close

अमेरिकामा आईटी इन्जिनियर नेपाली युवा, क्रिप्टो र बेटिङ धन्दा, नेपाल आउँदा परे प्रहरीको फन्दा

टेकपाना टेकपाना

फागुन २६, २०८१ १७:३९

अमेरिकामा आईटी इन्जिनियर नेपाली युवा, क्रिप्टो र बेटिङ धन्दा, नेपाल आउँदा परे प्रहरीको फन्दा

 

काठमाडौं । झन्डै एक दशकअघिदेखि अमेरिकालाई कर्मथलो बनाएका पर्वतका ३१ वर्षीय रुपेन्द्र जीसी आईटी इन्जिनियरको काम गरिरहेका थिए । अध्ययनलाई निरन्तरता दिँदै उनी विद्यावारिधि (पीएचडी) गर्दै थिए ।

अमेरिका बसेर पनि नेपाल भएका आफन्तलाई पोखरामै राम्रो काममा लगाएको भन्दै घरतिर उनको राम्रै इज्जत प्रतिष्ठा थियो । उनै जीसीले पोखरा महानगरपालिका वडा नं.१४ अनुपम टोलमा घर पनि बनाएका थिए । त्यही घरमा जीसीका आफन्त उनले अह्राएको काम गर्थे । 

झन्डै एक महिनाअघि उनै जीसी छुट्टिमा नेपाल आएका थिए । नेपाल आएको एक महिना नपुग्दै उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले २३ फागुन २०८१ मा नियन्त्रणमा लियो । 

आखिर किन ?  

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जीसी अमेरिकाबाट अनलाइन सट्टेबाजी प्लेटफर्म सञ्चालन गरिरहेका थिए । नेपालमा अनलाइन जुवाका विभिन्न प्लेटफर्म सञ्चालन गर्न उनले विक्रम बानियाँ र सन्दिप कटुवाललाई ‘नेपाली एजेन्ट’को रूपमा राखेका थिए । विक्रम बानियाँ जीसीका फुपूका छोरा हुन् भने सन्दीप कटुवाल उनका बहिनी ज्वाइँ हुन् । उनीहरू दुई जना जीसीले पठाएका २३ ओटा अनलाइन जुवाका प्लेटफर्म सञ्चालन गर्थे । ‍

विक्रम बानियाँ र सन्दीप कटवाल नेपालमा ह्वाट्सएप, टेलिग्राम लगायतका सामाजिक सञ्जालका माध्यममा जीसीले उपलब्ध गराएका प्लेटफर्मको प्रचार गर्थे । उनीहरूको विज्ञापन देखेर आउनेलाई बेटिङ प्लेटफर्ममा जम्मा गरेको रकमको ५० प्रतिशत रकम थप गरी दिन्थे । यदि नयाँ प्रयोगकर्ताले अन्यलाई रिफर गर्दा अर्को व्यक्तिले १० डलर जम्मा गरेको छ भने रिफर गर्नेको अकाउन्टमा २५ डलर रकम पुर्‍याइन्थ्यो । न्यूनतम १० डलर जम्मा गर्ने सुविधा दिइएको थियो भने एक पटकमा न्यूनतम ५० डलर निकाल्न मिल्ने व्यवस्था उनीहरूले मिलाएका थिए । यसरी प्रचार गर्दै नयाँ नेपाली प्रयोगकर्ता आकर्षित गर्ने धन्दामा विक्रम बानियाँ र सन्दीप कटुवाल संलग्न थिए । 

उनीहरूभन्दा तलको तहमा जीसीका सानीमाका छोरा १९ वर्षीय रोजन केसी र फुपुका छोरा २२ वर्षीय सज्जन घिमिरे थिए । । केसी हाल स्नातक तहमा दोस्रो वर्षमा अध्ययन छन् भने घिमिरे स्नातक तह चौथो वर्षमा अध्ययन गरिरहेका छन् ।

प्रहरीले बताए अनुसार केसी र घिमिरेको काम बैंक अकाउन्ट खोल्ने र त्यसमा सर्वसाधारण नेपालीलाई रकम पठाउन लगाउने थियो । यसरी प्राप्त रकमलाई ऊनीहरू यूएसडीटी अकाउन्ट, काइम एप र क्याश एप मार्फत क्रिप्टोमा परिणत गर्थे । 

यसरी पाँच जनाले पोखरामा साढे ३ तलाको घरबाट क्रिप्टो करेन्सी कारोबार र अनलाइन जुवा तथा सट्‍टेबाजी सञ्जालन गर्दै आएका थिए । 

उक्त टोलमा शङ्कास्पद गतिविधि भइरहेको भन्ने गोप्य सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र  जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक श्यामबाबु ओलियाको कमाण्डमा संयुक्त रूपमा खटिएको थियो । 

प्रहरीका अनुसार उनीहरू दैनिक तीन शिफ्टमा अनलाइन जुवा खेलाउथे । हरेक शिफ्टमा करिब तीन हजार डलर (करिब चार लाख १६ हजार रुपैयाँ) को अनलाइन जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूले विभिन्न समयमा  ३० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको देखिएको छ । प्रहरीले उनीहरूको साथबाट ३१ थान मोबाइल, दुई थान कम्प्युटर मनिटर, तीन थान कम्प्युटर सीपीयू, चार थान ल्यापटप र १ थान आईप्याड बरामद गरेको छ । त्यस्तै उक्त घरबाट दुई थान किबोर्ड, एउटा माउस, चार ओटा राउटर, तीन पेनड्राइभ, एउटा हार्डडिक्स, ११ ओटा चार्जर, ७२ हजार ५०० रुपैयाँ नगद र अन्य केही सामग्री पनि बरामद गरिएका छन् ।

प्रहरीले उनीहरूलाई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा अनुसन्धान अगाडि बढाएको छ । जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन २६, २०८१ १७:४३