काठमाडौं । एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा अन्त्य गर्ने साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कुल’ अभियान सञ्चालन गरेका छन् । यो अभियान लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘से नो’ अभियान अन्तर्गत आयोजना गरिएको हो ।
हालसम्म १० विद्यालयमा गरी करिब १५ सय विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा अभियानमा सहभागी गराइएको एनसेलले जनाएको छ । अभियानले विद्यार्थी र शिक्षकहरूलाई लैङ्गिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा, डेटा गोपनीयताजस्ता महत्त्वपूर्ण विषयमा जानकारी दिने लक्ष्य लिएको छ ।
यो अभियान आगामी १० डिसेम्बरसम्म काठमाडौं उपत्यकाका सरकारी तथा निजी विद्यालयहरूमा सञ्चालन हुने एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।