काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पार्कर सोलार प्रोबले सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको छ । क्रिसमस इभको दिन यो यानले सूर्यको सतहबाट ३.८ मिलियन माइल (६.१ मिलियन किलोमिटर) मात्र टाढा रहेर सूर्यको बाहिरी वायुमण्डलमा प्रवेश गरेको नासाले जनाएको छ ।
यस यानले ९८० डिग्री सेल्सियस सम्मको उच्च तापक्रम र अत्यधिक विकिरण सहन गर्दै ४३०,००० माइल प्रतिघण्टाको गतिमा यात्रा गरेको थियो । त्यो बखत केही दिन यो यानले सम्पर्क समेत गुमाएको नासाले उल्लेख गरेको छ ।नासाका अनुसार अहिले प्रोब सुरक्षित छ र सामान्य रूपमा काम गरिरहेको छ ।
यस मिसनले सूर्यको वायुमण्डल कसरी लाखौं डिग्री सेल्सियससम्म तात्छ, सौर्य हावाको उत्पत्ति कहाँबाट हुन्छ र उच्च ऊर्जावान कणहरू कसरी प्रकाशको गति नजिकैसम्म तीव्र हुन्छन् भन्ने कुरा बुझ्न मद्दत गर्ने वैज्ञानिकले बताएका छन् ।
सूर्यको सतह करिब ६,००० डिग्री सेल्सियसको हुन्छ भने यसको बाहिरी वायुमण्डल (जुन सूर्य ग्रहणको समयमा देख्न सकिन्छ) लाखौं डिग्री सेल्सियससम्म पुग्छ । यसको कारण अझै पत्ता लागेको छैन। यस मिसनले वैज्ञानिकहरूलाई सौर्य हावा (सूर्यबाट निस्कने आवेशित कणहरूको निरन्तर प्रवाह) लाई राम्रोसँग बुझ्न पनि मद्दत गर्नेछ ।
यी कणहरूले पृथ्वीको चुम्बकीय क्षेत्रसँग अन्तरक्रिया गर्दा आकाशमा चम्किलो अरोरा देखिन्छ । तर यस्तो अन्तरिक्ष मौसमले विद्युत प्रणाली, इलेक्ट्रोनिक्स र सञ्चार प्रणालीहरूमा पनि समस्या निम्त्याउन सक्ने बताइन्छ ।
सन् २०१८ मा प्रक्षेपण गरिएको यो यानले पहिले नै २१ पटक सूर्यको परिक्रमा गरिसकेको थियो । यो मिसनले सूर्य र यसको गतिविधिहरूको बारेमा हाम्रो बुझाइलाई बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।