काठमाडौं । अडिओ तथा भिजुअल सामग्री तयार पार्ने नेपाली कम्पनी ज्याज प्रोडक्सनले बनाएको एक टेलिभिजन कमर्सियल (टीभीसी) १२० बढी देशमा बज्ने भएको छ । पुरै दृश्य ग्रिन स्क्रिन र एनिमेसनमार्फत तयार पारिएको चिनियाँ कम्पनी माइडियाको उत्पादनको प्रवर्धनात्मक टीभीसी १२० बढी देशमा बज्ने भएको हो ।
ज्याज प्रोडक्सनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा निर्देशक अनिल न्यौपानेका अनुसार यो टीभीसी बनाउन चीनमा प्रधान कार्यालय रहेको माइडियासँग प्रत्यक्ष सम्पर्क भएको थियो । 'एक्सपेडिसन माउन्ट एभरेस्ट' शीर्षक रहेको यो टीभीसी सगरमाथा चढ्ने आरोहीबाट प्रेरित भएको उनले सुनाए । यसले गर्दा टीभीसीमा उत्पादनको चर्चासँगै साहस, आत्मबल, र सफलताको कथा प्रस्तुत गरिएको उनको भनाई छ ।
“यो हामीले उच्च लागतमा बनाएको टीभीसी मध्येमा पर्छ । अझ त्यो भन्दा पनि एसिया, युरोप, अमेरिका, अफ्रिका लगायतका क्षेत्र गरी १२० बढी देशमा यो टीभिसी बज्छ,” उनले भने, “जुन नेपाली उत्पादनको लागि आफैँमा गौरवको कुरो हो ।”
यो टीभीसी टीभी, सिनेमा हल सहित डिजिटल प्लेटफर्ममा बज्ने बताइएको छ । प्रि-प्रोडक्सनमा एक महिना, सुटमा दुई दिन र पोस्ट प्रोडक्सनमा दुई महिना लगाएर बनाइएको ३ मिनेट ८ सेकेन्ड लामो यो टीभीसी ज्याजले उत्पादन गर्दा भीएफएक्स/सीजीआई क्यूआई स्टुडियोज प्रयोग गरेको छ ।
यस टीभीसी दिव्य देव, सिद्धार्थ सिंह र इवा न्यौपानेलाई देख्न सकिन्छ ।