काठमाडौं । दूरसञ्चार प्रविधिमा अब्बल देशहरू अहिले गुणस्तरीय फाइभजी सेवा प्रदान गर्न तँछाडमछाड गरिरहेका छन् । तर विश्वभर फाइभजी नेटवर्कको विस्तार चुनौतीपूर्ण छ । उच्च फ्रिक्वेन्सीका सिग्नलहरू टाढासम्म फैलन नसक्नु नै फाइभजी विस्तारको ठूलो चुनौती हो । यसर्थ फोरजीभन्दा फाइभजीका बेस स्टेसन (टावर) धेरै राख्नुपर्ने हुन्छ ।
जापानमा यही समस्याको लागि टेलिकम कम्पनीहरूले नवीन समाधान निकालेका छन् । मोबाइल क्यारियर एनटीटी, सिसाको काम गर्ने एजीसी र पूर्वाधार कम्पनी जेटावरको सहकार्यमा ‘फ्युचरिस्टिक ग्लास एन्टेना’ तयार भएको छ । यो प्रविधिलाई ‘वेभ एन्टेना’ नाम दिइएको छ । यसले सिसाका साधारण झ्यालहरूलाई फाइभजीको टावरमा बदल्ने क्षमता राख्छ ।
यसका लागि सिसाका दुई पानाबीच विशेष प्रकारको पारदर्शी विद्युत चालक (कन्डक्टर) राखेर एन्टेना बनाइएको छ, जुन सामान्यतः गाडीको लमिनेटेड विन्डशील्डमा पाइन्छ ।
जेटावरले सार्वजनिक गरेको फोटोमा झ्यालसँगै उक्त सिसाको टावर पनि देखिन्छ । तर हामीले साधारण रूपमा देखिरहेको टावरभन्दा पनि आयताकार सिसा जस्तो मात्र देखिन्छ । अनि त्यसभित्रबाट निस्केका तारहरू ।
एजीसीका प्रतिनिधिका अनुसार यो संसारकै पहिलो एन्टेना हो, जसले झ्याललाई बेस स्टेसनमा रूपान्तरण गर्न सक्छ । यसले सहरको सुन्दरता र भवनको बाहिरी स्वरूप बिगार्दैन ।
त्यस्तै यसले नेटवर्कको टावर राख्न ठाउँ अभाव हुने समस्या पनि समाधान गर्ने बताइएको छ । किनकि यसलाई जडान गर्न परम्परागत सेल टावर जस्तो नयाँ पूर्वाधार बनाइरहनु पर्दैन ।
यस टावरले फाइभजी सब सिक्स (5G Sub6) ब्यान्डमा काम गर्छ । विशेषगरी ३.७ देखि ४.५ गिगाहर्ज फ्रिक्वेन्सीमा यसले राम्रो काम गर्छ । जुन फाइभजीको उच्चतम मिलिमिटर वेभ (एमएमवेभ, ३० देखि ३०० गिगाहर्ज) फ्रिक्वेन्सी भन्दा कम हो ।
सन् २०२० देखि विकास गर्न थालिएको यो प्रविधिले उच्च ब्यान्डविथ उपलब्ध नगराए पनि फाइभजी नेटवर्कको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।