close

आफैं चल्ने रोबोट्याक्सी भोलि सार्वजनिक गर्दै एलन मस्क

टेकपाना टेकपाना

असोज २४, २०८१ १६:२४

आफैं चल्ने रोबोट्याक्सी भोलि सार्वजनिक गर्दै एलन मस्क

 

काठमाडौं । एलन मस्क प्रमुख कार्यकारी रहेको विद्युतीय सवारी निर्माता ट‍ेस्लाले भोलि शुक्रवार सेल्फ ड्राइभिङ ट्याक्सी अर्थात् ‘रोबोट्याक्सी’ सार्वजनिक गर्ने भएका छन् । नेपाली समय अनुसार बिहान पाैने ८ बजे एक विशेष कार्यक्रममार्फत रोबोट्याक्सी सार्वजनिक हुने भएको हो ।

यस रोबोट्याक्सीलाई साइबर क्याब भनेर समेत उपनाम दिइएको छ । ट्याक्सीबारे कम्पनीले पहिलो पटक नोभेम्बर २०१९ मा घोषणा गरेको थियो । त्यस्तै यसको डिजाइन गत वर्ष मात्र सार्वजनिक गरिएको थियो । जस अनुसार यसमा दुई ओटा सिट र ढोका हुनेछन् । यसको बनोटमा स्टेनलेस स्टिल प्रयोग गरिएको छ । 

यसमा अन्य गाडीमा जस्तो स्टेयरिङ अथवा पेडल हुने छैन । किनकि यो गाडी पूर्ण स्वचालित हुनेछ । यसअघि २०१९ मा भएको एक लगानी सम्मेलनमा बोल्दै मस्कले यस ट्याक्सीबाट मालिकले पैसा कमाउन सक्ने समेत बताएका थिए । स्वचालित हुने भएकाले ट्याक्सीलाई मालिकले यात्रुको ओसारपसार गर्न प्रयोग गर्न सक्ने उनले दाबी गरेका थिए ।

त्यस्तै भोलि हुने कार्यक्रममा टेस्लाले आफ्नो राइड हेलिङ प्लेटफर्म पनि सार्वजनिक गर्न सक्ने बताइएको छ । यदि त्यसो भएन भने उबर जस्ता राइड हेलिङ प्लेटफर्मसँगको सहकार्य घोषणा हुन सक्ने बताइएको छ ।

रोबोट्याक्सी सार्वजनिक हुने कार कसरी हेर्ने ?

टेस्लाले यस गाडीको सार्वजनिक कार्यक्रमलाई 'वी, रोबोट' नाम दिएको छ । कार्यक्रम क्यालिफोर्नियामा रहेको एक चलचित्र स्टुडियोमा हुनेछ । तर प्रत्यक्ष प्रसारणमार्फत विश्वभरबाट यस कार्यक्रम हेर्न सकिन्छ । हालसम्म टेस्लाले सो कार्यक्रमको प्रत्यक्ष प्रसारणबारे एक्समा जानकारी दिएको छ । युट्युबमा भने अहिलेसम्म प्रत्यक्ष प्रसारण आउँछ/आउँदैन, केही जानकारी दिइएको छैन ।

एलन मस्कले गरे ‘रोबोट्याक्सी’ ल्याउने घोषणा

आउँदो ८ अगस्टमा आफैं चल्ने रोबोट्याक्सी ल्याउँदै एलन मस्क

पछिल्लो अध्यावधिक: असोज २४, २०८१ १६:२५