काठमाडौं । पछिल्लो समय इन्स्टाग्राम र नेटफ्लिक्सले प्रयोगकर्ताका मेट्रिक्स (भ्युज संख्या, लाइक आदिका जानकारी) लुकाएका छन् । यी परिवर्तनप्रति सधैं आलोचना भइरहन्छन् । युट्युबले पनि अब आफ्नो होमपेजमा भिडिओहरूका भ्युज संख्या र अपलोड मिति लुकाउने भएको छ ।
हालै @vidIQ को एक्स पोस्टमा यस परीक्षणको स्क्रिनशट देखाइएको छ । यसमा भिडिओको शीर्षक र कन्टेन्ट क्रियटर (मालिक)को नाम मात्र देखाइएको छ भने अन्य विवरण हटाइएको छ । यो परीक्षण सीमित मात्रामा गरिएको छ, जसकारण अधिकांश युट्युब प्रयोगकर्ताले कुनै परिवर्तन महसुस गरेका छैनन् ।
एन्ड्रोइड पुलिसले यस परीक्षणलाई युट्युबको इन्टरफेसलाई परिष्कृत गर्न गरिएको पछिल्लो प्रयासका रूपमा रिपोर्ट गरेको छ । हालै युट्युबले आफ्नो मिनी-प्लेयर अपडेट गरेको थियो भने स्किप एड्स (Skip Ads) बटनको स्थान परिवर्तन गरेको थियो । यी परिवर्तनमा दर्शकहरूको केही नकारात्मक प्रतिक्रिया देखिएको छ ।
एक्स पोस्टका कमेन्टहरूमा प्रयोगकर्ताहरूले मुख्यतः अपलोड मिति हटाउने विषयमा असन्तुष्टि जनाएका छन् । नयाँ सामग्री खोज्न सजिलो हुने भएकाले अपलोड मिति होमपेजमै देखिनुपर्ने उनीहरूको मत छ । कतिपयले भने युट्युबको होमपेज सरल हुने तथा पहिले भाइरल नभएका सामग्री अब धेरै दर्शकमाझ जानसक्ने विचार राखेका छन् ।
भिडिओको शीर्षक वा विषयलाई बढी महत्त्व दिनेगरी भइरहेको यस परीक्षणबारे युट्युबले आधिकारिक रूपमा केही बोलेको छैन ।