close

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन अर्थात् ‘आईएसएस’ बन्द भएपछि के हुन्छ ?

टेकपाना टेकपाना

मंसिर १३, २०८१ १८:२१

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन अर्थात् ‘आईएसएस’ बन्द भएपछि के हुन्छ ?

काठमाडौं । केही वर्षभित्र विज्ञानको दुनियाँमा अन्तर्राष्ट्रिय सहयोगको एउटा ठूलो उपलब्धि मानिने इन्टरनेसनल स्पेस स्टेसन (अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन) आफ्नो जीवनको अन्तिम चरणमा पुग्दैछ । यो स्पेस स्टेसन ४०० किलोमिटर प्रतिघण्टाको गतिमा आकाशddबाट खस्दै प्रशान्त महासागरमा विलीन हुने बताइएको छ ।

सन् १९९८ मा शीत युद्धको पृष्ठभूमिमा यो स्टेसनलाई अन्तरिक्षमा पठाइएको थियो । यसलाई विश्वमा कूटनीति र आपसी सहयोगको एक प्रमुख उदाहरणको रूपमा लिइने गरिन्छ । यही स्पेस स्टेसनको अन्त्यसँगै एउटा युगको पनि अन्त्य हुनेछ ।

इन्टरनेसनल स्पेस स्टेसनको मद्दतले चिकित्सा क्षेत्रमा धेरै रोगहरूको उपचार खोज्ने काम र जलवायु परिवर्तनको निगरानी गर्न सम्भव भएको छ । विगत करिब ३० वर्षदेखि पृथ्वीको परिक्रमा गर्दै आएको यो स्टेसन अब यसको संरचना कमजोर हुन थालेको छ । आगामी छ वर्षभित्र यसलाई बन्द गरिने बताइएको छ ।

बीबीसी हिन्दीको सहयोगमा यस लेखमा अन्तर्राष्ट्रिय स्पेस स्टेसन बन्द भएपछि के हुन्छ होला भन्ने चर्चा गरिएको छ । 

उडान

जेनिफर लेवासर वाशिङ्टन डीसी स्थित स्मिथसोनियन संस्थानको नेसनल एयर एन्ड स्पेस म्युजियमकी क्युरेटर हुन् । उनका अनुसार यो इन्टरनेसनल स्पेस स्टेसन निरन्तर १७ हजार ५०० माइल प्रति घण्टाको गतिमा पृथ्वीको परिक्रमा गर्छ । र, करिब ९३ मिनेटमा पृथ्वीको एक फन्को पूरा गर्छ ।

“यदि सूर्यको कोण सही भयो भने यसलाई आकाशमा चम्किलो रूपमा देख्न सकिन्छ,” उनी भन्छिन्, “यो स्टेसन निरन्तर एउटै गतिमा घुमिरहन्छ ।”

सन् १९४२ मा जर्मन इन्जिनियरहरूले अन्तरिक्षसम्म पुग्नसक्ने क्षमता भएको भी-२ मिसाइल बनाए । जेनिफरका अनुसार भी-२ रकेटले टाढासम्म पुग्ने सक्थ्यो । र, यसबाट मानिसलाई पृथ्वीको कक्षसम्म लैजाने प्रयासको थालनी भयो ।

भी-टु रकेट

दोस्रो विश्वयुद्धको समाप्तिपछि शीत युद्ध सुरु भयो । यसले अन्तरिक्ष अनुसन्धानमा अन्तर्राष्ट्रिय सहकार्यको सम्भावनामा अवरोध पुर्‍यायो । त्यस समयमा रुस र अमेरिकाबीच चन्द्रमामा मानिस पठाएर आफ्नो प्रविधिको वर्चस्व देखाउने प्रतिस्पर्धा सुरु भयो ।

सन् १९५९ मा अमेरिका यस प्रतिस्पर्धामा अगाडि रह्यो । १९७० को दशकमा दुवै देशले पृथ्वीको कक्षमा आफ्ना अन्तरिक्ष केन्द्र पठाए । तर, सन् १९८९ मा अमेरिका आफ्नो स्काईल्याब बन्द गरेपछि यसको महत्वकाङ्क्षा अझ बढ्यो । त्यसपछि १९८४ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई नयाँ प्रोजेक्ट सुरू गर्न निर्देशन दिए ।

अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगन

“म नासालाई स्थायी मानव-अन्तरिक्ष केन्द्र बनाउने निर्देशन दिन्छु । र, यसलाई निश्चित समयभित्र सम्पन्न गर्नुपर्नेछ,” राष्ट्रपति रेगनले भनेका थिए ।

राष्ट्रपति रेगनले नासालाई अन्य देशहरूसँग सहकार्य गर्दै १० वर्षभित्र अन्तरिक्षमा एउटा यस्तो स्टेसन बनाउन निर्देशन दिए, जहाँ मानिसहरू बस्दै अनुसन्धान गर्न सकून् । उनले यसलाई ‘शान्ति र समृद्धि तर्फको ठूलो कदम’ भनेका थिए ।

सन् १९८९ मा सोभियत सङ्घ विघटन भएपछि रुस पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र निर्माणको काममा अमेरिकासँग जोडियो ।

“यदि संयुक्त राज्य अमेरिकाले त्यस समय रुसलाई यस परियोजनामा नसमेटेको भए रुसको अन्तरिक्ष कार्यक्रम जारी रहन सम्भव थिएन,” जेनिफर भन्छिन् ।

सन् १९९४ मा सुरु भएको प्रविधिगत सहकार्यकै कारण यो परियोजना सफल हुन सक्यो । इन्टरनेसनल स्पेस स्टेसनको निर्माणमा अमेरिका र रुसबाहेक युरोप, क्यानडा र जापानले पनि ठूलो योगदान दिए । जेनिफरका भन्छिन्, “यस किसिमको अन्तर्राष्ट्रिय सहकार्य पहिले कहिल्यै भएको थिएन ।”

९० को दशकको मध्यतिर यो परियोजनाको रूपरेखा तयार गर्न थालियो । यस स्टेसनमा अमेरिका र रुसको अर्बिटल सिस्टम हुने तय गरियो । साथै त्यसमा जापानी र युरोपेली मोड्युलहरू समेत जोड्ने योजना भयो ।

यस अवधारणाबाट सुरु भएको यो अन्तरिक्ष स्टेसन विश्वकै ठूलो वैज्ञानिक परियोजना बन्न सफल भयो । 

यसको मुख्य संरचना एक डुङ्गा जस्तै डिजाइन गरिएको छ । जहाँ मानिसहरू बस्न सक्ने अतिरिक्त मोड्युलहरू जोड्न सकिन्छ। साथै ऊर्जा उत्पादनका लागि सोलार प्यानलहरू पनि जडान गरिएको छ । तर, यसलाई अन्तरिक्षमा पुर्‍याउनु अत्यन्त महँगो र चुनौतीपूर्ण काम थियो । साथै यसलाई पृथ्वीबाट सञ्चालन गर्नका लागि विशाल भौतिक संरचनाहरू र व्यवस्थापन आवश्यक पर्‍यो ।

सन् १९९८ मा रुसले इन्टरनेसनल स्पेस स्टेसनको पहिलो मोड्युल निर्माण गरी कजाकिस्तानबाट अन्तरिक्षमा प्रक्षेपण गर्‍यो । त्यसै वर्ष ४ डिसेम्बरमा अमेरिकाले पनि आफ्नो मोड्युल अन्तरिक्षमा पठायो । यसपछि क्रमशः अन्य मोड्युलहरू थपिँदै गए ।

आईएसएस निर्माण भइरहेको अवस्थाको एनिमेसन

जेनिफर भन्छिन्, “यो स्टेसनलाई अन्तिम रूप दिन २०११ सम्म काम भइरहेको थियो । र यो संरचना आकारमा फुटबल मैदानजत्रो ठूलो बन्यो।”

तर, यति ठूलो संरचनामा विभिन्न देशका वैज्ञानिकहरू र तिनका स्रोत साधनबीच कसरी सहकार्य र समन्वय सम्भव भयो ?

अन्तरिक्ष

इन्टरनेसनल स्पेस स्टेसनमा अमेरिका, रुस, क्यानडा, जापान र युरोपेली देशहरूका कम्तीमा ७ वैज्ञानिक जहिल्यै हुन्छन् । उनीहरूको अभियान सामान्यतया ६ महिनाको हुन्छ ।

विज्ञ मार्क म्याकाक ग्रीन जर्मनीको हाइडलबर्ग स्थित म्याक्स प्लाङ्क इन्स्टिट्युटका खगोल वैज्ञानिक हुन् । बीबीसीसँग कुरा गर्दै मार्कले भने, “स्टेसनमा हुने वैज्ञानिकहरू प्रायः जीव वैज्ञानिक, खगोल वैज्ञानिक वा समुद्र वैज्ञानिक हुन्छन् ।” 

उनीहरूको छनोट नासा, युरोपेली अन्तरिक्ष एजेन्सी, जापानी अन्तरिक्ष एजेन्सी, रुसी अन्तरिक्ष एजेन्सी जस्ता संस्थाहरूले गर्छन् । तर, अब निजी पर्यटक पनि स्पेस स्टेसनमा जान सक्छन् ।

सामान्यतः अन्तरिक्ष यात्रीहरू स्पेसएक्सको क्रु ड्र्यागन वा रुसी सोल्युस क्याप्सुलमा बसेर स्पेस स्टेसनमा पुग्छन् । यो यात्रा १२ घण्टादेखि केही दिनसम्म लम्बिन सक्ने मार्क बताउँछन् । यसमा स्पेस शटलको प्रक्षेपण र आईएसएससँगको डोकिङमा लाग्ने समय महत्त्वपूर्ण हुन्छ ।

तर, साना अन्तरिक्ष यानहरूमा यात्राका बेला सिटमै बस्नुपर्ने हुन्छ । यो बढी चुनौतीपूर्ण हुन्छ । अझ छ महिना वा कहिलेकाहीं एक वर्षसम्म सानो र बन्द ठाउँमा बस्नु र सहकर्मीहरूसँग शान्तिपूर्वक काम गर्नु अझ गाह्रो काम हो ।

“जब अन्तरिक्ष एजेन्सी त्यहाँ (आईएसएस) पठाउनका लागि कसैलाई छनोट गर्छन् तब त्यो व्यक्ति शान्त स्वभावको छ कि छैन अनि ससाना कुराबाट बिचलित हुन्छ कि हुँदैन भनेर जरुर विचार गरिन्छ,” मार्क भन्छन्, “त्यस्तै आईएसएसमा नुहाउनका लागि कुनै सुविधा हुँदैन । त्यसैले भिजेको लुगाले शरीर सफा गर्नुपर्ने हुन्छ । छ महिना वा कहिलेकाहीं एक वर्षसम्म ननुहाएर बस्न मुस्किल हुन्छ । त्यसैले एकअर्कासँग मिलेर काम गर्नु निकै महत्त्वपूर्ण हुन्छ ।”

आईएसएस पृथ्वीको नजिक छ । त्यसैले आवश्यक ताजा खाना अन्तरिक्षयात्रीसामु पुगिरहेको हुन्छ । अर्थात् उनीहरूलाई प्याकेटको खानामा मात्र निर्भर हुनु पर्दैन । 

अन्तरिक्ष यात्रीले खाना खाने बेला धेरै ध्यान दिनुपर्ने हुन्छ । खासगरी टुक्रा हुने खानेकुरा जस्तै बिस्कुट खाँदा ध्यान दिनुपर्छ । त्यस्तो टुक्रा आईएसएसमा झर्‍यो भने त्यसले त्यहाँ नकारात्मक असर गर्छ ।

त्यस्तै सुत्नका लागि अन्तरिक्षयात्री स्लिपिङ ब्यागको प्रयोग गर्छन् । जसलाई त्यहीँको भित्तामा बाँधिएको हुन्छ । त्यसो गर्दा उनीहरू तैरिदैनन् । तर, लामो समयसम्म अन्तरिक्षमा रहँदा अन्तरिक्ष यात्रीको स्वास्थ्यमा नकारात्मक असर पर्छ ?

मार्कका अनुसार यसका निश्चित असर हुन्छन् । “अन्तरिक्षमा बस्दा शरीरमा निश्चित असरहरू पर्ने गर्छन्,” मार्क भन्छन्, “उदाहरणका लागि, मांसपेशी क्षीण (पातलिने) हुन थाल्छन्, हड्डीको घनत्व कम हुन थाल्छ र शरीरभित्र रहेका द्रव्यको सन्तुलन बिग्रन सक्छ । यसले शरीरमा अनावश्यक दबाब सिर्जना गर्नसक्छ र दृष्टिसम्बन्धी समस्याहरू पनि हुनसक्छन् ।”

मार्कका अनुसार यीमध्ये धेरैजसो समस्या मानिसहरू पृथ्वीमा फर्किएपछि केही समयमै सुधारिन्छन् । तर यो प्रक्रिया पूरा हुन ६ महिनासम्म लाग्न सक्छ।

 रेडिएसनको असर

अन्तरिक्षमा रहेको रेडिएसनले अन्तरिक्ष यात्रीहरूको स्वास्थ्यमा दीर्घकालीन प्रभाव पार्न सक्छ । यसको अध्ययन अहिले पनि जारी छ । यदि मानिसहरूले लामो समयसम्म चन्द्रमामा बस्नुपर्‍यो भने वा मङ्गल ग्रहको यात्रा जसमा धेरै समय लाग्छ, त्यसले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अनुसन्धान र प्रयोगहरू भइरहेको छ ।

अन्तरिक्ष कूटनीति

सन् १९९८ मा इन्टरनेसनल स्पेस स्टेसन परियोजनाको सुरुवातसँगै भएको अन्तर्राष्ट्रिय सम्झौताले सहभागी सबै देशहरूलाई यसका देखरेख, मर्मत र अन्तरिक्ष यात्रीहरूलाई लाने-ल्याउने विषयमा सहकार्य गर्ने प्रतिबद्धता दिलाएको थियो ।

विज्ञ माया क्रस अमेरिका स्थित नर्थइस्टर्न युनिभर्सिटीमा राजनीति शास्त्रकी प्रोफेसर हुन् । बीबीसीसँग कुरा गर्दै उनी भन्छिन्, “यो सम्झौताअनुसार आईएसएसमा रहेका प्रत्येक मोड्युल र त्यसमा भएका स्रोतसाधनको स्वामित्व त्यसलाई बनाउने र प्रक्षेपण गर्ने देशसँग हुन्छ ।”

माया अगाडि भन्छिन्, “अमेरिकी मोड्युलमा अमेरिकी कानून लागू हुन्छ भने रुसी मोड्युलमा रुसी कानून लागू हुन्छ ।”

यसरी आईएसएसभित्र हुने कुनै पनि समस्याको समाधान सम्बन्धित देशका कानूनी व्यवस्थाले तय गर्छन् ।

तर, फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका र युरोपेली देशहरूसँग रुसको सम्बन्धमा ठूलो तनाव आयो । युद्धको प्रारम्भिक दिनमा, रसियन स्पेस एजेन्सी, रोस्कोस्मोसले आईएसएसबाट आफ्नो मोड्युल हटाउने धम्की मात्र दिएन बरु अमेरिकी अन्तरिक्ष यात्रीहरूलाई त्यही छोडिदिने चेतावनी पनि दियो । त्यस समय आइएसएसको भविष्यलाई लिएर चिन्ता सिर्जना भएको थियो । 

तर अन्ततः रुसले यो कदम उठाएन । माया भन्छिन्, “रुसी वैज्ञानिकहरूले अन्तरिक्षमा सहकार्य जारी राखे । किनकि उनीहरूसँग स्पेस स्टेसनको स्रोत र व्यवस्थापनलाई नियन्त्रण गर्ने पर्याप्त अधिकार थियो ।”

आईएसएसमा कूटनीति दुई तहमा काम गरिरहेको थियो । यस परियोजनासँग सम्बन्धित रुसको सम्झौता २०२८ मा समाप्त हुनेछ । अर्थात आईएसएसलाई अन्तरिक्षबाट हटाउनुअघि रुससँगको सम्झौता समाप्त हुनेछ । अब त्यसपछि आईएसएस के हुन्छ भन्ने प्रश्न उठ्छ ‍। यो परियोजनापछि अमेरिका, चीन, रुस र भारत जस्ता देशहरूले आफ्नै अन्तरिक्ष स्टेसन बनाउन र अन्तरिक्षमा आफ्नो प्रभुत्व स्थापित गर्न प्रतिस्पर्धा गरिरहेका छन् । 

“अन्तरिक्ष अनुसन्धानका लागि दुई प्रतिस्पर्धी गुटहरू बनून् भन्ने कोजी पनि चाहँदैनन्,” माया भन्छिन्, “एक अमेरिका नेतृत्वको गुट र अर्को चीन नेतृत्वको गुट । यस्तो भएमा यसले संघर्षलाई थप चर्काउनेछ । र ती दशकौंसम्म कायम रहेको सहकार्यको भावना नष्ट हुनेछ । जसको आधारमा अन्तरिक्ष अनुसन्धानका कार्यक्रमहरू अघि बढिरहेका छन् ।”

विशेषगरी जलवायु परिवर्तनजस्ता विश्वव्यापी चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्यको ठूलो आवश्यकता छ । रुस सन् २०२८ पछि अन्तर्राष्ट्रिय स्पेस स्टेसन परियोजनाबाट बाहिरिने सम्भावनालाई ध्यानमा राख्दै अमेरिकाले समस्या समाधानका लागि निजी कम्पनीहरूसँग सहकार्य गर्न थालेको छ ।

एलन मस्कको स्पेसएक्स कम्पनी यसका लागि प्रमुख भागिदार बनेको छ । यस कम्पनीले पछिल्ला १० वर्षदेखि अन्तरिक्ष यात्रीहरूलाई स्पेस स्टेसनसम्म पुर्‍याउँदै आएको छ । तर, अब स्पेसएक्सको उद्देश्य पर्यटकहरूलाई पनि अन्तरिक्षको यात्रा गराउने रहेको छ ।

अन्तरिक्षको व्यवसायीकरण

विज्ञ वेडी विटम्यान कॉब अलाबामा स्थित स्कुल अफ एडभान्स्ड एयर एन्ड स्पेस स्टडिजमा सुरक्षा र रणनीतिक विषयकी प्रोफेसर हुन् । वेडी भन्छिन्, “स्पेस स्टेसनको संरचना ३० वर्षदेखि अन्तरिक्षमा रेडिएसन र कडा परिस्थितिहरूको प्रभावले कमजोर हुँदै गएको छ ।”

यसलाई बन्द गरेर अन्तरिक्षबाट पृथ्वीमा कसरी ल्याउने भन्ने अर्को प्रश्न हो । स्पेस स्टेसनलाई चलाउने इन्जिनको एउटा भाग रुसी हो र रुसको सहयोग बिना यसलाई पृथ्वीको वायुमण्डलमा ल्याउन गाह्रो छ ।
“यदि रुसले आईएसएसलाई अन्तरिक्षबाट हटाउनका लागि आफ्नो इन्जिन प्रयोग गर्न अस्वीकार गर्‍यो भने अमेरिका अर्को विकल्प खोज्न बाध्य हुनेछ,” उनी भन्छिन्, “यसका लागि अमेरिकाले स्पेसएक्ससँग एक प्रोपल्सन मोड्युल तयार गर्नका लागि कुरा शुरु गरेको छ । यो आईएसएससँग जोडिएर यसलाई पृथ्वीको वायुमण्डलमा ल्याउनेछ ।”
वास्तवमा यसले सरकारहरूको अन्तरिक्ष कार्यक्रमहरूमा निजी कम्पनीहरूको सहभागिताको सुरुआत भएको संकेत दिन्छ ।

“आईएसएसको बन्द गरेपछि सरकारले नयाँ अन्तरिक्ष स्टेसन बनाउनका लागि निजी कम्पनीहरूसँग मिलेर काम गर्न सक्छ,”वेन्डी भन्छिन्, “अन्तरिक्ष यात्रीहरूलाई स्पेस स्टेसनमा लैजानका लागि स्पेसएक्स कम्पनीका शटल मोड्युलको प्रयोग पहिले नै सुरु भइसकेको छ । भविष्यमा, निजी कम्पनीहरूको सहयोगले अन्तरिक्ष परियोजनाको व्यवसायीकरण सुरु हुन सक्छ ।”

डिसेम्बर २०२१ मा नासाले तीन अमेरिकी कम्पनीलाई वैकल्पिक अन्तरिक्ष स्टेसनको डिजाइन तयार गर्ने ठेक्का दिएको थियो । ती मध्ये एक डिजाइनमा अर्बिटल रीफ तयार गर्न अमेजन कम्पनीका संस्थापक जेफ बेजोसको सहभागिता छ । यहाँ अन्तरिक्ष यात्री र पर्यटकलाई ल्याउन सकिनेछ । नासा विमान निर्माण कम्पनी एयरबसद्वारा तयार गरिएका स्पेस स्टेसन स्टारल्याब्सको डिजाइनमा पनि मद्दत गर्दैछ । चीनका निजी अन्तरिक्ष कम्पनीहरू पनि यस दिशामा काम गर्दैछन् ।

यी सबै प्रयासहरूको उद्देश्य केवल नयाँ अन्तरिक्ष स्टेसन बनाउने मात्र नभई मानिसहरूलाई अन्तरिक्षमा बसाल्ने माध्यम खोज्नु पनि हो ।

“यी सबैको उद्देश्य मानवता को अस्तित्वको संरक्षण हो,” वेन्डी भन्छिन्, “एलन मस्क र जेफ बेजोस विज्ञान कथा (साइन्स फिक्सन) बाट प्रेरित छन् ।”

पृथ्वीमा कुनै ठूलो आपदा आउँदा मानिसलाई सुरक्षित राख्न अन्तरिक्षमा बसाउन सकिन्छ भन्ने स्पेसएक्सको चाहना छ । त्यस्तै जेफ बेजोसको उद्देश्य अन्तरिक्षमा विशाल औद्योगिक पार्क वा कारखानाहरू स्थापना गर्ने हो । जसले पृथ्वीलाई प्रदूषणका प्रभावबाट बचाउन मद्दत पुर्‍याउनेछ । यी दुवै कम्पनीको प्रयास केवल मुनाफाबाट मात्र प्रेरित छैन बरु मानवताको भविष्यलाई सुरक्षित गर्नका लागि एक आदर्शवादी सोचबाट पनि प्रेरित छ ।

यी महत्वाकांक्षी सोच र योजना नै आईएसएस बन्द भएपछि के हुन्छ भन्ने प्रश्नको उत्तर पनि हो । नयाँ स्पेस स्टेसनको निर्माण र अन्तरिक्ष यात्रा सस्तो बनाउँदा धेरै सम्भावनाहरू खुल्न सक्छ । स्पेस स्टेसनहरूको उपयोग वैज्ञानिक अनुसन्धानका लागि हुनेछ । यसले पृथ्वीमा जलवायु परिवर्तन जस्ता समस्याहरूको समाधान गर्न मद्दत पुर्‍याउनेछ । साथै अन्तरिक्ष पर्यटन र भविष्यमा अन्तरिक्षमा मानव बस्तीहरू बसाउने तयारी पनि गर्न सकिनेछ ।

तर एक कुरा भने पक्का छ कि इन्टरनेसल स्पेस स्टेसनलाई हटाउनासाथ अन्तरिक्ष विज्ञानमा अन्तर्राष्ट्रिय सहयोगको एक युग समाप्त हुनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८१ १८:३३