काठमाडौं । दशैंको रमझममा मानिसहरू आफ्नो गाउँघर फर्कने क्रम तीव्र छ । लामो दुरीको यात्रा गर्दा थकान र झन्झटिलो हुनसक्छ, तर प्रविधिको सही प्रयोगले यात्रा रमाइलो बनाउन सकिन्छ ।
प्रविधि समाज त्यतिधेरै व्याप्त नहुँदासम्म दशैंको यात्रा कस्तो हुन्थ्यो, त्यता नजाऔं । हरेकको भोगाइ आ-आफ्नै छ । तर, अब दशैंको यात्रालाई स्मार्ट बनाउन सकिन्छ । यसको कारण हो, प्रविधिमा आएको आमूल परिवर्तन ।
आज हामी दशैं-तिहारको यात्रालाई कसरी स्मार्ट बनाउने त्यसबारे खण्डखण्डमा विस्तृतमा चर्चा गर्ने छौं:
यात्राअघि
तपाईंले आफ्नो यात्राको बारेमा पहिले केही तयारी गर्न सक्नुहुन्छ । गन्तव्य पुग्न कति लाग्छ ? बाटो कस्तो छ ? यो कुरा तपाईंले गुगल म्याप्स, एप्पल म्याप्स जस्ता प्लेटफर्मबाट थाहा पाउन सक्नुहुन्छ ।
यात्रा गर्नुअघि तपाईंले म्याप्स सम्बन्धी निम्न काम गर्न सक्नुहुन्छ:
-अनलाइन टिकेटिङ
यदि तपाईं यात्रु हुनुहुन्छ भने आजभोलि विमानको होस् या बसको, अनलाइनमार्फत नै टिकट खरिद गर्न सक्नुहुन्छ । यसो हुँदा टिकट काट्न भौतिक रुपमा काउन्टरमा पुगिरहनु पर्दैन । यसले तपाईंको समय बचत गर्नेमा दुविधा छैन, सँगै तपाईंलाई सहजता पनि प्रदान गर्छ । विमानको लागि ईसेवा, खल्ती, आईएमई पे जस्ता प्लेटफर्मबाट टिकट काट्न सक्नुहुन्छ भने बस सेवा, बस सेवा नेपाल, ओके जर्नी, बकबस आदि प्लेटफर्म बसका लागि रहेका छन् ।
सवारीधनी
यदि तपाईं आफ्नै बिजुली कार चढेर यात्रामा निस्कने योजना बनाउँदै हुनुहुन्छ भने चार्जिङ स्टेसन कहाँकहाँ छ भनेर आफ्नै डिभाइसबाट थाहा पाउन सक्नुहुन्छ । यसका लागि नेपाल विद्युत प्राधिकरणको एप हेर्नु होस् । अथवा सम्बन्धित ब्रान्डको मोबाइल एप हेर्न सक्नुहुन्छ ।
-अफलाइन म्याप
तपाईं जाने कतिपय ठाउँमा इन्टरनेट नचल्न सक्छ । त्यस्तोमा अफलाइन म्याप उपयोगी हुन्छ । किनकि नाम जस्तै यसले इन्टरनेट नहुँदा पनि काम गर्छ ।
यात्राको आधुनिक सारथी म्याप हो भन्दा फरक पर्दैन । किनकि चालकलाई नसोधेरै तपाईंले कहाँ पुगियो, गन्तव्य आउन कति बाँकी छ, जस्ता कुराहरू थाहा पाउन सक्नुहुन्छ ।
-लाइभ लोकेसन शेयरिङ
यात्रा थाल्नुअघि तपाईंले गर्नै पर्ने काम हो, लाइभ लोकेसन शेयरिङ । यसो गर्दा घरमा तपाईंले आफू कहाँ पुगेँ भनेर भनिरहन पर्दैन । घरकाले सजिलै तपाईंको लाइभ लोकेसन हेर्न सक्छन् ।
यात्रा थाल्नुअघि मौसम र बाटोबारे बुझ्न अत्यन्त जरुरी छ । हुन त अहिलेका आधुनिक स्मार्टफोन, स्मार्टवाचमा नियमित रूपमा मौसमबारे अपडेट पाइन्छ । सामान्य गुगल सर्च गरेर पनि मौसमबारे जानकारी लिन सकिन्छ ।
यसबाहेक जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखामा सम्पर्क गरेर अथवा वेबसाइटमा गएर मौसमबारे जानकारी लिन सक्नुहुन्छ । साथै नेपाल प्रहरीलाई सम्पर्क गरेर अथवा वेबसाइटमा हेरेर तपाईंले बाटोको अवस्थाबारे बुझ्न सक्नुहुन्छ ।
लामो यात्रामा कतिबेला के हुन्छ ठेगाना हुँदैन । यसकारण यात्रा थाल्नुअघि तपाईंले आफ्नो डिजिटल डिभाइस फुल चार्ज गर्नु राम्रो हुन्छ । चाहे त्यो फोन होस् या स्मार्टवाच । अथवा क्यामेरा नै किन नहोस् ।
किनकि बाटोमा चार्ज गर्ने ठाउँ नहुन सक्छ । अझ तपाईंले ब्याकअपका लागि पावरबैंक साथमा लिँदा फाइदा नै हुन्छ । त्यस्तै आपत्कालीन अवस्थाका लागि आफ्नो सिममा केही ब्यालेन्स राख्ने र डेटा पनि लिन सक्नुहुन्छ ।
छोटो यात्रामा त समस्या त्यति हुन्न । सहसाथीहरूसँग कुरै गरेर दुरी पार गरिएला । तर लामो यात्रामा सधैंभर कुरा गरेर साध्य हुँदैन । त्यस्तोमा तपाईंको साथी स्मार्टफोन बन्न सक्छ । किनकि यात्रालाई रमाइलो बनाउन तपाईंले फोनमा गीत/पडकास्ट/अडिओ बुक सुन्ने, फिल्म हेर्ने जस्ता गतिविधि गर्न सक्नुहुन्छ । यसका लागि स्पोटिफाई, एप्पल म्युजिक, युट्युब म्युजिक, युट्युब जस्ता प्लेटफर्म उपयोगी हुन्छन् ।
यात्रामा स्मार्टफोनकै अडिओमा भर पर्नु त्यति राम्रो अनुभव नहुन सक्छ । बरु तपाईंले वायरलेस हेडफोन, इयरबड्स, ब्लुटुथ स्पिकर आदि प्रयोग गर्न सक्नुहुन्छ । यसबाहेक सहयात्रुहरू बिचमा नै तपाईंहरू सहज हुने (जस्तो: लुडो, चेस) अनलाइन खेल खेल्न सक्नुहुन्छ ।
छोटो दुरीको यात्रा
नजिकको यात्रामा आफ्नै सवारी साधन छैन भने अहिले चिन्ता लिनुपर्न अवस्था छैन । यस्तोमा राइड शेयरिङ प्लेटफर्म विकल्प छन् । सिटी टु सिटी अर्थात् एउटा सहरदेखि अर्कोमा जाने सुविधा नेपालमा सक्रिय रहेका राइड शेयरिङ प्लेटफर्ममा छन् ।
तपाईंलाई लाग्ला, त्यति लामो दुरीको शुल्क त अचाक्ली हुन्छ । त्यस्तो सोच्नु पनि जायज नै छ । तर अतालिहाल्नु पर्ने अवस्था छैन । किनकि ती राइड शेयरिङ प्लेटफर्महरूले छुट दिइरहेका हुन्छन् । कुनै भवितव्य आए राइड शेयरिङमा बीमाको पनि व्यवस्था गरिएको छ । यसो हुँदा यात्राबारे चिन्ता लिनुपर्ने अवस्था छैन ।
यदि राइड शेयरिङमा तपाईंलाई चिन्ता छ भने त्यसको पनि विकल्प छ । किनकि केही अनलाइन कार रेन्टल सर्भिसेस नेपालमा उपलब्ध छन् । तिनबाट तपाईंले कार/जिप/भ्यान बुक गर्न सक्नुहुन्छ । ट्राभल केन्द्र, ईड्राइभ नेपाल, इजी ट्रान्सपोर्ट नेपाल, ड्राइभ सेवा जस्ता केही प्लेटफर्म उदाहरण हुन् । यी कम्पनीको वेबसाइटबाट तपाईंले बुक गर्ने काम गर्न सक्नुहुन्छ ।