काठमाडौं । क्रिप्टोकरेन्सी उद्योगको एक महत्त्वपूर्ण हिस्सा हो, बिटक्वाइन । यसको मूल्य २० खर्ब डलरभन्दा बढी भएको अनुमान गरिन्छ । अहिले यो डिजिटल मुद्रा संसारभरिका ठूला लगानी कम्पनीहरूले कारोबार गर्न प्रयोग गरिरहेका छन् । यसले गर्दा अब सामान्य मानिसको लागि मात्र नभई ठूला व्यावसायिक कम्पनीहरूका लागि पनि बिटक्वाइन आकर्षण बनेको छ ।
बिटक्वाइनलाई आर्थिक लेनदेनका लागि सुरक्षित र प्रभावकारी माध्यमको रूपमा लिइन्छ । यसले मध्यस्थ बैंकको आवश्यकता हटाउँदै व्यक्तिदेखि व्यक्ति (पर्सन टु पर्सन) को सिधा कारोबारलाई सम्भव बनाएको छ ।
एल साल्भाडोर नामको देशले त यसलाई आफ्नै आधिकारिक मुद्रा घोषित गरेको छ । सन् २०२१ मा एल साल्भाडोरले बिटक्वाइनलाई अमेरिकी डलरसँगै कानुनी मुद्रा बनाएको थियो । यसको मतलब त्यहाँका नागरिकले बिटक्वाइनलाई सामान र सेवाहरूको भुक्तानीका लागि प्रयोग गर्न सक्छन् ।
यो कदमले बिटक्वाइनलाई अझ बढी विश्वसनीय बनाएको छ । अन्य देशहरूमा पनि यसलाई आर्थिक प्रणालीमा समावेश गर्न काम भइरहेको छ ।
तर बिटक्वाइनको चमत्कारिक प्रगतिको बाबजुद पनि यसका संस्थापक सातोशी नाकामोतोको वास्तविक पहिचान अझैसम्म एक रहस्यकै रूपमा छ ।
धेरैले सातोशी नाकामोतोको पहिचान पत्ता लगाउने प्रयास गरेका छन् । तर अहिलेसम्म कोही सफल भएका छैनन् ।
हालै एक प्रसिद्ध एचबीओ डकुमेन्ट्रीले क्यानडाका बिटक्वाइन विशेषज्ञ पिटर टडलाई सातोशी हुनसक्ने आशंका गरेको थियो । तर टडले त्यो अस्वीकार गरे । क्रिप्टो जगतले पनि उक्त आशंकालाई खासै गम्भीरताका साथ लिएन ।
त्यसपछि गत बिहीबार बेलायतस्थित एक प्रेस सम्मेलनमा बिटक्वाइनका रहस्यमय स्रष्टा सातोशी आफैं प्रकट हुने खबरले चासो बढ्यो । सातोशीलाई एक महान् प्रोग्रामरको रूपमा हेरिन्छ, जसले क्रिप्टो उद्योगलाई नयाँ दिशा दिएका छन् । उनीसँग जोडिएका विचार, दृष्टिकोण र अवलोकनले क्रिप्टो उद्योगलाई ठूलो प्रभाव पार्न सक्छ ।
साथै सातोशीसँग १० लाखभन्दा बढी बिटक्वाइन रहेको अनुमान छ, जसको कारणले उनी बहुअर्बपतिको सूचीमा पर्न सक्ने सम्भावना छ । यस्तो अवस्थामा उक्त प्रेस सम्मेलनका आयोजक चार्ल्स एन्डरसनले अगाडिको सिट लिनको लागि १०० पाउन्ड र असीमित प्रश्न सोध्न थप ५० साउन्ड शुल्क तिर्न पत्रकारहरूलाई आग्रह गरे ।
तर यसले कार्यक्रममा सहभागी पत्रकारहरूमा गहिरो शंका देखियो । कार्यक्रमको आयोजक र आफैंलाई सातोशी भन्ने दाबी गर्ने व्यक्तिबीच धोखाधडी आरोपमा कानुनी लडाइँ चलिरहेको थियो । अनि, मञ्चमा उपस्थित स्टिफन मोलाहले आफू नै सातोशी भएको घोषणा गरे । तर उनले कुनै प्रमाण प्रस्तुत गर्न सकेनन्, जसले सहभागीहरूलाई असन्तुष्ट तुल्यायो ।
यसअघि पनि धेरै व्यक्तिलाई सातोशीको रूपमा चिनाउने प्रयास गरिएको थियो, तर कुनै प्रमाण उपलब्ध हुन नसकेकाले यो प्रश्न अझै अनुत्तरित छ । केही व्यक्तिहरूले सातोशीको रहस्य अज्ञात रहनु क्रिप्टोकरेन्सीको लागि राम्रो भएको बताउँछन् ।
सातोशीले आफ्नो पहिचान गोप्य राखेर बिटक्वाइनलाई कुनै एक व्यक्तिको नेतृत्व वा नियन्त्रणमा नराख्ने उद्देश्य राखेका हुनसक्ने आँकलन पनि गरिन्छ । संस्थापकको अनुपस्थितिले बिटक्वाइनलाई एक खुला र पारदर्शी प्रणालीको रूपमा विकसित गर्न सहयोग पुर्याउने तथा यसमा केन्द्रीकरणको प्रभाव कम हुने मत छ । आफ्नो पहिचान गुमनाम राखेर उनले आफ्नो व्यक्तिगत लाभभन्दा क्रिप्टोकरेन्सीको स्वतन्त्रता र सामूहिक हितलाई प्राथमिकता दिएका हुन सक्छन् ।
यसरी, सातोशी नाकामोतोको पहिचानको खोज निरन्तर जारी छ ।