काठमाडौं । नेपाली आईटी विद्यार्थीले बजारमा स्मार्टफोनलाई वायरलेस चार्ज गर्न सकिने अनौठो बोतल ल्याएका छन् । स्नातक तहमा बीएससी कम्युटिङ विषय अध्ययनरत ओमआशिष कार्कीले ‘थ्री इन वन’ बोतल बनाएका हुन्, जसलाई उनले आफ्नै ब्रान्ड ‘एएचके’ (AHK) मार्फत सार्वजनिक गरेका छन् । कार्कीले बोतलको नाम 'सिप एन्ड ज्याप' (Sip and Zap) राखेका छन्, जसले बोतल, चार्जर, टर्च लाइट र मोबाइल स्ट्यान्डको काम एकैसाथ गर्छ ।
उनको योजना यही बोतल मात्र नभएर अन्य बहुपयोगी इलेक्ट्रिक सामानहरू बजारमा ल्याउने हो । कार्कीका अनुसार ‘सिप एन्ड ज्याप’ बोतल स्मार्टफोन वायरलेस चार्ज गर्न, मोबाइललाई स्ट्यान्डमा राख्न र टर्चलाइटको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
सामान्य बोतलजस्तै देखिने भए पनि यसले थुप्रै अनौठा फिचरहरू समेटेको छ । यो पानी राख्न प्रयोग हुने फ्लास्क हो, जसले तातो र चिसो दुवै प्रकारको पानी राख्न सक्छ । तर, बोतलको अनौठोपन भनेको यसमा रहेको वायरलेस चार्जिङ फिचर हो । स्मार्टफोनलाई चार्ज गर्नुको साथै यो बोतललाई मोबाइल स्ट्यान्ड र टर्चलाइटको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
२० वर्षे कार्कीले यो बोतलको डिजाइन र उत्पादन आफैंले गरेका हुन् । उनी हाल सिप एन्ड ज्यापलाई नेपाली बजारमा बिक्री गर्न पनि लागिपरेका छन् । उनी भन्छन्, “बोतल त पानी राख्नको लागि छँदै छ, तर यसमा वायरलेस फोन चार्जर, फोन स्ट्यान्ड र आपतकालीन टर्चलाइटको सुविधा पनि छ । मैले यो बोतललाई बहुपयोगी बनाउन खोजेको हुँ ।”
बोतलको सुरुवात र उत्पादन
कार्कीले डेढ वर्षअघिदेखि यस प्रकारको बोतल बनाउनको लागि काम गरिरहेका थिए । “खाली बोतललाई पानी राख्नु बाहेक अन्य काममा प्रयोग गर्न सकिन्छ कि भनेर सोच्दै गर्दा सिप एन्ड ज्यापको आइडिया जन्मिएको हो,” उनी भन्छन् ।
उनले विभिन्न प्रोटोटाइप बनाएर परीक्षण गरे, र अन्ततः बिक्रीका लागि तयार भएको डिजाइन सार्वजनिक गरे । यस प्रोडक्टको डिजाइनमा आईटीको पढाइले उनलाई मद्दत गरेको छ ।
तर, आफ्नो आमा ज्ञानु बस्नेतले सहयोग नगरेको भए यो प्रोडक्ट तयार नहुने उनी सुनाउँछन् । किनकि यस प्रोडक्ट तयार गर्न हौसाउने, प्रेरणा दिनेदेखि लगानी गरिदिने काम आमाले गरेको उनी उनी बताउँछन् ।
“पहिलेदेखि नै आफैं केही गर्नु पर्छ भनेर आमाले हौसला प्रदान गर्नुहुन्थ्यो । मैले यस्तो बोतल बनाउँछु, यसले यस्तो यस्तो हुन्छ भनेपछि उहाँले सकारात्मक रूपमा लिनुभयो,” उनी भन्छन्, “उहाँले तिमीलाई विश्वास लाग्छ, बनाउन सक्छौं भने बनाऊ भन्नुभयो । त्यसपछि काम थालेर म यहाँ आइपुगेको छु,”
त्यस्तै दाइहरू अनिल र अर्बिन खड्काले पनि आफूलाई सहयोग गर्न मार्गदर्शन नगरेको भए काम गर्न गाह्रै हुने उनी सुनाउँछन् । अनिल र अर्बिन उनका आफन्त पर्ने दाइहरू हुन् ।
बोतलको विशेषता
सिप एन्ड ज्याप बोतलको तौल ३५० ग्राम मात्र छ । यसो हुँदा बोक्न पनि सहज हुन्छ । यो दुई भागमा विभाजित छ, बोतल र पावरबैंक । पावरबैंकले बोतलको ढक्कनको काम गर्छ, जसमा ५००० एमएएच क्षमताको ब्याट्री र एक वाटको फ्ल्याशलाइट छ । यसबाट फोनलाई एक पटक पूर्ण रूपमा चार्ज गर्न सकिन्छ । पावरबैंकलाई छुट्टै पनि प्रयोग गर्न सकिन्छ । पावरबैंकमा एक वाटको फ्ल्याश लाइट पनि दिइएको छ । जुन आकस्मिक समयमा प्रयोग गर्न सकिन्छ । यसबाट एन्ड्रोइड तथा आईओएस दुवै स्मार्टफोन चार्ज गर्न सकिन्छ ।
भ्याकुम फ्लास्कबाट बनाइएको यो बोतल ८०० मिलिलिटर क्षमताको छ, जसमा तातो वा चिसो पानी राख्न सकिन्छ । बोतल विशेषगरी बाहिरी गतिविधिहरू जस्तै; हाइकिङ, साइक्लिङ, जिम जाँदा वा अन्य कामका क्रममा उपयोगी हुन्छ । तर, यदि तपाईँको फोनले वायरलेस चार्जिङ सपोर्ट गर्दैन भने यो बोतललाई मोबाइल स्ट्यान्डको रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।
उपयोगिता र मूल्य
कार्कीका अनुसार यो बोतल यात्रा गर्नेहरू, कन्टेन्ट क्रियटर र क्याफेमा अनलाइन मिटिङ गर्नेहरूको लागि विशेष रूपमा उपयोगी छ । “खाना बनाउन सिक्दा इन्टरनेटबाट भान्सामा राख्न होस्, या यात्रामा अनलाइन मिटिङ गर्न यो बोतल धेरै उपयोगी हुनेछ,” उनी भन्छन् ।
अहिलेसम्म सिप एन्ड ज्याप कार्कीको आफ्नै वेबसाइटबाट मात्र किन्न सकिन्छ । चाँडै नै अन्य अनलाइन शपिङ प्लेटफर्ममार्फत पनि यो बोतल खरिद गर्न मिलाउने उनको योजना छ । उनले यो उत्पादनको लागि ८ महिनाको वारेन्टी पनि दिएका छन् । त्यस अवधिमा यदि बोतलको कुनै भाग बिग्रियो भने कम्पनीले मर्मत सेवा नि:शुल्क प्रदान गर्नेछ ।
हाल यो बोतल कालो रङमा मात्र उपलब्ध छ । लञ्च अफर अन्तर्गत सिप एन्ड ज्यापलाई चार हजार २९९ रुपैयाँमा खरिद गर्न सकिन्छ । सामान्य समयमा भने यसको मूल्य पाँच हजार १९९ रुपैयाँ हुने उनले बताए । साथै नेपालभरि नि:शुल्क डेलिभरीको सुविधा दिइएको छ ।
यदि तपाईंले बोतलबारे थप बुझ्न तथा खरिद गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।