close

गाउँघरमा दशैं मनाउँदै  हुनुहुन्छ ? माहोललाई अविस्मरणीय बनाउन यसरी बनाउनुहोस् पडकास्ट

टेकपाना टेकपाना

असोज २७, २०८१ १९:२३

गाउँघरमा दशैं मनाउँदै  हुनुहुन्छ ? माहोललाई अविस्मरणीय बनाउन यसरी बनाउनुहोस् पडकास्ट

काठमाडौं । दशैंमा तपाईं हामीमध्ये अधिकांश गाउँघरमा छौं । परिवार, आफन्त र साथीभाइसँग भेटघाट भइरहेको हुनसक्छ । त्यस्तै कोही गाउँघरमा भएका नयाँ परिवर्तन पनि नियाली रहनु भएको होला । यसै पनि दशैंको फुर्सदियो समय हो । यो समय सदुपयोग गर्ने विभिन्न माध्यम हुन सक्छन् । त्यसका लागि पडकास्ट उत्तम विकल्प हुन सक्छ । 

किन बनाउने पडकास्ट ? 

तपाईंको गाउँघरमा पक्कै पनि पाको उमेरका नागरिक हुनुहुन्छ । उहाँहरूको बाल्यकाल, उहाँहरूले गरेका संघर्ष, उहाँहरूका लुकेका कथावस्तु गज्जबका कन्टेन्ट हुन्छन् । त्यस्तै तपाईंको ठाउँको बारेमा जानकारी भएको विज्ञ व्यक्ति कोही हुनसक्छ । त्यस्तोमा उनीहरूको कुरा पडकास्टमार्फत बाहिर ल्याउन सक्नुहुन्छ । 

पडकास्ट बनाउन के के कुरा तयार पार्ने ?

जर्मनकी पत्रकार ब्रीगीट हेगडर्नको पुस्तकको नेपाली संस्करण ‘पडकास्टिङ सङ्क्षिप्त परिचय’ हालै मात्र सार्वजनिक भएको छ । उक्त पुस्तक सेन्टर फर मिडिया रिसर्च नेपालले प्रकाशन गरेको हो । पुस्तकमा लेखिका हेगडर्नले पडकास्ट तयार पार्दा के कुरामा ध्यान दिने भन्ने उल्लेख गरेकी छिन् । 

उनले सबैभन्दा पहिले पडकास्टको लक्ष्य पहिचान गर्न सुझाव दिएकी छिन् । त्यसपछि लक्षित श्रोता पहिचान गर्नुहोस् । यति गरेपछि त्यस सामग्रीको योजना बनाउनुहोस् र त्यसबाट हुने लाभ विश्लेषण गर्नुहोस् । 

पडकास्ट डिजाइन गर्दा सुरुवात कसरी गर्ने, अन्त्य कसरी गर्ने, लम्बाइ कति बनाउने र समयावधि कति बनाउने भन्ने कुरा ध्यान दिनुपर्छ । 

यो सबै योजना बनाइसकेपछि अब कसरी रेकर्ड गर्ने भन्ने कुरा ख्याल गर्नुहोस् । अहिले तपाईंसँग स्तरिय माइक वा क्यामेरा नहुन सक्छ । त्यसैले अहिले तपाईंको फोनको साउन्ड रेकर्डर एप नै उपयुक्त हुन्छ । उक्त एपबाट रेकर्ड गरिएको अडियोलाई एडोबी पडकास्ट एपबाट एडिट गर्न सक्नुहुन्छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् । 

पत्रकार हेगडर्नले अडियो रेकर्ड गर्न मोबाइलमा अउफोनिक (Auphonic) एप डाउनलोड गर्नुहोस् । यही एपमा अडियो एडिट गर्ने सुविधा पनि छ। त्यस्तै अडियोलाई अडासिटी (Audacity) सफ्टवेयर वा हाइडेनवर्ग जर्नलिस्ट (Hindenburg Journalist) सफ्टवेयरको प्रयोग गर्न सक्नुहुन्छ । 

कसरी तयार पार्ने ?

सामान्यतः पडकास्ट अडिओ र भिडिओ दुवै माध्यममा बनाउने प्रचलन छ । यद्यपि बढी केन्द्रित अडियोमै हुन्छ । पडकास्ट तयार पार्ने विभिन्न तरिका छन् । मुख्यतः अन्तर्वार्ता र कुराकानी वा एक पुरुष वा एक महिला प्रस्तोता मात्रै रहने एकल श्रृङ्खलामा आधारित पडकास्ट प्रयोगमा छन् । 

यतिभएपछि तपाईंले ड्राफ्ट तयार पार्नुपर्ने हुन्छ । खासगरी कस्ता शब्दहरू प्रयोग गर्ने, कस्ता प्रश्न सोध्ने, लगायतका विषयसूची तयार पार्दा तपाईंलाई नै सजिलो हुन्छ ।

हेगडर्नले पडकास्ट तयार पार्दा यी कुरामा ध्यान दिन सुझाव दिएकी छिन् ।
 

  • सम्भव भएसम्म संज्ञाको स्थानमा क्रियापद प्रयोग गर्नुहोस् ।

  • सक्रिय क्रियापदको प्रयोग गर्नुहोस् ।

  • छोटा छोटा वाक्य बनाउनुहोस् । नयाँ विचार वा नयाँ जानकारीका लागि छुट्टै वाक्य बनाउनुहोस् ।

  • कुनै अनुमानकर्ता वा पूर्वाग्रही नबनी क्रमशः आफ्नो विचार निर्माण गर्नुहोस् ।

  • वाक्य संरचनामा विविधीकरण गर्नुहोस् ।

  • क्रियाविश्लेषण वा संयोजक प्रयोग गर्नुहोस् । शुरूमा विषयवस्तुको संक्षिप्त सिंहावलोकन तयार गर्नुहोस् ।

  • अघि बढ्‌दै जाँदा तपाईं विषयवस्तुका हिसाबले कहाँ हुनुहुन्छ भनेर भन्नुहोस् ।

  • राम्रो सुनिने पाठ्यांशमा सूचनाको घनत्व न्यून हुन्छ । प्रसंग दोहोर्‍याएर प्रस्तुत गर्दा विषयवस्तु पछ्याउन श्रोतालाई सजिलो हुन्छ ।

  • अन्तिममा निष्कर्ष झल्कने गरी सारांश प्रस्तुत गर्नुहोस् । 

  • अङ्कको प्रयोग सकेसम्म कम गर्नुहोस् । 

  • विदेशी शब्द सकेसम्म कम गर्नुहोस् । 

यसरी पडकास्ट रेकर्ड गर्ने सबै तयारी पूरा गरिसकेपछि पडकास्ट रेकर्ड गर्न सुरु गर्नुहोस् । पडकास्टमा ब्याकग्राउन्ड म्युजिक र फोटोको महत्त्व उत्तिकै हुन्छ । हेगडर्नले निम्न वेबसाइट सुझाव दिएकी छिन् । 

पडकास्ट डाइरेक्टरीमा दर्ता

पडकास्ट डाइरेक्टरीहरू सब्स्क्राइब गर्नु तपाईंका लागि अत्यावश्यक छ । र, यसका लागि होस्टिङ प्रदायकहरूले सहजता प्रदान गर्दछन् । तर, उनीहरूले सबै डाइरेक्टरीका लागि सेवा दिँदैनन् । त्यस्तै उनीहरूले प्रस्ताव गर्ने सबै डाइरेक्टरी सान्दर्भिक नहुन पनि सक्छन् । तसर्थ तपाईंले एक वा दुई ओटा डाइरेक्टरीमा आफैंले पडकास्ट पठाउनुपर्ने हुन्छ ।

तपाईंको पडकास्ट तल उल्लेखित पडकास्ट डाइरेक्टरीमा हुनु आवश्यक छ :

  • एप्पल पडकास्ट्स (Apple Podcasts)

  • स्पटिफाई (Spotify)

  • डिजर (Deezer)

  • स्टिट्चर (Stitcher)

  • पोडिमो (Podimo)

  • अमेजन म्युजिक (Amazon Music)

यी हरेक डाइरेक्टरीमा तपाईंले आफ्नो आरएसएस फिड दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य निःशुल्क रूपमा गर्न सकिन्छ र यसलाई एकपटक सुरूमा मात्रै गर्नुपर्ने हुन्छ । प्लेटफर्ममा कार्य निशुल्क बितिकै आरएसएस फिडमा पनि स्वचालित रूपमा अपडेट हुन्छ । यही कारणले भिन्नाभिन्नै प्लेटफर्ममा तपाईंको पडकास्ट कुन अवस्थामा छ भनेर याद गर्नु एकदमै महत्वपूर्ण हुन्छ ।

युट्युबमा पडकास्ट

गुगलअन्तर्गत रहेको युट्युब गुगलपछिको दोस्रो सबैभन्दा ठूलो सर्च इन्जिन हो । यही कारण युट्युब पनि पडकास्टका लागि पनि ठूलो प्लेटफर्म हो । पडकास्ट सर्जकहरूले युट्युबमा सहज रूपमा नै किबोर्ड हालेर पडकास्ट खोज्न मिल्ने बनाउन सक्नुपर्छ । भिडिओ एडिटरको सहयोगले तपाईंले सजिलै तस्बिरहरू प्रयोग गरेर पडकास्ट बनाई आफ्नो युट्युब च्यानलमा अपलोड गर्न सक्नुहुनेछ । युट्युबमा भने फिडलाई नै एकीकृत गर्न मिल्दैन, जसकारण भिडिओहरू एकल रूपमा अपलोड गर्नुपर्ने हुन्छ । यसका लागि केही होस्टिङ सेवाहरूले पनि सपोर्ट गर्ने गर्दछन् । युट्युबमा अपलोड गरिएको पडकास्टलाई वास्तवमा पडकास्ट मानिंदैन किनभने यसलाई आरएसएस फिडमार्फत सब्सक्राइब पनि गर्न मिल्दैन र धेरैजसो अफलाइन पनि सुन्न मिल्दैन । युट्युबको पडकास्ट सेवा पनि युट्युब च्यानलमा मात्रै आधारित हो ।

त्यसैले युट्युबमा हुनेबित्तिकै धेरै श्रोतामाझ पुगिन्छ भन्ने भ्रममा पर्नुहुँदैन । इन्सक्लाफेन पडकास्टका टोबी बायरका अनुसार उनी युट्युबभन्दा आरएसएस फिडको मद्दतले १० गुणा बढी पडकास्ट श्रोतामाझ पुग्न सकेका छन् । यसो भन्दै गर्दा स्पटीफाई वा अरू कुनै अडियो प्लाटफर्म प्रयोग नगर्ने र युट्युबलाई सर्च इन्जिनको रूपमा प्रयोग गर्ने प्रयोगकर्ताहरूले भने युट्युब प्रयोग गरेर पडकास्ट सुन्न सक्छन् । त्यसकारण युट्युबमा पनि आफ्नो फिडलाई जोड्न नबिर्सिनुहोला र उचित किवर्डहरूको प्रयोग गर्नुपर्ने हुन्छ ।

योसँगै पडकास्टलाई थप रोचक बनाउनका लागि तस्बिरहरू मात्रै प्रयोग गर्नुको साटो पडकास्ट बनाइरहेको समयको भिडियो पनि राख्न सकिन्छ । पडकास्टमा अलग्गै महत्त्व राख्ने तस्बिर प्रयोग गर्नु राम्रो हुन्छ । त्यस्तै अन्य सामाजिक सञ्जालका माध्यममा छोटा क्लिपहरू अपलोड गर्न सक्नुहुन्छ । यसले अडियन्सलाई पडकास्टको मुख्य स्रोतमा पठाउन सघाउँछ ।

 

 

पछिल्लो अध्यावधिक: असोज २८, २०८१ ९:३०