काठमाडौं । राज्यको प्रणाली नै ह्याक गरी एक व्यक्तिले आफ्नो मृत्यु भएको नक्कली प्रमाणपत्र तयार पारेका छन् । सन्तानको पालनपोषणका लागि तिर्नुपर्ने खर्चबाट बच्न उनले राज्यको डेटाबेस ह्याक गरी आफूलाई मृतक व्यक्तिको सूचीमा राखेका हुन् ।
यो घटना अमेरिकाको हो । केन्टकी सहरका ३९ वर्षीय जेसी किप्फले आफ्नै मृत्युको फर्जी प्रमाणपत्र बनाएको भेटिएपछि अमेरिकी न्याय विभागले करिब सात वर्षको जेल सजाय सुनाएको यूएसए टुडेले लेखेको छ ।
विभागका अनुसार किप्फले जनवरी २०२३ मा हवाईको डेथ रजिस्ट्री सिस्टम (Hawaii Death Registry System) मा अर्कै राज्यको चिकित्सकको युजर नेम र पासवर्ड प्रयोग गरी आफ्नो मृत्यु प्रमाणित गराएका थिए । यसकारण किप्फलाई विभिन्न सरकारी डेटाबेसहरूमा मृतकको रूपमा दर्ता गरिएको थियो । उनले अन्य राज्यहरूको मृत्यु दर्ता प्रणाली र निजी व्यापार नेटवर्कहरूमा समेत घुसपैठ गरेको र चोरी गरिएका डेटालाई डार्क वेबमा बेच्न प्रयास गरेका थिए ।
अमेरिकाको पूर्वी केन्टकीका वकिल कार्ल्टन एस. शियर चतुर्थले भनेका छन् "जेसी किप्फले आफ्नो बालबच्चा पालनपोषण खर्च तिर्ने दायित्वबाट बच्ने अक्षम्य लक्ष्यको आधारमा ठगी र विनाशकारी प्रयास गरेका छन् । यस घटनाले अपराधीहरूका कम्प्युटरहरू कति खतरनाक हुन सक्छन् र अनलाइन सुरक्षा कति महत्त्वपूर्ण छ भनेर देखाएको छ ।"
किप्फको २००८ मा वैवाहिक सम्बन्ध टुटेको थियो । छोराछोरीको पालनपोषणको जिम्मा लिएका उनले पूर्व पत्नीलाई एक लाख १६ हजार डलरभन्दा बढी तिर्न बाँकी थियो । त्यसैबाट बच्न सिस्टममा प्रवेश गरी आफ्नो मृत्यु दर्ता गराएको उनले स्वीकारेका छन् ।
किप्फले आफ्नो सजायको ८५ प्रतिशत अवधि जेलमा काट्नुपर्नेछ भने रिहाइपछि पनि तीन वर्षसम्म अमेरिकी प्रोबेसन कार्यालय (U.S. Probation Office)को निगरानीमा रहनुपर्ने छ । सरकारी र व्यापारिक कम्प्युटर प्रणालीमा क्षति पुर्याएको तथा बच्चा पालनपोषण खर्च नतिरेकाले उनलाई कूल एक लाख ९५ हजार डलर जरिवाना समेत सुनाइएको छ ।
किप्फका वकिलले ७२ महिना जेल सजायको माग गरे पनि अभियोजकहरूले ८४ महिना जेल सजायको सिफारिस गरेका थिए ।
उनले सिस्टमको एक्सेस बेच्ने प्रस्ताव गरेको र चोरी गरिएको डेटाबेस डार्कवेबमा राखेको यूएसए टुडेले जनाएको छ । यसअन्तर्गत उनले अल्जेरिया, रुस र युक्रेनका व्यक्तिहरूलाई डेटा खरिद कार्यमा समावेश गरेको अभियोजनमा उल्लेख छ ।
ती डेटाबेसमा सामाजिक सुरक्षा नम्बर जस्ता निजी जानकारी समावेश थिए । यस्ता जानकारी अन्य साइबर अपराधीहरूलाई निकै महत्त्वपूर्ण हुने भएकाले बढी रकम पाउने आशमा उनले बिक्रीका लागि राखेको बताइएको छ ।
डार्कनेट वा डार्कवेब इन्टरनेटको एउटा हिस्सा हो, जहाँ विशेष किसिमको ब्राउजरबाट मात्र पहुँच पाउन सकिन्छ । यसले ब्राउजरको पहिचान लुकाउने भएकाले त्यसमा ब्राउज गर्ने प्रयोगकर्ताको विवरण गोप्य हुन्छ ।