close

कलेजको पढाइले मात्रै सफल भइँदैन: एलन मस्क

टेकपाना टेकपाना

कात्तिक ५, २०८१ १२:१९

कलेजको पढाइले मात्रै सफल भइँदैन: एलन मस्क

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले कलेजको पढाइले मात्र सफल हुन नसकिने तर्क दिएका छन् । अमेरिकामा हुन गइरहेको निर्वाचनमा डोनल्ड ट्रम्पलाई समर्थन गर्दै मस्कले परम्परागत शिक्षाको कुनै तुक नभएको धारणा राखेका हुन् ।

२४२ अर्ब डलर बढी सम्पत्तिका मालिक मस्कले विद्यार्थीले कलेजको समयमा धेरै ऋण लिनुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन् । यस्तो बेला उनीहरू कुनै व्यवहारिक सीपमा केन्द्रित हुन नसक्ने उनको आशय छ । 

भौतिकशास्त्र र अर्थशास्त्रमा डिग्री हासिल गरेका मस्कले कलेजको डिग्रीमा सफलता निर्भर नहुने विचार राखे । बरु इलेक्ट्रिसियन, प्लम्बर, कार्पेन्टर जस्ता व्यवहारिक सीपमा केन्द्रित हुन उनले सुझाव दिएका छन् ।

“मलाई लाग्छ कलेज शिक्षालाई अलि बढी नै महत्व दिइएको छ । धेरैजसो मानिसहरू चार वर्ष खर्च गर्छन् । धेरै ऋण जम्मा गर्छन् । तर, अन्त्यमा काम लाग्ने सीपहरू हासिल गर्दैनन्, जसलाई उनीहरूले पछि प्रयोग गर्न सकून्,” उनी भन्छन्, “म ती मानिसलाई धेरै आदर गर्छु जो हातले काम गर्छन् । र, हामीलाई इलेक्ट्रिसियन, प्लम्बर र कार्पेन्टरहरू चाहिन्छन् । यी विषय राजनीतिशास्त्रका डिग्रीहरूभन्दा धेरै महत्त्वपूर्ण छन् ।”

College is overrated https://t.co/JJMJAk3w7Y

— Elon Musk (@elonmusk) October 20, 2024

उनले थपेका छन्, “सफल हुनका लागि चार वर्षको कलेज डिग्री अनिवार्य चाहिन्छ भन्ने सोच राख्नु हुँदैन जस्तो मलाई लाग्छ ।”

मस्कले परम्परागत शिक्षाप्रति असन्तुष्ट व्यक्त गरेको यो पहिलो पटक होइन ।  २०१९ मा उनले ट्वीटर (अहिलेको एक्स)मा पोस्ट राख्दै एउटा बहस सुरु गरे । टेस्लामा काम गर्न कलेजको डिग्री आवश्यक पर्दैन भनेपछि परम्परागत शिक्षाको विषय विश्वव्यापी बहस बनेको थियो ।

सन् २०२० को स्याटलाइट सम्मेलनमा यस विचारलाई विस्तार गर्दै मस्कले सिक्नका लागि कलेज आवश्यक नभएको तर्क दिएका थिए । इन्टरनेटको उपलब्धतासँगै धेरै जानकारी अहिले निःशुल्क उपलब्ध भएकाले त्यहीँबाट आवश्यक सीप सिक्न सकिने उनको भनाइ छ । “सिक्नका लागि कलेज चाहिन्न । सबै कुरा आधारभूत रूपमा निःशुल्क उपलब्ध छ,” उनले भनेका थिए ।

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०८१ १२:२७