close

अनलाइनमा तपाईँका छोराछोरी के गर्दैछन् ?

टेकपाना टेकपाना

भदौ २९, २०८१ ११:२०

अनलाइनमा तपाईँका छोराछोरी के गर्दैछन् ?

 

काठमाडौं । आजकलका बालबालिका मोबाइल र कम्प्युटरको स्क्रिनमा झुम्मिएको देख्न सकिन्छ । कोही गेम खेल्छन्, कोही भिडिओ हेर्छन् त कोही संगीसाथीसँग च्याट गरेर रमाइरहेका हुन्छने । उनीहरूको अनलाइन संसार कस्तो छ भनेर तपाईँले कहिल्यै सोच्नुभएको छ ?

तपाईंको ध्यान नपुग्दा उनीहरू गलत सामग्रीको सिकार हुन सक्छन् । साइबर बुलिङको पीडामा पर्न सक्छन् वा गोपनीयता गुमाउन सक्छन् । बालबालिकाले अनलाइनमा बिताएको समयले उनीहरूको मानसिक स्वास्थ्यमा असर पार्न सक्छ भने सामाजिक जीवनमा पनि टाढिँदै जाने खतरा हुन्छ ।

बालबालिकाले अनलाइनमा के गर्दैछन् र कस्तो सामग्री उपभोग गरिरहेका छन् भन्ने कुरा थाहा नपाउँदा अभिभावकहरूले अनपेक्षित समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ । त्यसैले, बालबालिकाको अनलाइन यात्रा सुरक्षित बनाउन र उनीहरूको अनलाइन गतिविधि बुझ्न अब तपाईंले समय निकाल्नै पर्ने बेला आएको छ । 

सामान्यतया बालबालिका भिडिओ गेम, अनलाइन भिडिओहरू, सोसल मिडिया प्लेटफर्म, शैक्षिक सामग्री, अनलाइन च्याट आदिमा समय बिताउँछन् । धेरै अभिभावकलाई लाग्न सक्छ कि उनीहरूले फोन चलाउँदा धेरै कुरा सिक्छन् । तर वास्तविकता यस्तो हुँदैन । विभिन्न प्रकारका मनोरञ्जनात्मक सामग्रीहरूले बालबालिकाको मनोवैज्ञानिक र सामाजिक विकासमा गहिरो असर पुर्‍याउन सक्छ ।

लगातार अनलाइनमा समय बिताउँदा बालबालिकाहरूमा एकाग्रताको अभाव हुने, सामाजिक दूरी बढ्ने, निद्रा सम्बन्धी समस्याहरू देखिने लगायत हुन सक्छ । त्यस्तै अनलाइन हिंसा, दुर्व्यवहार, ठगी जस्ता कुराहरूको सिकार हुने जोखिम पनि उच्च हुन्छ । यस्तै, बालबालिका अनलाइनमा हिंसात्मक खेल र अश्लील सामग्रीमा प्रवेश गर्ने सम्भावना पनि हुन्छ, जसले उनीहरूको मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पुर्‍याउन सक्छ ।

बालबालिकाको अनलाइन गतिविधिमा अनुगमन नहुँदा उनीहरूले विभिन्न समस्याहरूको सामना गर्नुपर्छ:

  • साइबर बुलिङ: इन्टरनेटमा हुने दुर्व्यवहार र गालीगलौजले बालबालिकालाई मानसिक तनाव दिने सम्भावना हुन्छ ।

  • अनलाइन ठगी: बालबालिकाहरू अन्जानमै ठगी र ह्याकिङको सिकार बन्न सक्छन् ।

  • अनुचित सामग्री: अभिभावकले ध्यान नदिँदा बालबालिकाले हिंसात्मक वा अनुचित सामग्री हेर्न सक्छन्, जसले उनीहरूको व्यवहार र दृष्टिकोणमा नकारात्मक प्रभाव पार्न सक्छ।

  • गोपनीयता खतरामा: बालबालिकाको गोपनीयता सुरक्षित गर्न अभिभावक सचेत नहुने हो भने उनीहरूको व्यक्तिगत जानकारी गलत व्यक्तिहरूसँग पुगेको हुनसक्छ, जसले भविष्यमा ठगीको सिकार बनाउन सक्छ।

बालबालिकाको गोपनीयता र सुरक्षा सुनिश्चित गर्न यी कुरामा ध्यान दिन सकिन्छ:

  • प्राइभेसी सेटिङ: बालबालिकाको सोसल मिडिया अकाउन्टमा प्राइभेसी (गोपनीयता) सेटिङहरूको सही रूपमा प्रयोग गर्न सिकाउनु पर्दछ ।

  • बालिबालिकासँग संवाद: बालबालिकाको अनलाइन गतिविधिबारे उनीहरूसँग नियमित संवाद गरी र के हेरिरहेका छन् भन्ने बुझ्नुपर्छ । साथै उपयोगी सामग्रीका लागि प्रेरित गर्नुपर्छ ।

  • समय सीमा तोक्नु: अनलाइनमा बिताउने समयको सीमा तोक्न आवश्यक छ जसले गर्दा अनलाइनमा बिताएको समयको सदुपयोग होस् र अन्य सामाजिक क्रियाकलापमा पनि सहभागी हुन सकून् ।

के गर्ने अनि के नगर्ने ?

१. बालबालिकाले अनलाइनमा गर्ने गतिविधिबारे जानकारी राख्नुहोस् र खुलेर कुरा गर्नुहोस् । यसका साथै त्यसबारे कुरा गर्न अभिप्रेरित समेत गर्नुहोस् ।

२. बालबालिकाले हेर्ने युट्युब, टिकटक लगायतका भिडिओ, चलाउने फेसबुक लगायतका सामाजिक र खेल्ने अनलाइन गेम आदि बारे आफूले पनि जानकारी राख्नुहोस् ।

३. यदि बालबालिकाले सामाजिक सञ्जालको प्रयोग गर्छन् भने उनीहरूका साथीहरू कोको छन्, केके शेयर गर्छन्, कस्ता कुराकानी गर्छन् आदिबारे जानकारी राख्नुहोस् ।

४. बालबालिकाले मोबाइल, ट्याब्लेट वा कम्प्युटर चलाउने समयलाई सीमित गर्नुहोस् । बरु उनीहरूलाई खेलकुद, शारीरिक व्यायाम, ध्यान, योगा, संगीत जस्ता अतिरिक्त क्रियाकलापमा संलग्न गराउनुहोस् ।

५. बालबालिकाले सामाजिक सञ्जालको प्रयोग गर्दा हुनसक्ने सम्भावित अनुचित  गतिविधिहरूको बारेमा जानकारी राख्नुहोस् र नियमित निगरानी गर्ने बानी बसाल्नुहोस् ।

६. बालबालिकाले नियमित रुपमा चलाउने अनलाइन क्लास आदिको लिङ्कलाई सहज पहुँचका लागि बुकमार्क गरी उनीहरूलाई सोको प्रयोग गर्न सिकाउनुहोस् ।

७. बालबालिकाले अनलाइनमा के हेर्दै वा गर्दैछन् भन्ने कुरा निगरानी गर्न उनीहरूले चलाउने कम्प्युटर, ट्याब्लेट वा मोबाइल आदिको स्क्रिन सबैले देख्नेगरी राख्नुहोस् ।

८. बालबालिकालाई आफ्नो युजर आईडी र पासवर्ड जस्ता व्यक्तिगत विवरण गोप्य राख्न सिकाउनुहोस् ।

९. बालबालिकालाई अनलाइनमा भेटेका साथीहरूलाई सकेसम्म भौतिक रुपमा भेट्न निरुत्साहित गर्नुहोस् ।

१०. बालबालिकाले प्रयोग गर्ने कम्प्युटरमा एन्टिभाइरस, एड ब्लकर, नेट क्राफ्ट वा चाइल्ड प्रोटेक्सन सफ्टवेयरहरू राख्नुहोस् ।

११. अनावश्यक र प्रयोग नहुने आईडी तथा अकाउन्टहरू बन्द गर्न लगाउनुहोस् ।

१२. आफ्नो इन्टरनेट सेवा, अपरेटिङ सिस्टम, एप्लिकेसनमा रहेको प्यारेन्टल कन्ट्रोल तथा चाइल्ड सेफ्टी फिचर प्रयोग गर्नुहोस् ।

१३. फ्रिवेयर, पाइरेटेड सफ्टवेयर तथा गेम, फ्रि म्युजिक तथा भिडिओ, अश्लील सामग्री उपलब्ध हुने असुरक्षित वेबसाइटको प्रयोग नगर्न सिकाउनुहोस् । त्यस्ता असुरक्षित वेबसाइटहरूले पठाउने पप-अप विन्डोज तथा ब्यानरमा प्रचारका लागि आउने लिङ्कमा क्लिक नगर्न भन्नुहोस् ।

१४. कम्प्युटर, ईमेल तथा इन्टरनेटको लिङ्क तथा अट्याचमेन्टलाई सही पहिचान गरेर मात्र क्लिक गर्न वा खोल्न सिकाउनुहोस् । त्यस्ता लिङ्क तथा अट्याचमेन्ट सङ्कास्पद लागेमा नखोल्न भन्नुहोस् ।

१५. कुनै शङ्कास्पद गतिविधि र असहज परिस्थिति भएमा अभिभावकलाई जानकारी दिन बालबालिकालाई सिकाउनुहोस् र कुनै गम्भीर विषय भए सम्बन्धित निकायमा उजुरी दिनुहोस् । 

पछिल्लो अध्यावधिक: भदौ २९, २०८१ ११:२०