काठमाडौं । इतिहासमा फर्किन नसकिने भए पनि प्रविधिको विकासले गर्दा त्यसलाई क्यामेरामा कैद गर्न भने सकिन्छ । त्यही क्यामेराबाट लिइएको फोटो र भिडिओले विगतलाई जीवन्त रूपमा उतारिदिन्छ ।
इतिहास सम्झनामा राख्न ढुङ्गामा कुँद्ने, क्यानभासमा चित्र कोर्ने र पुस्तक लेख्ने अलि पुरानै अभ्यास हो । तर अहिलेको मल्टिमिडिया तथा श्रव्यदृश्यको युगमा आम मान्छे अचलभन्दा चल्ने फोटो अर्थात् भिडिओ हेर्न रुचाउँछन् ।
वि.सं २०४१ मा नेपाल टेलिभिजनको स्थापना भएपछि नेपालका धेरै जसो ठाउँ र घटनालाई क्यामेरामा कैद गरिएका छन् । तर त्यस अघिको नेपाल ? यसमा छिटपुट फोटोग्राफर तथा भिडिओग्राफरले नेपाल खिचेका थिए । ती मध्येका एक हुन्, नेदरल्यान्डसका एड भ्यान डर कोय ।
आर्ट एकेडेमीको विद्यार्थी हुँदा सन् १९७८ (वि.सं.३०३५) तिर कोय आफ्नो देशबाट नेपाल आएका थिए । एउटा भिडिओमा उनले उल्लेख गरेका छन्, “यसअघि मैले कहिल्यै पहाड देखेको थिइनँ । एकजना साथीले मलाई पहाडहरू भएको सुन्दर देश नेपाल बारे बतायो । त्यसैले मैले त्यहाँ जाने निर्णय गरेँ,”
यसरी नेपाल आइपुगेका कोयले तत्कालीन राजदरबारदेखि अन्नपूर्ण सर्किटसम्मको दृश्य कैद गर्न भ्याए । उनले ती सबै भिडिओ ८ एमएमको फिल्म क्यामेराबाट खिचेको लेखेका छन् । यो एक प्रकारको भिडिओ क्यामेरा हो । यसमा ८ एमएम चौडाइ भएको फिल्म प्रयोग हुन्थ्यो । विशेषत: १९३० देखि १९८० को दशकमा भिडिओहरू खिच्न यो क्यामेरा निकै प्रचलित थियो ।
सो प्रकारको क्यामेराबाट भिडिओ खिचेका कोयले नेपालको विगतलाई कालान्तरसम्म जीवित राख्ने गरी मूर्धन्य काम गरेका छन् । जसलाई उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका छन् ।
उनको आफ्नै नामको युट्युब च्यानल छ । जहाँ उनले नेपाल सहित भारतको लद्दाख, सिक्किम र चीनको तिब्बत लगायतका पुराना भिडिओ अपलोड गर्दै आएका छन् ।
नेपालका राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यकी एक मात्र राजकुमारी श्रुति राज्य लक्ष्मीदेवी शाहको उनले खिचेको भिडिओ यो सामग्री तयार पार्दासम्म १० लाख पटकभन्दा बढी हेरिएको छ । अझ गोरखा जिल्लामा पर्ने ल्हो गाउँको भिडिओ २१ लाख पटकभन्दा धेरैले हेरेका छन् ।
त्यस्तै उनले ‘नेपाल एन्ड लद्दाख’ नामको फेसबुक पेज पनि चलाउने गर्छन् । जहाँ उनले यी दुई ठाउँका पुराना तस्विर शेयर गर्छन् । थुप्रै पटक नेपाल आइसकेका कोय कुशल चित्रकार पनि हुन् ।
यसअघि सिद्धार्थ आर्ट ग्यालरी र तारागाउँ म्युजियममा कोयले खिचेका फोटो तथा कोरेका चित्रहरूको प्रदर्शनी समेत भएको थियो ।
यदि पुरानो नेपाल हेर्न खोजिरहनु भएको छ भने कोय गज्जबका स्रोत हुन सक्छन् । किनकि उनले अपलोड गरेका भिडिओ तथा फोटोहरूमा तत्कालीन नेपाली समाजको रहनसहन, भौतिक संरचना, संस्कार संस्कृति, भेषभूषा, भाषा, प्रकृति आदि नियाल्न सकिन्छ ।
कोयको युट्युब च्यानलमा राखिएका पुरानो नेपाल लगायतका भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् । फेसबुक पेजमा जान भने यहाँ क्लिक गर्न सक्नु हुन्छ ।