काठमाडौं । अहिले प्रविधिको युग हो । प्रविधिले मानव सभ्यतालाई अर्कै स्थानमा पुर्याएको छ । चाहे त्यो, इन्टरनेट होस् या चिपको विकास । एआईको विकास होस् या विद्युतको विकास । प्रविधि बिना चलचित्र पनि सम्भव छैन । तर, अहिले प्रविधि बुझ्नलाई सहयोग गर्ने एउटा राम्रो माध्यम भने चलचित्र हो । मानव सभ्यताको सुन्दर सिर्जना मानिने चलचित्रले आममान्छेलाई जीवनको विभिन्न आयाम बुझ्न सहयोग गर्छ । जसमा विज्ञान प्रविधि नपर्ने कुरै भएन ।
यदि यसपालीको दशैंमा तपाईं फुर्सदमा हुनुहुन्छ भने विज्ञान तथा प्रविधि बुझ्न हेर्नैपर्ने १० चलचित्रबारे आज हामी संक्षिप्तमा चर्चा गर्ने छौं । आफ्नो अनुकूल समया तपाईंले ती हेर्न सक्नुहुन्छ:
इन्टरस्टेलर (Interstellar)
प्रदर्शन मिति: २०१४
निर्देशक: क्रिस्टोफर नोलन
कलाकार: म्याथ्यू मकोनाही, एनी ह्याथवे, जेसिका चेस्टेन आदि ।
विषयवस्तु: भविष्यमा मानव सभ्यताका लागि बस्न योग्य ग्रहको खोजीको क्रममा भएका अन्तरिक्ष यात्रा र विज्ञानका जटिल सिद्धान्तहरूलाई यस चलचित्रमा देखाइएको छ । ब्ल्याक होल, टाइम डाइलेसन, सापेक्षता सिद्धान्तलाई बुझ्न यस चलचित्र निकै उपयोगी हुन्छ ।
द म्याट्रिक्स (The Matrix)
प्रदर्शन मिति: १९९९
निर्देशक: वाचोवस्की ब्रदर्स
कलाकार: केनु रिभ्स, लरेन्स फिसबर्न, क्यारी-एन मोस आदि
विषयवस्तु: वास्तविकता र कम्प्युटर सिमुलेसक्स बीचको सीमालाई यस चलचित्रले प्रश्न गर्छ । साइबरपङ्क शैलीको यस फिल्मले एआईको खतरा पनि देखाएको छ ।
२००१: अ स्पेस ओडिसी (2001: A Space Odyssey)
प्रदर्शन मिति: १९६८
निर्देशक: स्टानली क्युब्रिक
कलाकार: केयर दुल्ले, गेरी लकउड आदि
विषयवस्तु: यो फिल्मले मानव जातिको अन्तरिक्षमा प्रवेश, एआईको विकास र अन्य ग्रहहरूको खोजीबारे कथा देखाएको छ । विशेषगरी चलचित्रमा एचएएल ९००० नामक कम्प्युटरबारे चर्चा गरिएको छ । चलचित्रले आधुनिक प्रविधिको भविष्यबारे भने प्रश्न गरेको छ ।
द इमिटेसन गेम (The Imitation Game)
प्रदर्शन मिति: २०१४
निर्देशक: मोर्टेन टिल्डम
कलाकार: बेनेडिक्ट कम्बरब्याच, केइरा नाइटली, म्याथ्यू गुड आदि
विषयवस्तु: यो चलचित्रले एलन ट्यूरिङको जीवन र उसले दोस्रो विश्वयुद्धको बेला जर्मनीको इनिग्मा कोड ब्रेक गरेर युद्धलाई छोट्याउन गरेको प्रयासको कथा देखाएको छ । यसले कम्प्युटर विज्ञान र एआईको विकासको सुरुवातको कथा पनि भनेको छ ।
कन्ट्याक्ट (Contact)
प्रदर्शन मिति: १९९७
निर्देशक: रोबर्ट जेमेकिस
कलाकार: जोडी फोस्टर, म्याथ्यू मकोनाही आदि
विषयवस्तु: अन्य ग्रहहरूमा जीवनको सम्भावना र पृथ्वी बाहिरको बौद्धिक जीवनसँग सम्पर्कबारेको अवधारणा यस चलचित्रमा देख्न सकिन्छ । यसका साथै वैज्ञानिक र धार्मिक विश्वासबीचको द्वन्द्व पनि देखाइएको छ ।
ब्लेड रनर २०४९ (Blade Runner 2049)
प्रदर्शन मिति: २०१७
निर्देशक: डेनिस भिल्नभ
कलाकार: रयान गोसलिङ, हैरिसन फोर्ड आदि
विषयवस्तु: यसमा कृत्रिम जीवन र मानवताको भविष्यबारे गम्भीर प्रश्न उठाइएको छ । चलचित्रमा एआई, जीन इन्जिनियरिङ र नैतिकता मुख्य विषयवस्तु रहेका छन् ।
इन्सेप्सन (Inception)
प्रदर्शन मिति: २०१०
निर्देशक: क्रिस्टोफर नोलन
कलाकार: लियोनार्डो डिक्याप्रियो, सिलियन मर्फी आदि
विषयवस्तु: मानिसका सपनाहरूमा पस्न सकिने प्रविधिको प्रयोगले मानिसको चेतना र धारणाहरूलाई कसरी प्रभाव पार्न सकिन्छ भन्ने विषयमा यस चलचित्र केन्द्रित छ । यसमा वास्तविकता र सपनाबीचको फरकको गहिरो विश्लेषण हेर्न सकिन्छ ।
द मार्सन (The Martian)
प्रदर्शन मिति: २०१५
निर्देशक: रिडले स्कट
कलाकार: म्याट डेमन, जेसिका च्यास्टेन आदि
विषयवस्तु: केही कारणवश मङ्गल ग्रहमा एक अन्तरिक्षयात्री एक्लै छोडिएका छन् । त्यसपछि उसले आफूलाई बचाउनको लागि विज्ञान र प्रविधिको प्रयोग गर्छ । चलचित्रले सोही कुरा देखाएको छ । यसमा ग्रहको अनुसन्धान र अन्तरिक्ष विज्ञानबारे जानकारी प्राप्त गर्न सकिन्छ ।
हर (Her)
प्रदर्शन मिति: २०१३
निर्देशक: स्पाइक जोन्स
कलाकार: जोआकिन फिनिक्स, स्कारलेट जोहानसन आदि
विषयवस्तु: यस चलचित्रले एआईसँग मानिसको भावनात्मक सम्बन्धको विकासबारे प्रश्न उठाएको छ । अहिले एआई च्याटबटमा भावनाहरू विकास गर्न खोजिरहँदा यो चलचित्रको उदाहरण दिने गरिएको छ । चलचित्रले प्रविधि र मानव सम्बन्धको भविष्यबारे रोचक दृष्टिकोण दिएको छ ।
ग्याट्याका (Gattaca)
प्रदर्शन मिति: १९९७
निर्देशक: एन्ड्रयू निकोल
कलाकार: इथन हक, उमा थुरमन आदि
विषयवस्तु: भविष्यमा जीन इन्जिनियरिङ प्रयोग गरेर मानिसहरूलाई समाजमा विभाजन गरिने सम्भावना र नैतिकताको जटिलतालाई यस चलचित्रमा देखाइएको छ । छोटोमा भन्दा जेनेटिक्सको प्रयोग बढ्दै जाँदा मानव जातिको भविष्य कस्तो हुन सक्छ भनेर प्रस्तुत गरिएको छ ।
यी बाहेक पनि ग्राभिटी (२०१३), अराइभल (२०१६), क्रियटर (२०२३), जुरासिक पार्क (१९९३), द सोसल नेटवर्क (२०१०), ट्रान्ससेन्डेन्स (२०१४, बिगबग (२०२३), मेगन (२०२३) जस्ता चलचित्र पनि तपाईंले हेर्न सक्नुहुन्छ ।