव हुँदैन । केही कार्यक्रमहरू विदेशको तुलनामा नेपालमा पढ्दा नै सस्ता छन् । यदि विदेशमा मात्र पाइने कार्यक्रमहरू छन् भने तिनलाई यहाँ पनि पढाउनु पर्छ । बरु विद्यार्थीहरू व्यावसायिक तरिकाले विदेश जाँदा राम्रो हुन्छ । शिक्षाको नाममा जानु पर्दैन । 


 

यस्तो हुनुमा विश्वविद्यालयले राम्रो ब्रान्डिङ गर्न नसकेर पो पनि हो कि ?

यसले पनि केही फरक पारिरहेको छ । अहिले धेरै जसो नेपाली विश्वविद्यालयहरू परम्परागत तरिकाले चलीरहेका छन् । त्यसमाथि विद्यार्थीहरूले विश्वविद्यालय प्रति नै नकारात्मक दृष्टिकोण बनाइरहेका छन् । यस्तो कुरा कम गर्ने एउटा उपाय विश्वविद्यालयको सकारात्मक ब्रान्डिङ हो । 

मूलत: पैसा लगानी गरेर अनि आफैं विश्वास सिर्जना गरेर ब्रान्डिङ गरिन्छ । तर, पैसा लगानी गरेर गरिने ब्रान्डिङ अस्थायी हुन्छ । त्यसले सकारात्मक नजिता पनि खासै छैन । वास्तविक ब्रान्डिङ विश्वविद्यालयको कोर्सको भ्यालुले दिन्छ  । पाठ्यक्रमले दिन्छ । विद्यार्थीले दिन्छ । 


तर, कति‌पय अवस्थामा त विश्वविद्यालयमा पढ्ने र पढाउने व्यक्तिहरूले नै संस्थाको नकारात्मक ब्रान्डिङ गर्ने काम पनि गरिरहेका हुन्छन् । ठिक अर्कोतर्फ अहिलेको पुस्ता अनलाइनमा समय बिताउँछ । उसले अनलाइनबाटै सूचना हेर्छ, लिन्छ । यसो हुनाले अब हामीले पनि केही रणनीतिहरू परिवर्तन गर्नु पर्ने भइसकेको छ । संस्थाले मात्र ब्रान्डिङ गरेर हुँदैन । यसका लागि सबै पक्षले ब्रान्डिङ गर्नु पर्छ ।

नेपालमा अहिले विदेशी विश्वविद्यालयहरूबाट सम्बन्धन लिएर आईटी लगायतका कोर्सहरू पढाउने चलन पनि बढेको छ । जहाँ विद्यार्थीको आकर्षण पनि देखिन्छ । ती संस्थाहरूप्रति तपाईंको हेराइ कस्तो छ ?

नेपालको शैक्षिक क्षेत्रमा यो बहसको विषय पनि बनेको छ । यसको राम्रा र नराम्रा दुवै पक्ष छन् । त्यहाँ किन विद्यार्थीहरू गइरहेका छन् भन्ने विषयका थुप्रै पाटा हुन सक्छन् । विदेशी नाम भएर गएका हुन् कि ? त्यहाँको प्रणालीले गर्दा गएका हुन् कि ? अहिले यस्ता प्रश्नहरू उठिरहेका छन् । 

जसलाई हामीले नजरअन्दाज गरिरहन सक्दैनौं । त्यहाँ राम्रा कुरा छन् भने हामीले सिक्नु पर्छ । हामीले लिनु पनि पर्छ । र, केही कमजोरी छन् भने त्यसबारे विद्यार्थीहरूलाई पनि भन्नु पर्ने हुन्छ । 

एक हिसाबले त यो प्रतिस्पर्धाको विषय पनि हो । हामीले प्रतिस्पर्धाका रूपमा नै लिनु पर्छ । तर, स्वच्छ प्रतिस्पर्धा भने हुनु पर्छ । मुख्य कुरा हामी उनीहरूले के गरिरहेका छन् भनेर हेर्दै बस्नु पर्ने हुन्छ । हामीले आफूलाई के कसरी सुधार गर्न सक्छौं, त्यसमा काम गर्ने हो । संस्थाको विकासमा ध्यान दिने हो । यो विश्वविद्यालय स्थापना भएको तीन दशक भइसकेको छ । एउटा लामो विरासत छ । अब प्रतिस्पर्धामा त खेलाडी जाने/आउने चलिरहन्छ ।

अब केही विद्यार्थीका पनि कुरा गरौं । मैले जोड्न खोजेको विषय विद्यार्थी भर्ना दर हो । किनकि गत वर्ष तपाईंहरूले दुई दुई पटक प्रवेश परीक्षा गराउनु परेको थियो । कक्षा सञ्चालन गर्न बीटेक इन एआईमा त विद्यार्थी सङ्ख्या नै पुगेन नि ?

बीटेक इन एआई हामीले गत वर्ष मात्र ल्याएको शैक्षिक कार्यक्रम हो । तर, अन्तिम समयमा भर्ना रोक्नु पर्‍यो । यस कार्यक्रमबारे विद्यार्थीहरूलाई खासै जानकारी दिन सकेनौं । कक्षा सञ्चालन गर्न तयारी पुगेन भनौंं । 

यस कारण यो वर्ष सो कोर्स सञ्चालनका लागि विश्वविद्यालयले फ्युज मसिन जस्तो कम्पनीसँग साझेदारी गरेको छ । त्यसो हुनाले यस पटक यो कोर्स सञ्चालन हुन्छ भन्नेमा विश्वस्त छौं । 

कतिपय विद्यार्थीहरू अन्तिम समयसम्म पनि के पढ्ने भनेर अन्योलमा रहन्छन् । विद्यार्थीहरूको पनि आआफ्नै समस्या हुन्छ । यसो हुनाले अवसर प्राप्त होस् भनेर नै हामीले दोस्रो पटक प्रवेश परीक्षा गराएका हौं । 

गत वर्ष विज्ञान तथा प्रविधि संकायले दोस्रो पटक प्रवेश परीक्षा गराएको थियो । फेरि त्यो परीक्षा छात्रवृत्तिका लागि थियो । हाम्रोमा संकायले छात्रवृत्तिका लागि मात्र प्रवेश परीक्षा गराउँछ । भर्नाको प्रवेश परीक्षा भने कलेजहरू आफैंले गराउँछन् । 

तपाईंहरू हाम्रा छिमेकी देश भारत, भुटान र बङ्गलादेश नजिकै हुनुहुन्छ । हाम्रा केही विश्वविद्यालयहरूमा विदेशी विद्यार्थी पनि पढ्न आउने बताइन्छ । पूर्वाञ्चल विश्वविद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको स्थिति के कस्तो छ ? 

हो, हाम्रोमा पनि विदेशी विद्यार्थी अध्ययनरत छन् । तर हामीले अहिलेसम्म विदेशीहरूलाई कोटा छुट्याएका छैनौं । उनीहरूलाई वर्गीकरण गरेका छैनौं । 

मूलत: सीमा पारीका बस्तीहरूमा सो प्रकारको कोर्स नभएर उहाँहरू यता पढ्न आइरहनु भएको छ । सीमा पनि खुला भएकाले उताका विद्यार्थीलाई यता आएर पढ्न अवरोध छैन । त्यस्तै कतिपय भने उहाँहरूको परिवार नेपालमा भएर, कुनै संघ संस्थामा काम गर्न आउनु परेकाले पनि हाम्रोमा भर्ना हुनु भएको अवस्था छ । 

तर, विदेशबाट नेपालमा पढ्न आउने ट्रेन्ड भने विकास भइसकेको छैन । अहिले काठमाडौं विश्वविद्यालयमा यसरी विद्यार्थी आउने गरेको सुन्छु । त्यहाँ कति विद्यार्थी आएका छन्, मसँग तथ्याङ्क छैन । तर, त्यस्ता विद्यार्थीहरूका लागि हामी आकर्षणको केन्द्र भने बन्न सक्छौं । 

कुन कार्यक्रममा विदेशी विद्यार्थीलाई आकर्षित गर्ने, कहाँका विद्यार्थीलाई गर्ने, किन गर्ने भन्नेमा हामी स्पष्ट हुनु पर्छ । अब यसलाई रणनीतिक रूपमा अघि बढाउन जरुरी भइसकेको छ । उच्च शिक्षामा लागेका व्यक्ति, संस्थाहरूले यो कुरालाई गम्भीर भएर सोच्नु पर्ने हुन्छ ।

पूर्वाञ्चल विश्वविद्यालयले यस कुरालाई रणनीतिक रूपमा कसरी अगाडि लैजाने भनेर कसरत गरिरहेको छ । किनकि यसले हामीलाई फाइदा नै गर्छ । सम्भवत: यो कुरालाई सरकारले उच्च शिक्षा नीतिमा नै समेट्नु पर्छ । यसले अर्थतन्त्रमा सुधार गर्ने मात्र नभएर देशकै राम्रो ब्रान्डिङ हुनेसम्मका फाइदा छन् ।

तर, पछिल्लो समय कलेज नगएर अनलाइनबाटै पढ्ने चलन पनि बढिरहेको छ । यो विचार व्यापक हुनु कति ठीक हो ?

घरमा बसेर अनलाइनमा पढ्नुको एउटा महत्त्व छ । अनि, कलेज जस्तो शिक्षण संस्थामा गएर अध्ययन गर्नुको अर्को महत्त्व हुन्छ । अर्थात् भनौं, औपचारिक शिक्षाको महत्त्व छुट्‍टै छ । किनकि साथीभाइबाट पनि सिक्न सकिन्छ । कक्षाकोठामा भएको छलफलबाट पनि सिक्न सकिन्छ । यस प्रकारको शिक्षाको महत्त्व कहिल्यै घट्दैन । किनकि यसको इतिहास हजारौं वर्ष पुरानो छ । घरबाटै सबै शिक्षा लिने भएपछि कोही किन स्कुल जानु पर्‍यो ? प्रविधिको सहायताबाट घरघरमा पढाइ सीमित गर्नु राम्रो हो जस्तो मलाई लाग्दैन । यो एउटा सुविधा मात्र हो । यसो भए कालान्तरमा नकारात्मक मात्र नतिजा देखिन्छ । किनकि समाजमा त सम्बन्धहरू हुन्छन् । सो कुरा त्यस्ता व्यक्तिले कम मात्र बुझ्ने भयो ।

प्राविधिक विषय पढाउने फ्याकल्टी मेम्बरहरूको क्षमता अभिवृद्धि गर्न विश्वविद्यालयले के कस्ता प्रयास गरिरहेको छ नि ?

मैले उपकुलपतिको जिम्मेवारी लिएपछि सबैभन्दा सुरुमा गरेको काम नै फ्याकल्टी विकास हो । फ्याकल्टी विकासको कार्यक्रम एक पटक गरेर हुने होइन । यो निरन्तर चल्नु पर्छ । 

म पहिले व्यवस्थापन संकायमा छँदा त्यहाँ फ्याकल्टी विकासको काम नियमित हुन्थ्यो । वर्षमा दुई तीन पटक त्यस्ता कार्यक्रम आयोजना गरिन्थ्यो । अन्य देशहरूबाट पनि विज्ञहरू ल्याउथेँ । 

अहिले पनि संकायहरूमा यस प्रकारका कार्यक्रम हुने गर्छन् । तर, अब अझ व्यवस्थित र नियमित रूपमा तालिम दिने काम हुन्छ । यसलाई मैले आफ्नो कामको प्राथमिक सूचीमा नै राखेको छु । फ्याकल्टीलाई विकास गर्नु विश्वविद्यालयको प्राथमिकता हो । 

आईटी पढिरहेका विद्यार्थीहरूलाई विश्वविद्यालयले केकस्ता अवसरहरू उपलब्ध गराउँदै आएको छ ? 

पहिलो, हाम्रोमा विद्यार्थीहरूले छनौटको विकल्प फराकिलो पाउँछन् । दोस्रो, हाम्रो उपस्थिति हो । हामी नेपालका धेरै भूभागमा छौं । ती सबैमा कार्यक्रम र मूल्याङ्कन पद्धति एउटै हुन्छ । त्यस्तोमा विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँमा रहेको हाम्रो कलेजमा भर्ना भएर पढ्न सक्छन् ।

तेस्रो, अहिले हामीले व्यावसायिक संघ संस्थाहरूको सहकार्य बढाएका छौं । त्यसले विद्यार्थीहरूलाई अवसर प्रदान गर्न ठूलो भूमिका खेल्छ । 

म पुन: भन्छु, उच्च शिक्षाका लागि कोही नेपालीलाई विदेश जानु पर्ने अवस्था छैन । विदेशमा राम्रो काम गरिरहनु भएका अधिकांश नेपाली डायस्पोरा यहीँ अध्ययन गरेर गएका छन् । उहाँहरूको क्षमता देखेर पनि नेपाली उच्च शिक्षाको क्षमता बुझ्न सकिन्छ ।

अझ आईटी विषय पढेपछि यहाँ नै बसेर विश्वभरका काम गर्न सकिन्छ । त्यसका लागि ठुला सहरमै गएर बस्नु पर्छ भन्ने पनि छैन । उहाँहरू जहाँ हुनुहुन्छ, त्यहीँबाट काम गर्न सक्नुहुन्छ । 

यस्ता विद्यार्थीहरूलाई सहयोग उपलब्ध गराउन विश्वविद्यालयसँग स्रोत साधन र पूर्वाधार केकस्ता छन् ?

यो कुरा पाठ्यक्रमले गर्ने निर्धारण गर्ने विषय हो । पाठ्यक्रम अनुसार हामीले कुनै पनि स्रोत साधनलाई कमी हुन दिएका छैनौं । आङ्गिक तथा सम्बन्धन प्राप्त, दुवै प्रकारका कलेजहरूमा पाठ्यक्रम अनुसारका ल्याबहरू छन् । त्यस्तै संकायले आफूहरूलाई चाहिन्छ भन्ने कुराको महसुस गरेपछि अन्य भौतिक पूर्वाधारहरू पनि तयार पारेका छन् । हालैमात्र हामीले केन्द्रीकृत इन्कुबेसन सेन्टर बनाउन लागेका छौं ।

विद्यार्थीलाई उद्यमी बनाउन भूमिका खेल्ने इन्कुबेसन सेन्टरबारे थप बताइदिनु हुन्छ कि !

यसअघि काठमाडौं विश्वविद्यालयसँग मात्र इन्कुबेसन सेन्टर थियो । तर, काठमाडौं उपत्यका बाहिर पहिलो पटक इन्कुबेसन सेन्टर खोल्नेमा पूर्वाञ्चल विश्वविद्यालय पर्छ ।

विश्वविद्यालयको एउटा संकायले आङ्गिक क्याम्पसमा  इन्कुबेसन सेन्टर स्थापना गरेको थियो । अब त्यसैलाई केन्द्रीय रूपमा अघि लैजाने तयारी थालेको छ । यसका लागि हामीसँग जनशक्ति पनि छ । 

यसपछि विभिन्न संकायका विद्यार्थीहरू आउन सक्छन् । यसमा कसरी व्यावसायिकतातिर लैजाने, विद्यार्थीको विचारलाई कसरी सहयोग गर्ने भन्ने मात्र ध्यान हुन्छ । हामीले विद्यार्थीको विचारमा ‘सिड फन्डिङ’ पनि गर्ने योजना बुनेका छौं । 

विद्यार्थीलाई अवसर दिन, उनीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न विश्वविद्यालयले व्यावसायिक संघसंस्थासँग सहकार्य गरेको भन्नु भयो । यसमा के कत्तिको प्रगति भइरहेको छ ?

यसमा हामीले धेरै आयाममा काम गरिरहेका छौं । विज्ञान तथा प्रविधि संकायतर्फको कुरा गर्ने हो भने भर्खरै १३ ओटा संघ संस्थासँग काम गर्न साझेदारी भएको छ । उहाँहरूले फ्याकल्टीलाई तालिम दिन, पाठ्यक्रम विकास गर्न, विद्यार्थीलाई जागिर अथवा अवसर दिन सहयोग गर्नु हुने छ । 

त्यस्तै हामीले अन्य च्याम्बरहरूसँग पनि सहकार्य गरिरहेका छौं । एउटा एउटा कम्पनीसँग पालैपालो साझेदारी गर्नुभन्दा पनि उहाँहरूको छाता सङ्गठनसँग साझेदारी गर्नु थप फाइदाजनक हुन्छ । त्यसो गर्दा विश्वविद्यालयले एकै पटक थुप्रै कम्पनीहरूमा पहुँच बढाउन सक्छ । 

पूर्वाञ्चल विश्वविद्यालय एक्लै बसेर हुँदैन । सम्बन्ध चाहिन्छ । नेटवर्किङ चाहिन्छ । विश्वविद्यालयको प्राथमिकतामा सम्बन्ध र नेटवर्किङ बढाउने विषयहरू पनि छन् । यस्ता कार्यमा विश्वविद्यालय यसअघि देखि नै क्रियाशील थियो । अब आगामी दिनहरूमा यस कुराको सकारात्मक नतिजा देखिन थाल्नेछ ।

विश्वविद्यालयका लागि आल्मुनाइ निकै महत्त्वपूर्ण हुन्छ । प्रविधिको पाटोलाई लिएर आल्मुनाइबारे के सोचिरहनु भएको छ?

आल्मुनाइलाई लिएर भने हामीले त्यस्तो केही गर्न सकेका छैनौं । एक पटक संस्थागत रूपमा यसलाई अघि बढाउनु पर्छ भनेर सङ्कायगत रूपमा काम थालेका थियौं । तर, त्यसलाई गतिशील बनाउन सकिएन ।

अब आल्मुनाइलाई जोड्न हामीले वेबसाइट बनाउँदैछौ । त्यसमा फाराम हुन्छ । जुन विश्वभर छरिएका हाम्रा विद्यार्थीले भर्नु हुनेछ । तयारी सकिएपछि उत्तीर्ण विद्यार्थीहरूलाई आल्मुनाइ नेटवर्कमा जोडिन आग्रह गर्ने योजना छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता ढङ्गोल हाम्रै आल्मुनाइ हुन् । उहाँहरू त अलि सार्वजनिक छवि हुनु भएका व्यक्तिहरू हुनु भयो । उहाँहरू बाहेक विभिन्न क्षेत्रमा पूर्वाञ्चल विश्वविद्यालयका आल्मुनाइहरू हुनुहुन्छ ।

तर, हामीले प्लेटफर्म दिन नसक्दा उहाँहरूले आफूलाई यस विश्वविद्यालयको आल्मुनाइ भनेर चिनाउन सक्नु भएको छैन ।  हामीले त्यस कुराको महसुस गरेका छौं । म टेकपानाको माध्यमबाट पनि हाम्रा आल्मुनाइहरूलाई जोडिन आग्रह गर्छु । 

अहिले नेपाल ब्रेनड्रेनको समस्याबाट गुज्रिरहेको छ । नेपालको यो समस्या समाधान गर्न विश्वविद्यालयले केही सोचेको छ ?

विश्वविद्यालयले अनुसन्धान सम्बन्धी ठुलठुला परियोजना सञ्चालन गर्‍यो भने ब्रेनड्रेनलाई केही हदसम्म कम गर्न सकिन्छ भन्ने विश्वास छ । सोही भएर हामीले यस पाटोमा पनि केही काम गर्ने सोचेका छौं । यस सम्बन्धी केही योजना पनि बन्दै छन् । 

हाम्रै छिमेकी देश भारतले पनि एक समय ब्रेनड्रेनको समस्या भोगेको हो । यसको असर त्यहाँ धेरै समयसम्म रह्यो । बल्ल आजभोलि भारत यो समस्याबाट बाहिर निस्किँदै छ । 

नेपाल भने भौगोलिक रूपमा पनि सानो छ । यसैले ब्रेनड्रेनको समस्याबाट चाँडो फर्किन सकिन्छ । जसरी ‍यसको असर चाँडो देखिएको छ, त्यसैगरी समाधान गर्ने समय पनि कम हुन सक्छ । आज हामीले यस विषयमा सोच्नु आवश्यक भइसकेको छ । 

यो फेरि विश्वविद्यालय एक्लैले गर्दा हुने कुरा पनि होइन । यसलाई राष्ट्रले आत्मसाथ गर्नु पर्छ । अनि सो अनुसारको नीति लिनु पर्छ । 

विश्वविद्यालयको आफ्नै आङ्गिक क्याम्पस छन् । सँगसँगै सम्बन्धन प्राप्त कलेजहरू पनि उत्तिकै छन् । त्यसो हुँदा कुनै विद्यार्थीले विश्वविद्यालयको आङ्गिक क्याम्पसमा पढ्नु र निजी कलेजहरूमा पढ्नुमा केकस्ता भिन्नता हुन सक्छन् ? 

हामीसँग नौं ओटा आङ्गिक क्याम्पस छन् । ती सबै मोरङमा छन् । तर, सम्बन्धन प्राप्त कलेजहरू नेपालका विभिन्न ठाउँमा छन् । विश्वविद्यालय एक्लै सबै क्षेत्रमा उपस्थित हुन सक्दैन । त्यही खाडल सम्बन्धन प्राप्त कलेजले पुर्छन् । किनकि म काठमाडौंमा छु भने विराटनगरमा गएर किन पढ्ने ? 

त्यस्तै यो सरकार अन्तर्गतको संस्था हो । त्यसो हुनाले आङ्गिक कलेजले लिने शुल्क सम्बन्धन प्राप्त कलेजको तुलनामा कम हुन्छ । निजी कलेजहरूमा निजी लगानी हुने भएकाले त्यस आधारमा शुल्क तोकिन्छ । 

तर, अन्य भिन्नता भने हुँदैन । आङ्गिक कलेज पढेका विद्यार्थीको पनि सर्वाङ्गीण विकास हुन्छ । यसका लागि आङ्गिक कलेजका फ्याकल्टी मेम्बरहरूले उत्तिकै मेहेनेत गरिरहनु भएको हुन्छ । 

अन्त्यमा, तपाईं उपकुलपतिको रूपमा नयाँ हुनुहुन्छ । युवा हुनुहुन्छ । हामीले विश्वविद्यालयमा तपाईंको कार्यकालबाट केकस्ता अपेक्षा राख्न सक्छौं ?

विश्वविद्यालयको छविलाई अझ माथि पुर्‍याउनुलाई मैले प्रमुख काम मानेको छु । अहिले धेरै विद्यार्थीहरू हाम्रै कारण पनि विदेशीन बाध्य छन् । त्यसमा विश्वविद्यालयले केके काम गर्न सकिन्छ, त्यतातर्फ जरुर सुधार गर्ने छु । 

पछिल्लो समय ‘पढ्दै कमाउँदै’का विचारहरू पनि आइरहेका छन् । यसलाई विश्वविद्यालयले कसरी अवलम्बन गर्ने भनेर काम गर्ने छु । त्यस्तै पाठ्यक्रम परिमार्जन, नयाँ शैक्षिक कार्यक्रम लागु, अध्ययन अनुसन्धान, भौतिक पूर्वाधार विकास, उद्योगसँग देखिएको अन्तर यी सबैमा राम्रो नतिजा देखिने गरी काम गर्नु छ ।

यो विश्वविद्यालय राष्ट्रको संस्था हो । संस्थाको प्रशासनिकदेखि शैक्षिक सफलतासम्म सुधार गर्ने चुनौती छ । ती सबैमा काम गर्दै देश विकासका लागि दक्ष जनशक्ति उत्पादन गर्नु मेरो दायित्व रहन्छ । अहिलेलाई कामलाई केन्द्रित हौं भन्ने सोच छ । नतिजा त काम गरेपछि स्वत: आई हाल्छ ।

 

पछिल्लो अध्यावधिक: भदौ ३, २०८१ १३:४२